‘किसान’मा युगीन भाष्यको खोजी  

‘कोदालो र हलो बोकी दिनहुँ खेत धाउँछु, बाँझो बन्जर फोरेर अन्न बाली लगाउँछु ।।
यो मेरो भूमिका, धेरै मान्छेको म निसान हुँ, दन्केका भोकका ज्वाला निभाउँछु किसान हुँ ।।
हली बन्दछु आफै म बाउसे पनि बन्दछु, फाँटमा पसिना सिंची फल्छ है सुन भन्दछु ।।
माटोको वासना मीठो त्यसैभित्र रमाउँछु, दिलमा देश बोकेको धर्ती पुत्र किसान हुँ ।।
मेरो पौरख खाएर बाँच्ने मान्छेहरू सुन, मेरै विरुद्धमा नित्य लाग्ने गर्छौ तिमी किन ?
चिनारी के दिऊँ आफै सृष्टिको वरदान हुँ, सधै संघर्षमा बाँच्ने राष्ट्रभक्त किसान हुँ ।’

यी सारगर्भित पङ्क्ति कवि लक्ष्मण ज्ञवालीको ‘किसान’मा सङ्ग्रहित कविताको अंश हो । 

शान्त, धैर्य र शालीन स्वभावका लक्ष्मण ज्ञवाली नेपालीय साहित्यका असल साधक हुन् । उनको साधना निकै लामो छ । गुल्मीको छत्रकोट—४, दिगामको बोहामा जन्मेका उहाँ हाल तिलोत्तमा—१, शंकरनगरमा बस्नुहुन्छ । उहाँको आमा कुन्तादेवी बुवा ऋषिराम ज्ञवाली हुनुहुन्छ । उहाँका विगत लामो समयदेखिका सङ्कलित कविताहरू किसान कविता संग्रह (२०७८) मा प्रकाशित भएका छन् । 

१०४ वर्षका उनका पिता ऋषिराम ज्ञवालीको एउटा भजन संग्रह प्रकाशित भएको छ । लक्ष्मण ज्ञवालीको दाजु जनकवि लेखनाथ ज्ञवाली नेपालीय साहित्य फाँटका चर्चित कवि हुनुहुन्थ्यो । दिदी दुर्गा पौडेल राष्ट्रिय तहमै नियात्रा विधामा अब्बल स्रष्टा मानिनुहुन्छ । परिवारको कलात्मक साहित्यिक अभ्यासले पनि त्यो परिवार साहित्यमय छ भन्ने जनाउँछ । त्यसैले पनि लक्ष्मण ज्ञवालीलाई पनि अन्ततः पारिवारिक परिवेशले साहित्यकार बनायो । त्यो परिवार नेपालकै चर्चित महाकवि मोदनाथ प्रश्रित र कविता पौडेलको सम्धी परिवार भएको हुनाले पनि प्रगतिवादी चिन्तनधाराबाट प्रेरित हुँदै साहित्यिक फाँटमा सशक्त पहिचानका साथ दरिँदै आएको हो । एउटै परिवारमा राष्ट्रमै पहिचान बनाउन सक्ने व्यक्तित्वहरू रहनु हामी सबै साहित्यकारहरूका लागि निकै गौरव र गर्वको कुरा हो ।

कवि लक्ष्मण ज्ञवालीमा विभिन्न सामाजिक, साहित्यिक, शैक्षिक, सांस्कृतिक संघ—संस्थामा रहेर काम गरेको अनुभव छ । उहाँ बुटवल र आसपासमा रहेका विभिन्न संघ—संस्थाहरूमध्ये माण्डव्य सेवाश्रमका पूर्व अध्यक्ष, कवि लेखनाथ ज्ञवाली स्मृति प्रतिष्ठानका पूर्व अध्यक्ष, लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपालका पूर्व महासचिव र हाल कोषाध्यक्ष, सहिद गंगालाल पुस्तकालय शंकरनगरका आजीवन सदस्य, छात्रवृत्ति अक्षयकोष नहरपुर माविका आजीवन सदस्य, शंकरनगर दुर्गादत्त उच्च माविका आजीवन सदस्य, शंकरनगर वन विहार अनुसन्धान केन्द्रका सदस्य, रेडियो लुम्बिनी मणिग्रामका आजीवन सदस्य, लुम्बिनी सिटी कलेज शंकरनगरका संस्थापक सदस्य, प्यारा माउन्ट बोर्डिङ्ग स्कूलका आजीवन सदस्य हुनुहुन्छ । 

