कमल थापाद्वारा नागरिकता विधेयक फिर्ता गर्ने राष्ट्रपतिको निर्णयको स्वागत 

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नागरिकता विधेयक पुनर्विचारका लागि संसद्मा पुनः पठाउने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको स्वागत गर्नुभएको छ । 

नेपाली पुरुषसँग विवाह गरेका महिलालाई समय सीमाको बन्देज बिना नै नागरिकता दिने तथा बाबुको पहिचान नखुलेको आमाले स्पष्टीकरण दिनु पर्ने लगायतको विषयलाई सम्बोधन गर्नुपर्ने लगायत विषयमा प्रश्न गर्दै राष्ट्रपति भण्डारीले विधेयक संसद्मा फिर्ता गर्नुभएको थियो । सो कदमलाई राप्रपा अध्यक्ष नेपालले स्वागत गर्नुभएको हो ।

“विभेदकारी र राष्ट्र हित विपरीतको नागरिकता विधेयक पुनर्विचारको लागि फिर्ता पठाउने राष्ट्रपतिको निर्णय स्वाभाविक छ” थापाले स्वदेश फर्के लगत्तै भन्नुभएको छ, “राष्ट्रपतिद्वारा संवैधानिक कर्तव्यको निर्वाह भएको छ।”

राष्ट्रपतिले विधेयक फिर्ता गरेको विषयलाई सङ्घीय संसद्ले हठ गर्न नहुने पनि भन्दै थापाले सो विषयको निर्णय गर्ने अधिकार नयाँ सरकारलाई दिनुपर्ने सुझाव पनि दिनुभएको छ । “अब संसद्ले हठ प्रदर्शन नगरोस्, ढिलो गर्ने काम सरकारले गरेको हो ।अब यो विषयको जिम्मा नयाँ जनादेश प्राप्त संसद्लाई दिनुपर्छ ।” उहाँले भन्नुभयो । 

 

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ९ : ५६ बजे