प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन घोषणासँगै निर्वाचन रणनीति र योजनामा दलहरू प्रवेश गरिसकेका छन् । राजनीतिक विश्लेषकहरू निर्वाचनको आँकलनमा व्यस्त छन् । मूलधारका मिडियाहरू निर्वाचन परिणामको सम्भावित आँकलनका विभिन्न विधिहरू प्रयोग गर्दै सम्भावित परिणामहरू औँल्याइरहेका छन् ।
विगतका निर्वाचनभन्दा यस निर्वाचनमा सबैभन्दा महत्त्वपूर्ण बहसको विषय बनेको छ: गठबन्धनको सिट बाँडफाँट र एमालेसँग वाम तालमेलको प्रसङ्ग । अघिल्लो साता गठबन्धनको सिट बाँडफाँटको प्रसङ्गमा चर्चा गरिसकिएको छ । मूलतः गठबन्धन कायमै रहन्छ र नेपाली काँग्रेसले निर्वाचनको अङ्कगणित कम्युनिष्ट विहीन सत्ताको सम्भावनाका साथ अघि बढाउने निश्चित नै छ । यस पासोमा नबुझेर वा बुझ पचाएर प्रचण्ड र माधव नेपालको व्यक्तिगत हित र कुण्ठाका कारण माओवादी केन्द्र र नेकपा एस माकुरो जालोको फसेका झिँगाझैँ फसिसकेको अर्को यथार्थ हो ।
तर अर्को विषय एमाले र वाम तालमेलको बहस भने अझै सकिएको छैन । एमालेले निर्वाचन तयारीका गतिविधि तीव्र गतिमा अगाडि बढाइसकेको र दल दर्ता गरिसकेको छ । यस सन्दर्भमा नेपालका राजनीतिक विश्लेषक, समाचार माध्यममा आएका लेखहरू विश्लेषणहरूले एमालेले वाम तालमेल गर्नुपर्ने, माओवादी र नेकपा एसलाई सँगै लिएर जानुपर्ने तर एमालेले एक्लै लड्ने दम्भ देखाएको आरोप लगाइरहेका छन् । एमाले भित्रैका केही नेता तथा कार्यकर्ताहरू पनि वाम तालमेल जरुरी छ भन्ने बहस गरिरहेको पाइन्छ । मूल नेतृत्व पङ्क्ति भने वाम तालमेलप्रति खासै इच्छुक देखिएका छैनन् । यस परिवेशमा के निर्वाचनमा वाम तालमेल जरुरी छ भन्ने प्रश्नको निरूपण वस्तुगत विश्लेषणमा आधारित भई हुनु जरुरी छ ।
निर्वाचनमा तालमेलको औचित्य के हो ?
सामान्यतया निर्वाचनमा दलहरुले तालमेल गर्ने गरेका छन् । तालमेलको आवश्यक्ता मुख्य रूपमा निम्न कारणले हुने गर्दछ :
- तालमेलका कारण निर्वाचनमा सम्भावित परिणाम सकारात्मक वा नकारात्मक हुने पर्याप्त आधारहरू देखिन्छन् भने,
- तालमेलका दलहरू निर्वाचनपश्चात् पनि सत्ता समीकरण वा व्यवस्थापनमा निश्चित अवधि सहकार्य गरिरहन सक्ने सम्भावना रहेको छ भने,
- तालमेलका दलहरू न्यूनतम पनि राज्य व्यवस्था, विकास नीति र योजनाहरू, अर्थ प्रणालीका विषयमा परस्परमा साझा धारणामा सहमत हुन्छन् भने,
- तालमेलमा एक अर्का दलहरूबीच सम्मानपूर्ण अभ्यास र सम्बन्ध रहन सक्छ भने,
