इन्धनको मूल्य घटाउन सकिदैन : आयल निगम

​​​​​​​काठमाडौं – नेपाल आयल निगमले इन्धनको मूल्य नघटाउने निर्णय गरेको छ ।

भारतबाट मंगलबार मात्रै घटेर मूल्य प्राप्त भए पनि निगमले अझै ऋणको दायित्व धेरै भएका कारण हाललाई मूल्य यथावत नै राख्ने निर्णय गरेको पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

आज आयोजित पत्रकार सम्मेलनमा निगमले भारतीय आयल निगमलाई विगत चार महिनादेखि अझै रु.२३ अर्ब तिर्न बाँकी रहेकाले मूल्य नघटाइ यथावत राख्ने जनाएको हो ।

नयाँ मूल्यसूचीअनुसार निगमलाई पेट्रोलमा ४.७४ पैसा नाफा हुँदा पनि मूल्य घटाइएको छैन । यस्तै निगमले डिजेलमा ४.५० पैसा घाटा देखाएको छ भने ग्यासमा पनि ४९९.५७ रुपैयाँ घाटा देखाएको छ ।

‘हामीलामई अझै ऋण र भुक्तानीको बक्यौता धेरै छ, त्यसैले अहिलेलाई मूल्य समायोजन गर्न सकिएन,’ निगमका कार्यकारी निर्देशक उमेशकुमार थानीले भन्नुभयो, ‘अब निगम आर्थिक रुपमा सबल हुँदै आएपछि यसबारे केही न केही सम्बोधन हुन्छ ।’

मंगलबार निगमलाई प्राप्त मूल्यसूचीअनुसार भारतबाट पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ ९० पैसा घटेर आएको थियो । यस्तै, डिजेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ ८० पैसा  तथा हवाई इन्धनको मूल्य प्रतिलिटर ४ रुपैयाँ ५० पैसा घटेर आएको थियो ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ६ : ०२ बजे