साहित्यकार लक्ष्मण ज्ञवालीको किसान कविताको विषयमा समीचीन भूमिकामा साहित्यकार डा. हिरण्य ज्ञवालीले लेख्नुभएको छ, ‘नेपाली प्रकृति संस्कृति र राजनीतिको झलक मात्र हैन, आर्थिक, सामाजिक, शैक्षिकजस्ता विविध कुराले कवितात्मक स्वरूप धारण गरेका छन् । यस सङ्ग्रहका कविताहरूको अध्ययन गर्दा तिनका समसामयिक बोधको तीव्र अनुभूति पाइन्छ । कवि ज्ञवाली जीवन र जगतका अनुभूतिलाई कवितात्मक रूप प्रदान गर्न खप्पिस देखिनुहुन्छ ।’ 

साहित्यकार तथा प्रेस सेनानी अर्जुन ज्ञवाली लेख्नुहुन्छ, ‘अचेल सुस्त सुस्त कृषि कर्ममा बदलाव आएको छ । गोरुको ठाउँमा मेसिनले स्थान लिएको छ । हलो, जुवा, गोरु विस्थापन हुँदै मेसिनीकरण हुन थालेको छ । उन्नत बीउ, रासायनिक मलको प्रयोग बढेको छ । किसान कवितामा यस्ता विषयहरू पर्नु राम्रो हुन्छ भन्दै समसामयिकताको प्रश्न उठाएकाछन् ।’ 

संस्कृतिविद राजेन्द्रकुमार आचार्य लेख्नुहुन्छ, ‘केही शास्त्रीय तथा केही लोकलयमा आधारित कविता र गीतको भावना उच्च छ । यो श्रमजीवी जनताप्रति समर्पित छ । राष्ट्रप्रेम, राष्ट्रिय संस्कृतिलाई माया गर्छ । भाव, विषयवस्तु र ध्येय उच्च र स्तुत्य छन् ।’

लामो साहित्य साधनाले होला उहाँका कविताहरू परिस्कृत छन् । एउटा कृति तर परिस्कृत कृति निस्किनु अब्बल साहित्यकारको विशेषता हो । कवि लक्ष्मण ज्ञवालीका कविताका प्रवृत्ति र विशेषताहरू केलाएर भन्दा उहाँ स्वच्छन्दतावादी प्रगतिवादी धाराका कवि देखिनुहुन्छ ।  उहाँको कृतिमा शैली र शिल्पमा परिस्कृति देखिन्छ । उहाँको प्रवृत्ति मूलतः स्वच्छन्दतावादमा आधारित देखिन्छ । परिवर्तन, जागरण, अधिकार, महिला आन्दोलन, आत्मसम्मान, पहिचान, विपन्न जनताप्रतिको सदासयता, विभेद विरुद्धको आन्दोलन प्रगतिवादी प्रवृत्ति छन् । उहाँको काव्यिक धारणा शास्त्रीय मूल्यमा आधारित नभई अधिकार प्रधान छ । शास्त्रीय विचारका बारहरूलाई भत्काएर आधुनिकताको शंखघोष गर्ने भएको हुनाले उहाँलाई स्वच्छन्दतावादी प्रगतिवादी धाराका कवि मानिन्छ । उहाँमा यी दुबै प्रवृत्तिहरु छन् । नेपालीय साहित्यमा मिश्रित प्रवृत्तिको साहित्य निकै लोकप्रिय छ । यसका लागि उहाँले शास्त्रीय छन्दहरूको सहारा लिएर कलात्मक कविता रच्नुभएको छ । हुन त छन्द शास्त्रीय हुँदैन, त्यो त सूत्र संरचना हो । विचार शास्त्रीय हुन्छ । उहाँ विचारका शास्त्रीय नभई आधुनिक देखिनुहुन्छ । 