माथि उल्लेखित सूचकहरूका आधारमा हेर्ने हो भने एमाले र वाम तालमेलका पक्षमा निम्न तर्कहरू रहेको देखिन्छ:
- स्थानीय तह निर्वाचन २०७९ मा एमालेले तालमेल नगरेका कारण करिब ९० सिट गुमाउन पुगेको छ । ती अधिकांश ठाउँहरूमा २ मत देखि ५०० मतान्तरले एमालेका उम्मेदवार पराजित भएका छन् । यसको मूल कारण चोइटिएर बनेको दल नेकपा एस र हिजोको केही समयको सहयात्री नेकपा माओवादीको समर्थन प्राप्त गर्न नसक्नु हो । त्यसैले यदि सङ्घ र प्रदेश निर्वाचनमा एमालेले माओवादी र नेकपा एससँग तालमेल गरेमा उक्त पराजित स्थानहरूमा मत फर्काउन सकिन्छ ।
- वाम शक्तिहरूबिच वैचारिक समानता र राज्य व्यवस्था सञ्चालन सम्बन्धमा समान दृष्टिकोण रहने हुँदा यिनीहरू बीचको तालमेल उपयुक्त हुन्छ र निर्वाचनपश्चात् सत्ता समीकरण पनि सहज हुन सक्छ ।
- एमाले, माओवादी र नेकपा एसका मूल नेतृत्व समवय, पुस्ताका नेतृत्व भएका कारण एक अर्काबीच सम्मान र स्वीकार्यता सहज हुन सक्ने देखिन्छ ।
तालमेलका भ्रम र यथार्थ
वाम तालमेलका विषयमा उल्लेख गरिएका तर्कहरू सुन्दा र पढ्दा व्यावहारिक, उचित र आकर्षक लाग्दन्छ । नेपालमा वामपन्थी शक्तिको उदय, सबलीकरण र प्रगतिशील सत्ता समीकरण चाहने बौद्धिक एवं श्रमिक किसान तथा युवा वर्ग उत्साही र आशावादी पनि हुन सक्ने देखिन्छ । तर तथ्य, विद्यमान राजनीतिक यथार्थ र वाम शक्ति भनिएकाहरूमा देखिएको विचलनलाई हेर्ने हो भने वाम तालमेल यथार्थमा वाम तालमेल हुन सक्ने देखिँदैन र राजनीतिक दृष्टिले हेर्ने हो भने कालान्तरमा कम्युनिष्ट पार्टीको जनाधार भत्काउने योजना पनि हुन सक्ने आशङ्का गर्न सकिन्छ । यसका पछाडि रहेका निम्न वास्तविकतामा ध्यान दिन जरुरी देखिन्छ:
झुक्क्याउने तथ्याङ्कीय खेल
केही समय यता नेपालको निर्वाचनमा तथ्यांकीय गणितको विश्लेषण गरेर आगामी निर्वाचनमा सम्भावित परिणामको आङ्कलनहरू भइरहेको छ । उक्त विश्लेषणहरू मुख्य रूपमा निर्वाचनमा सम्बन्धित दलका उम्मेदवारले प्राप्त गरेको मतको आधारमा गरिएका छन् । ती विश्लेषणहरू स्वयंले उक्त विश्लेषणहरूमा ५ देखि १० प्रतिशत विचलन हुन सक्ने अनुमान गरेका छन् । ती विश्लेषणहरूमा देखाउन बाँकी परिदृश्य भनेको गत स्थानीय तह निर्वाचनमा नेकपा एसले ५५ प्रतिशत तहमा उम्मेदवार नदिएको र नेकपा माओवादीले झन्डै ४० प्रतिशत स्थानीय तहमा उम्मेदवारी नदिएको तथ्य हो ।
