राष्ट्रपतिको पत्र संविधान अनुसार गलत छ भने च्यातेर देखाउन बाँस्कोटाको चुनौती

काठमाडौं । नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले नागरिकतालाई सस्तो विषय बनाउन नहुने भन्दै  संसदको ध्यानाकर्षण गराउनुभएको छ ।  

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले विश्वका अधिकांश देशमा नागरिकलाई सस्तो बनाउने कुरा नरहेको उल्लेख गर्दै छिमेकी देशहरुबाट सिकेर भएपनि नागरिकताको विषयमा गम्भीर छलफल हुन आवश्यक रहेको बताउनुभयो । 

उहाँले हतार हतारमा नागरिकता विधेयक ल्याउनु गलत भएको पनि बताउनुभयो। उाँले सत्तापक्षको गठबन्धनको गलपासोका रुपमा नागरिकता विधेयकलाई पिस्ने र देशलाई विभाजित गर्ने किसिमले जान नहुने बताउनुभयो ।  सांसद बाँस्कोटाले नागरिकता भेग, क्षेत्र, अनुहारको रङ र लिंग हेरेर दिने कुरो नरहेको बताउनुभयो।

उहाँले संविधान बमोजिम नै राष्ट्रपतिले नागरिकता विधेयक सदनमा पुनः सुधार्नका लागि पठाएको बताउनुभयो। उाहँले यदी राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयकको पत्र गलत भए च्यातेर देखाउन सत्तारुढ दलका सांसदहरुलाई चुनौती दिनुभयो ।‘हतार हतारमा नागरिकता विधेयक ल्याउनु गलत छ। यसले लोकतन्त्रको प्रतिनिधित्व गर्दैन। जनताका आवाज सुन्दैन। सत्तापक्षको गठबन्धनको गलपासोका रुपमा नागरिकता विधेयकलाई पिस्ने र देशलाई विभाजित गर्ने किसिमले जानुहुँदैन। पछि यसका दूरगामी परिणाम देखिन्छन्।

नागरिकता भेग, क्षेत्र, अनुहारको रङ र लिंग हेरेर हुँदैन। यो नेपाली जाती र नेपाल राष्ट्रका नागरिकहरुले प्राप्त गर्ने कुरा हो। यसमा कसैको विभेदको दृष्टिकोण छ जस्तो लाग्दैन। आयो के तिर मतलव छैन, तर कसरी आयो ? संविधान बमोजिम राष्ट्रपतिले पठाउनु भयो। यसमा प्रश्न उठाउने ? मिल्छ त्यो ? कि त भन्नुपर्छ। संविधानको यो नियमअनुसार गल्ती छ भने यो पत्र च्यातेर देखाउनुस् न सक्नुहुन्छ ? त्यो त सक्नुहुँदैन। गलत तरिकाले पास नगरौँ। रङ हामीले होइन, तपाईहरुले बदल्नुभएको हो। नागरिकता सरल बनाऔँ, सस्तो नबनाऔँ।’बास्कोटाको भनाई थियो । 
 

प्रकाशित मिति : २ भाद्र २०७९, बिहिबार  ५ : २७ बजे