‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

घाँस उत्पादन गर्ने किसानलाई महानगरबाट अनुदान

कास्की । पोखरा महानगरपालिकाले घाँस उत्पादन गर्ने किसानलाई प्रोत्साहन गर्न नगद अनुदान प्रदान गरेको छ । घाँसमा आधारित पशुपालनमा जोड दिन महानगरले किसानलाई नगद अनुदान दिएको हो । महानगरको सघन घाँस विकास कार्यक्रम अन्तर्गत महानगरभित्र घाँस खेती गर्ने ९३  किसानलाई रु १४ लाख ६५ हजार पाँच सय ९० अनुदान दिइएको हो ।

महानगरमा गत आर्थिक वर्षमा चार सय ८९ रोपनी क्षेत्रफलमा घाँस लगाइएको र सात हजार तीन सय ३५ मेट्रिक टन घाँस उत्पादन भएको महानगर पशु सेवा शाखाका प्रमुख नवराज अधिकारीले बताउनुभयो । उहाँका अनुसार महानगरमा १० रोपनी क्षेत्रफलभन्दा बढी घाँस लगाउने १३, पाँच देखि नौ रोपनीमा लगाउने २२, दुई देखिमाथि र पाँच रोपनी भन्दा कम लगाउने किसानको सङ्ख्या ५८ जना रहेको छ । 

महानगरले प्रति रोपनी तीन हजारका दरले अनुदान उपलब्ध गराएको छ । महानगरका ९३ जना किसानले  रु छ हजारदेखि रु ६० हजारसम्म अनुदान प्राप्त गरेका छन् । सबैभन्दा बढी २० रोपनीमा घाँस लगाउने मीना तिवारी र नन्दप्रसाद पोखरेललाई जनही रु ६०÷६० हजार अनुदान प्रदान गरिएको छ ।

अनुदान प्राप्त गर्नुभएका पोखरेलले पहिलो पटक सरकारी अनुदान पाउँदा खुसी लागेको बताउनुभयो । महानगर पशु शाखाले आइतबार आयोजना गरेको अनुदान वितरण कार्यक्रममा  महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले पोखराको आर्थिक विकासको आधार पर्यटन र कृषि रहेको बताउनुभयो । 

महानगरले आधारभूत कृषि उत्पादनमा आत्मनिर्भर हुने नीति लिएको छ । सो नीति कार्यान्वनयनका लागि भैँसी, बाख्रा, तरकारी तथा कृषि खाद्यबाली उत्पादन गर्ने व्यावसायिक किसानलाई नगद अनुदान प्रदान गरिँदै आइएको छ । 
 

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  १ : ४९ बजे