समष्टिमा उहाँका धारणा, प्रवृत्ति र विशेषताको चर्चा गर्दै कविताहरुको व्यष्टितिर लागौँ । अलग अलग विषयहरू व्यष्टि हुन् । समुच्यय नै समष्टि हो । यसमा ४२ वटा काव्य पुञ्जहरू छन् । समष्टि निकुञ्जभित्रका यी व्यष्टि काव्य पुञ्जहरूले अलग अलग विषयमा धारणा पस्किइएको छ । ती अलग अलग कविताहरूमा किसान पहिलो र शीर्षकीय कविता हो । गरिबको पुकार, भानुको सम्झना, जन्मभूमि, तड्पेर हिँड्छौ किन ?, आव्हान्, बिर्सुँ र मैले किन ? भिक्षा, मेरो यहाँ को छ र ? एकताले देश बन्छ, मातृभूमि वन्दना, जागिरे, दशैँ र भाकल, राम्रो फूलबारी, संविधान सूत्र, वंशगान, वनबाटिका शान हाम्रो, यो शान ढल्न दिन्नौँ, फूलसँग संवाद, के अर्थ शान्ति क्षेत्रको, सुन सुन नानी हो, बुँद, शारदा, अठोट, सपुत, धन्य हाम्री आमा, शिशु लोकतन्त्र, गणतन्त्र र पहिचान, वाममोर्चालाई शुभकामना, देशकै गीत गाऔं, विदेशिनुको पीडा, ऊ को थियो ? आफ्नै कुनाका गीत, उज्यालो, वेदना, मैले गाइन, बालापन, लाम्टोको माया छ, मुटुको ब्यथा, श्वास यो फेरिदैछ, भरोसा, शिक्षा आदि यस सङ्ग्रहमा छन् । 

कविको छन्द सूत्र संरचनाहरूमध्ये अनुष्टुप छन्दमा विशेष दख्खल छ । यो छन्द भाव सम्प्रेषणका दृष्टिले तुलनात्मक रूपमा सहज मानिन्छ । 

लक्ष्मण ज्ञवालीको पहिलो कविताको शीर्षक किसान हो । यो कृृतिको समष्टिभाव पक्रने शीर्षकीय कविता पनि हो । कृषि र हली शब्दसँग कविको आकर्षण छ । प्रेम छ र अपनत्व छ । किसानको पक्षमा मोक्षाकाङ्क्षा प्रकट भएको छ । यो सुन्दर भावना हो ।   

उहाँका कविताहरुमध्ये एउटा शीर्षकीय कविता किसानको चर्चा गरौँ । नेपाल परिवर्तनको संघारमा छ । सामन्तवादको अन्त्यसँगै परम्परागत कृषि प्रणाली थला परेकोे छ । आधुनिकीकरणले स्थान लिन सकेको छैन । सङ्क्रमणका केही संकेतहरू देखिँदैछन् । मानिसहरूको रोजगारको रोजाईमा कृषि परेको छैन । कृषि क्षेत्र विकल्पको  खोजीको चापमा परेको छ । धेरै मानिसहरू कृषि छोडेर वैदेशिक रोजगारमा जाँदैछन् । गाउँमा तीव्र बसाइ सराइका कारण भूतबंगालाहरू बढेका छन् । जमिन बाँझिएको छ । ठिक यही बेलामा कविहरू कृषिलाई आधुनिकीकरण गर्ने आवाज घन्काउनबाट चुकेका छन् । युगीन भाष्य निर्माणमा चुकेका छन् । काव्य साधनामा लागेका कविहरुको दिमागमा भने आफूले भोगेकै खण्डीकृत कृषि प्रणालीको बिम्बहरू भरमार छन् । कुनै जातिविशेषले हलो जोत्नु हुँदैन भन्ने जमानाको हलिया प्रथाको बिम्ब छ । जमिन्दारहरूको सान र त्यसको विरुद्धको आवाज छ । मुखिया जिम्मुवाल, डिट्ठा, विचारीहरूको शासकीय सानको बिम्ब पूरै मेटिएको छैन । जुन पराजित र समाप्तप्रायको अवस्थामा छन् । कविहरुको दिमागमा भने उही हली बाउसे, रोपाहारको बिम्ब छ । वालीको बिम्ब छ । अर्मपर्मको बिम्ब छ । तर पछिल्लो जमानामा खण्डीकृत जमीनमा लागत घटाउन बहुन किसानहरु आफै हलो जोत्न थालेका छन् वा बाली हैन ज्याला दिन थालेका छन् । हलिया प्रथा या बालीघरे प्रथा नै मासिएको छ । रासायनिक मलको कारण गोरु, गाई विस्थापित भएर राजमार्ग र सहरहरुमा यत्रतत्र अलपत्र छन् । लाखाँै परिवारहरु घरमा ताला लगाएर परिवारका साथ सहरबजारतिर हानिएका छन् । कृषि कर्म फाउनको हलो चैत्रको ताउलोजस्तो भएको छ । विदेशबाट आयात बढेको छ । व्यापार घाटा छ । केहीले राजाको पालामा आत्मनिर्भर थियो भन्दैछन् । 