नेकपा एसले ४ प्रतिशत मत प्राप्त गरी ३ प्रतिशत स्थानीय तहमा विजय हासिल गरेको र माओवादीले १३ प्रतिशत हाराहारी लोकप्रिय मत प्राप्त गरी १६ प्रतिशत स्थानीय तहमा विजय गरेको यथार्थतामा पर्याप्त छलफल गरिएको छैन । स्थानीय तहको मताधारमा झन्डै १० प्रतिशत मत सम्बन्धित उम्मेदवारको व्यक्तिगत प्रभाव र छविका कारण पनि प्रभावित हुने गर्दछ । त्यस अर्थमा अहिले गरिएका तथ्याङकीय कम र गणितीय बढी रहेका विश्लेषणहरूले प्रदेश र सङ्घीय प्रतिनिधि सभाको निर्वाचनमा सम्भाव्यताका सन्दर्भमा किटानी प्रस्तुति गर्न सक्दैनन् । कतिपय स्थानमा हार बेहोर्नुका पछाडि नेकपा एसका कारण वा माओवादीका कारण मात्र नभई टिकट नपाएका उम्मेदवारले गरेका असहयोग, निर्वाचन व्यवस्थापनमा देखिएका कमजोरी र उम्मेदवारहरूको व्यक्तिगत स्वभाव र शैली देखिएको छ । तसर्थ, यिनै तथ्याङ्कका रूपमा अघि सारिएका प्राविधिक तर्कलाई आधार मानेर मात्र वाम तालमेलका कारण सकारात्मक परिणाम आउन सक्छ भन्न सकिँदैन ।
प्रायोजित गठबन्धन
आम मानिसहरूमा जबरजस्ती सन्देश प्रवाह र विश्वस्त बनाइएको छ कि, ‘के पी ओलीका दम्भका कारण माधव नेपालले एमाले चोइट्याए । के पी ओलीले प्रधानमन्त्री नदिएका कारण प्रचण्ड बिच्किए, के पी ओलीले संसद् भङ्ग गरेका कारण आज गठबन्धनको सङ्कट बेहोर्न परेको छ ।’
यथार्थमा माधव नेपाल र प्रचण्डहरू एमालेबाट टाढा हुनुका कारण केवल के पी ओली मात्र होइनन्, उनका केही कार्यशैलीका कारण सन्दर्भ थप जटिल बन्यो होला, तर नेकपाको सरकारमाथि षड्यन्त्र, अदालतमाथिको सेटिङ, नियन्त्रण र प्रभाव, गठबन्धन निर्माण र पार्टीभित्रको विग्रह कसबाट प्रायोजित थियो भन्ने विषय एमसीसी, एसपीपी, नागरिकता विधेयक र वर्तमान गठबन्धन सरकारबाट निरन्तर नेपाली जलस्रोतमाथि भारतीय एकाधिकारको प्रवर्द्धन भएबाट स्पष्ट भइसकेको छ ।
तसर्थ, विद्यमान गठबन्धन यसका मालिकहरूले नचाहेसम्म टुट्दैन र एमालेले रातो कार्पेट राखेर स्वागत गरे पनि प्रचण्ड र माधव नेपाल गठबन्धन छोडेर एमाले निकट हुँदैनन् । अर्कोतर्फ काँग्रेसले लात्तीले नै हाने पनि अनेक तर्क प्रस्तुत गरी यिनीहरू गठबन्धनमा नै रहनेछन्, किनभने जसले यो गठबन्धन बनायो उसको मूल चाहना नेपालको भूराजनीतिक अवस्थितिमा आधारित रणनीतिक स्वार्थपूर्तिका लागि राजनीतिक नियन्त्रण र यहाँ आर्थिक तथा राजनीतिक आसामी तयार पार्नु हो ।
वाम तालमेल प्रगतिशील हुन सक्ला ?
