एमाले कार्यकर्ताका लागि आजदेखि सुरु भयो पाठशाला 

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय स्कुल विभागले आफ्नो वार्षिक कार्य योजना अन्तर्गत आजदेखि कार्यकर्ताका लागि पार्टी कार्यालयमा पार्टी स्कुल (विषयगत प्रशिक्षण) सुरु गरेको छ ।  

नेकपा (एमाले)को जनसङ्गठन अखिल नेपाल किसान महासङ्घका सदस्यहरू आज सुरु भएको पहिलो लटको स्कुलमा सहभागी हुनुभएको छ । 

अखिल नेपाल किसान महासङ्घका सदस्यहरू उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदीप ज्ञवाली र उपप्रमुख ईश्वरी रिजालले प्रशिक्षण दिनुभएको छ । 

प्रशिक्षण जनसङ्गठनबाट सुरु गर्न लागिएको हो । प्रशिक्षण तीन दिने हुने छ भने सहभागिता सङ्ख्या चालीस निर्धारण गरिएको छ ।

उपमहासचिव ज्ञवालीले सबै जनसङ्गठनलाई क्रमशः प्रशिक्षण दिइने र भदौ भरमा सात आठ वटा जनसङ्गठनका पदाधिकारी तथा सदस्यहरूलाई प्रशिक्षण दिइसक्ने योजना रहेको बताउनुभयो । 

प्रशिक्षणमा मार्क्सवादी दर्शन र पार्टी जीवनमा त्यसको प्रयोग, जनताको बहुदलीय जनवाद र समृद्ध नेपालको निर्माण, पार्टीको दसौँ महाधिवेशनको कार्यदिशा, आजको सन्दर्भमा सङ्गठनात्मक व्यवस्थापन र पार्टी जीवनमा सूचना प्रविधिको प्रयोग लगायतका विषयमा नेताहरूले प्रशिक्षण दिनु हुने छ ।

नेकपा (एमाले)मा स्थानीय निर्वाचन अघि र त्यसपछि पनि निरन्तर पार्टी प्रवेश चलिरहेको र अहिले पार्टीमा हजारौँको सङ्ख्यामा नवप्रवेशी रहनुभएकाले उहाँहरूलाई पनि पार्टीले प्रशिक्षण दिने भएको छ । 

उपमहासचिव ज्ञवालीले नवप्रवेशी साथीहरूलाई लक्षित गरेर अर्को प्रशिक्षण चलाउने निर्णय गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘“नवप्रवेशी साथीहरूलाई एमालेको काम गर्ने शैली, संस्कार, मूल्य–मान्यता लगायत विषयमा प्रशिक्षित गर्ने योजना रहेको छ ।”

विभागले आम निर्वाचनपछि आफ्नो वार्षिक कार्य योजना अन्तर्गतको निर्धारित कामलाई पुनः निरन्तरता दिने छ । पुसपछि प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने योजना रहेको छ । 

प्रकाशित मिति : २ भाद्र २०७९, बिहिबार  ११ : ३६ बजे