अब किसानले जमिनको कुत हैन कर बुझाउन थालेका छन् । जमिन्दारी प्रथाको लगभग अन्त्य भएको छ । किसान मुक्त भएका छन् । पुरानो कृषि प्रथा नासिँदैछ तर आधुनिक कृषि प्रणाली संगठित बनिसकेको छैन । हामी यही सङ्क्रमणको बीचमा छौं । कृषिमा परनिर्भरताको अवस्थामा आएका छौं । यस्तो अवस्था अझै केही समय रहन सक्छ । 

अब कृषि क्षेत्रमा पनि पुनरचना पुनगठनको आवश्यक छ । खण्डीकृत भूमि पाँच सात रोपनी वा कट्ठा जग्गामा खेती गरेर मासिक खर्च जुटाउन सकिदैन । यसबाट जीवन निर्वाह हुन सक्दैन । कृषिमा पनि पुनःगठन र पुनःरचनाको दुनियाँमा जानु पर्छ । यसो गर्न ढिलाढाला भइसकेको छ । खण्डीकृत भूमिलाई एउटै बनाउनु र चक्लाबन्दी गरेर फार्मिङ् सिष्टममा जानु भूमिको पुनर्गठन र पुनरचना हो । त्यसैले कृषि र कृषक कर्मलाई नयाँ ढङ्गले हेर्नुपर्छ । त्यही नै आधुनिकता हो भन्ने कुराको भाव यस कृतिमा रहेको प्रेस सेनानी अर्जुन ज्ञवालीको भूमिकामा पाइन्छ । उनले आवरण पृष्टमा हलगोरु हैन हार्भेष्टर, थ्रेसर, ड्रिल आदिको आवरण चित्र राख्नुपर्ने संकेत गरेका छन् । परिवर्तनले हामीलाई त्यतातिर लैजाँदैछ । हामी त्यतै जाँदैछौं । तर भविष्यको चित्र अमूर्त छ । अमूर्त अवस्थामा मानसपटलमा बिम्ब बन्दैन । 

कृषि आधुनिकताको पखाईमा छ । राजनीतिक दलका नेताहरु सहजीकरणको लागि सुढेनी बन्नु भन्दा आपसी झैझगडामा तन्नम छन् । वैरभाव बढेको छ । सत्ताको अङ्क गणित बाहेक केही हेरेका छैनन् । कृषि आधुनिकीकरण भन्दा पनि आआफ्ना कार्यकर्ता पाल्नका लागि अनुदान दिने नीतिमा अल्झिएका छन् । यसबाट पार लाग्न सक्दैन । त्यसैले कृषिमा आधुनिकीकरण अलि धिमा बनेको छ ।   

