तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै डडुवाका किसान

गलेश्वर । एक दशकसम्म बहराइनमा काम गर्दा खासै कमाई गर्न नसकेपछि फर्किनुभएका बेनी नगरपालिका–५ डडुवाका ५२ वर्षीय मोहन भण्डारी अहिले व्यावसायिक तरकारी खेतीमा व्यस्त हुनुहुन्छ । उहाँ तरकारी खेती गरेर वार्षिक रु पाँच लाखभन्दा बढी आम्दानी गर्न सफल हुनुभएको छ ।  

भण्डारी तरकारीसँगै फलफूल खेतीमा समेत व्यस्त हुनुहुन्छ । गोडमेल, मलजल र फलफूल रेखदेखनै उहाँको दैनिकी बनेको छ । भण्डारी मात्रै होइन डडुवाका भरत भण्डारी, अर्जुन भण्डारी, डेकबहादुर पाइजा, भीमबहादुर पाइजा, वीरबहादुर भण्डारीलगायत व्यक्ति गाउँमै व्यावसायिक तरकारी खेती र पशुपालनमा लागिपर्नुभएको छ । उजाड र उराठलाग्दो डडुवा हराभरा भएको छ । तरकारी खेती र पशुपालन गरेर उहाँहरुले विदेशमा भन्दा बढी कमाई गर्दैआउनुभएको छ । 

विदेशमा रहँदा तरकारी र पशुपालनको क्षेत्रमा गरेको कामको अनुभवलाई लिएर स्वदेश फर्किएपछि भण्डारीले आफूले जानेको सीपलाई कृषि पेसामा लगाउनुभयो । भण्डारीले दुई आधुनिक टनेल, तीन सामान्य टनेल र दुई हाइटेक प्रविधिको टनेलभित्र गोलभेँडा खेती गर्नुभएको छ । वार्षिक सरदर रु एक लाख ५० हजारको लगानी गरी उहाँले टनेलमा गोलभेँडा, सिमला खुर्सानी, बारीमा काँक्रो, भन्टा, खुर्सानी, साग लगायतका तरकारी लगाउनुभएको छ ।

“गोलभेँडा बिक्रीबाट बर्सेनी रु चार लाख आम्दानी हुन्छ”, उहाँले भन्नुभयो । बन्दा, काउली, खुर्सानी, भन्टालगायत बिक्री गरी मासिक रु एक लाखभन्दा बढी आम्दानी हुने गरेको भण्डारी बताउनुहुन्छ । अहिले डडुवाका प्रायःले तरकारी खेती सुरु गरेका छन् । गाउँमा तरकारी र पशुपालनको लहर नै चलेको छ । उनीहरु आर्थिक रुपमा सबल बन्दै गएका स्थानीय शिक्षक प्रेम नेपालीले बताउनुभयो ।

“डडुवामा अहिले जताततै टनेल छन्, टनेलभित्र तरकारी खेती फष्टाएको छ”, उहाँले भन्नुभयो । सिँचाइ गर्न स्थानीयले गाउँमा नै पक्की ट्याङ्कीसमेत निर्माण गरेका छन् । बर्खाको पानी जम्मा गर्नका लागि बनाइएका ती ट्याङ्कीको पानी हिउँदमा समेत सिँचाइ गर्न प्रयोग गर्ने गरिएको कृषक पदम भण्डारीले बताउनुभयो । अर्का कृषक भीम पाइजा खुर्सानी बेचेर वार्षिक रु डेढ लाख आम्दानी गर्दै आउनुभएको छ । यस्तै डेकबहादुर पाइजाले तरकारी खेतीका साथै बङ्गुरपालनसमेत गर्नुभएको छ । आम्दानी बचतसमेत गर्ने गरेको कृषक भण्डारी बताउनुहुन्छ । “तरकारी, फलफूल र पशुपालन गर्नसके पैसा कमाउन विदेश जानु पर्दैन”, उहाँले भन्नुभयो । 

तरकारी र फलफूल बिक्री गर्न बजारको समस्या छैन । गाउँमा सडकको पहुँच छ । सङ्घ, प्रदेश र स्थानीय सरकारले कृषक लक्षित विभिन्न नीति तथा कार्यक्रम ल्याएको छ । तर त्यसबाट कृषक लाभान्वित हुन सकेका छैनन् ।  
 

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार  २ : ३७ बजे