वाम तालमेललाई इमानदारीपूर्वक नेपालमा प्रगतिशील शासन प्रणाली, देशभक्ति, समृद्धि चाहने नेपालीहरूले वाम तालमेलका कारण प्रगतिशील सरकार बन्ने र सोही अनुरूप प्रगतिशील कार्यक्रम लागू हुने अपेक्षा गरेका छन् । तर, वाम तालमेलका लागि जुन जुन शक्तिको चर्चा गरिएको छ, ती शक्ति र दलहरू नामका कम्युनिष्ट भए पनि उनीहरू कार्यनीति र कार्यदिशाका दृष्टिले दलाल पुँजीवादी शक्तिको पृष्ठपोषक र सहजकर्ता भइसकेका छन् । माओवादी केन्द्रका मन्त्रीलाई सीसी टिभी फुटेज काण्ड जस्तो घिनलाग्दो हर्कतका बाबजुद पुनः अर्थमन्त्रीको रूपमा फर्काइएको छ । नेकपा एसका मन्त्रीहरूले क्यासिनो लाइसेन्स र श्रम सम्झौताको बिक्री गरी करोडौँ आम्दानी गरिसकेका छन् । यसो गर्न नसकेकाहरू जम्मा गरिराखेको खुत्रुके हराउने चिन्तामा रुँदै घर फर्किएका छन् । बाबुरामजी त एस डी मुनीका असल शिष्य भइहाले । यस अर्थमा यो समूहमा तालमेल रहेमा प्रगतिशील, देशभक्ति, सन्तुलित विदेश नीति र साझा आर्थिक समृद्धिका कार्यक्रम लागू गर्न तालमेलमा आएका दल र तिनका नेताहरू नै बाधक हुनेछन् । स्वर्ण कालका रूपमा रहेको एमालेको ९ महिने शासनकाल पछिल्ला गठबन्धन सरकारका कारण छवि बिग्रिएर एमालेले साउँ—ब्याज सबै गुमाउन परेको यथार्थ हाम्रो सामु छँदै छ । त्यसै कारण बामदेव गौतम र सीपी मैनालीहरू राजनीतिमा बिलाउँदै गएको यथार्थ हामी सबैले देखेकै छौँ । तसर्थ, जनताले चाहेजस्तो प्रगतिशील गठबन्धनको रूपमा माओवादी, एस, बाबुरामहरूसँग तालमेलबाट प्रगतिशील कार्यक्रम र राष्ट्रिय स्वाधीनता र समनिकट विदेश नीति लागू गर्न सकिने सम्भावना छैन ।
तालमेल र दलीय अस्तित्वको क्षयीकरण
निर्वाचन जित्नका लागि क्षणिक लाभका दृष्टिले दलहरूबिचको तालमेल लाभदायी जस्तो देखिए पनि यसले दलीय पहिचान र अस्तित्वको क्षयीकरण नै गर्दछ । भारतमा काँग्रेस आइ जस्तो इतिहास बोकेको दल आफ्नो पहिचान गुमाउँदै विलीनतामा पुग्नुको मूल कारण विगत ३० वर्षमा उसले अवलम्बन गरेको तालमेलको कार्यशैली पनि हो । नेपालमै पनि नेकपा माओवादी, जसले झन्डै ३० प्रतिशत मत प्राप्त गरेको थियो उसले आज आफ्नो विचार, पहिचान र धारणाभन्दा पनि कुनै न कुनै थाँक्रो दल खोज्ने शैली अपनाएका कारण निरन्तर क्षय हुँदै गएको र पछिल्लो निर्वाचनसम्म आइपुग्दा १३ प्रतिशतमा झरिसकेको छ भने नेकपा एस बन्दा बन्दै आफ्नो सङ्गठन विस्तार गर्ने र बनाउने भन्दा पनि काँग्रेस र माओवादीको थाँक्रो चढ्दा, नेकपा चोइट्याउँदा झन्डै १० प्रतिशत शक्ति लिएर गएको दल एकै चुनावमा खस्किएर ४ प्रतिशत मतमा खुम्चिएको छ । यदि एमालेले स्थानीय तह निर्वाचनमा गुमाएको केही सिटका कारण आत्तिएर तालमेलको थाँक्रो खोज्न थाल्यो भने निरन्तर ती स्थानहरूमा आफ्नो दलीय पहिचान र अस्तित्वमा क्षयीकरण नै गर्नेछ ।
बाटो के हो ?
