सुसाइड नोटमा बाँच्नुको औचित्य लेख्दै नेकपा एसका नेताद्वारा आत्महत्या

काठमाडौं । मकवानपुरका एक कम्युनिष्ट नेताले सुसाइड नोट लेखेर आत्म हत्या गर्नुभएको छ । कम्युनिष्ट नेता एवं मकवानपुर जिल्लामा पहिलोपटक तामाङ समुदायका वकिल कल्याणविक्रम घलानले आत्महत्या गरेका हुन्  । ५२ बर्षीय घलान नेकपा एकीकृत समाजवादी बागमती प्रदेश कमिटी सदस्य थिए ।

थाहा नगरपालिका–७ मा बसोबास गर्दै शिक्षण पेशामा आबध्द रहेका घलानले साउन २४ गते मङ्गलवार साँझ घर नजिकै लप्सीखोला जाने बाटोनेर गुराँशको रुखमा झुन्डिएर आत्महत्या गरेका हुन् ।  स्थानीय इन्द्रायणी माध्यमिक विद्यालयमा सहायक प्रधानाध्यापकका रुपमा कार्यरत घलान साउन २४ गते विद्यालयमा आफ्नो ड्युटी सकाएर घर फर्कने क्रममा झुन्डिएका हुन् । घलानले केही महिनादेखि डिप्रेसनको औषधी सेवन गरिरहेका थिए । घलान शिक्षण पेशासँगै कृषि कर्ममा पनि आबद्ध थिए ।

आतमहत्या अघि लेखिएको घलानको सुसाइड नोटमा बाँच्नुको औचित्य भन्दै दुई बुँदा लेखिएको छ। ‘यो देशमा सांसद र मन्त्री बन्नु,देश जनताको सेवा गर्नु र छोराछोरीको उन्नति र प्रगति हेर्नू ।’ यति लेखेर उनले आत्महत्या गरेको हुन् । स्थानीयहरुका अनुसार कोरोनाकालमै घलानले आफ्नै जग्गामा बाख्रापालन शुरु गरेका थिए । बैँकसँग ऋण लिएर अनुदानसमेत पाइने आशामा बाख्रापालन शुरु गरे पनि त्यो पाउन सकेनन् ।  

त्रिभुवन विश्व विद्यालयबाट एमए, बीएड र एलएलबी पास गरेका घलान तत्कालीन नेकपा एमालेका जिल्ला सदस्य थिए । नेकपा फुटेर पुनः एमाले र माओवादी बनेसँगै उनी उग्र रुपमा ओलीको आलोचक बनेर निस्किएका थिए । 

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  २ : २९ बजे