पछिल्लो राजनीतिक घटनाक्रमहरूलाई हेर्ने हो भने आगामी निर्वाचनमा राजनीतिक लडाइँका दृष्टिले निम्न आयामहरू देख्न सकिन्छ:
- एमालेका विरुद्ध सक्ने जति सबै अर्थात् जसरी भए पनि एमालेलाई एक्ल्याउने र एमाले विरुद्धको मोर्चाबन्दी मार्फत गैर एमाले सरकार निर्माण गर्ने ।
- पराधीनता र स्वाधीनताको प्रतिस्पर्धा अर्थात् एकातर्फ काँग्रेसी नेतृत्वमा भारतीय समर्थन सहितको अमेरिकी रणनीति लागू गर्दै नेपालको भूराजनीतिलाई नियन्त्रित रूपमा सञ्चालन गर्ने अवस्थाका मोहराहरू नेपाली काँग्रेस नेतृत्वको माओवादी, एस, बाबुराम र लोसपा, जसपा समेतको मोर्चाबन्दी र अर्कोतर्फ चुच्चे नक्सा, सम निकटताको विदेश नीति र पश्चिमा र भारतीय प्रभावलाई निषेध राष्ट्रिय राजनीतिको प्रतिनिधित्व गर्दै एमाले ।
- दलवादी र दलविहीन अराजकताको प्रतिस्पर्धा, अर्थात् दलवादीहरू (एमाले, काँग्रेस लगायत) एकातर्फ बहुदलीय गणतन्त्रमा दलीय प्रतिनिधित्व र नेतृत्वको पक्षमा रहेका छन् भने अर्कातर्फ दलीय विकृतिको आधार भूमिमा जन्म लिएका गैर दलीय राजनीतिक अराजकताको प्रतिनिधित्व स्वतन्त्र अभियानले गरिरहेको छ ।
यस सन्दर्भमा गन्हाएको, स्वार्थ प्रेरित सत्ता साझेदारी मात्रै होइन, नेकपा एमालेले नेतृत्व गर्दै दलीय व्यवस्था दलीय अनुशासन, पारदर्शिता, सुशासनको सुनिश्चितताको सन्देश दिन जरुरी छ । यसका लागि देशभक्ति, राष्ट्रिय स्वाधीनता र आर्थिक समृद्धि तथा सामाजिक सुख र सन्तुलित विदेश नीति कार्यान्वयनको नेतृत्व एमालेले लिन जरुरी छ । परिदृश्यमा देखिएको दुई दलीय छनोटको प्रवृत्ति कायम रहेको अवस्थामा प्रगतिशील समाजवादी विकासको राजनीतिक धारको नेतृत्व नेकपा एमालेले र नवउदारवादी पुँजीवादी धारको नेतृत्व नेपाली काँग्रेसले गर्नेछ र यससँग मिसिन गएका राजनीतिक समूहहरू कालान्तरमा यसै प्रवाहमा हराउनेछन् ।
यस अर्थमा वाम तालमेलको औचित्य पुष्टि हुन सक्दैन । वाम तालमेल नेपाली कम्युनिष्ट आन्दोलनको हितमा पनि देखिँदैन र अहिले चर्चा गरिएको वाम तालमेलले अपेक्षा गरे अनुसार राष्ट्रिय स्वाधीनताको संरक्षण र दलाल पुँजीवादविरुद्ध सङ्घर्ष गर्ने छैन । त्यस कारण देशभक्ति, राष्ट्रिय स्वाधीनता, आर्थिक समृद्धि, साझा समृद्धि, गणतन्त्रको संस्थागत विकासका सन्देश सहित नेपाली मौलिक समाजवादी क्रान्तिको सिद्धान्त जनताको बहुदलीय जनवादलाई स्थापित गर्न आगामी निर्वाचनमा एमालेले वाम तालमेलमा अलमलिनु जरुरी छैन, आफ्नै सिद्धान्तका बलमा जनतामाझ स्थापित हुन जरुरी छ ।
प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार ९ : ३१ बजे
प्रतिक्रिया