यस किसान कवितामा हली नायक बनेको छ । हलीलाई धर्ती पुत्र, दुष्कर्मको घोर विरोधी, देशभक्त भनिएको छ । उसको मुक्तिको कामना गरिएको छ । ऊ भने हलिया बालिघरे प्रथाको अन्त्यसँगै मुक्त भइसकेको पनि छ । 

कविको कविता बोल्छ —
कोदालो र हलो बोकी दिनहुँ खेत धाउँछु 
बाँझो बन्जर फोरेर अन्न बाली लगाउँछु
यो मेरो भूमिका धेरै मान्छेको म निसान हुँ 
दन्केका भोकका ज्वाला निभाउँछु किसान हुँ ।
हली बन्दछु आफै म बाउसे पनि बन्दछु
फाँटमा पसिना सिंची फल्छ है सुन भन्दछु
माटोको वासना मीठो त्यसैभित्र रमाउँछु
दिलमा देश बोकेको धर्ती पुत्र किसान हुँ ।

मेरो पौरख खाएर बाँच्ने मान्छेहरू सुन 
मेरै विरुद्धमा नित्य लाग्ने गर्छौ तिमी किन ?
चिनारी के दिऊँ आफै सृष्टिको वरदान हुँ 
सधै संघर्षमा बाँच्ने राष्ट्रभक्त किसान हुँ । 

त्यसो त यो कवितामा कविले युगीन भाष्य निर्माण गर्न नसके पनि अन्य कविताहरूमा परिवर्तनका तीक्ष्ण आवाजहरू यत्रतत्र सर्वत्र पोखिएका छन् । यस कृतिमा आएका कविताका परिवेशहरु चार दशक कालावधिभित्रका छन् । सबै कविताहरूमा तत्कालीन परिवेशको चित्रण छ । निरङ्कुश तानाशाही शासनको जुवा मिल्काएर स्वतन्त्र हुने अभियानबाट सुरू भएको काव्ययात्रा सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दाको दृश्यात्मक चित्रण छ । हरेक कविताहरूलाई आजको हैन, त्यो समयको परिवेशबाट समीक्षा गरिएमा कवि लक्ष्मण ज्ञवालीको लागि न्याय हुन सक्छ । 

किसान कविता २०७८ सालमा लेखिएको कविता हो । यस कविताले युगीन भाष्य निर्माण गर्न नसकेको हो कि भन्दै शीर्षकीय भावका दृष्टिले समीक्षा गरिएको हो । 

शास्त्रीय छन्द र केही लोकलय छन्दमा रचिएका साहित्यकार लक्ष्मण ज्ञवालीका कविताहरु कलाका दृष्टिले उच्च छन् । कवितामा निखारता छ । कवितामा जनबोली छ । एकाध कविताको भावमा युगीन चाहना अभिव्यक्त हुन नसके पनि कविताको सारमा राष्ट्रियता बोल्छ । माटोको सुगन्ध छ । पसिनाको मर्मको आवाज छ । मोहनीमय प्रकृतिको चित्रण छ । निम्नवर्गीय पक्षधरता छ । विभेद र छुवाछुत विरुद्ध हुँकार छ । न्याय र समानताको तुमुलध्वनि छ । भातृत्व र भाइचारको शंखघोष छ । परिवर्तनको चाहना छ । हठवादीता विरुद्ध आक्रोश छ । परिवर्तन अवश्यंभावी छ भन्ने कुरामा दृढ विश्वास छ । उनका हरेक कविताहरू परिवर्तनको लागि छडी बनेका छन् । ती छडीहरूले घडीहरूलाई चलायमान बनाउँदै यहाँसम्म ल्याएका छन् । समय बदलिएको छ । बदल्नमा उहाँको साहित्यिक योगदान छ । 

कविहरूले अब काव्य कर्ममा लीन हुँदा सन्दर्भ अनुसार  आधुनिक बिम्बहरू खोज्नु पर्छ । बिम्ब कविताका अलङ्कार नै हुन् । यसले काव्य सौन्दर्य ल्याउँछ । बिम्बहरूको प्रयोगमा ध्यान दिनुपर्छ । एउटै जातिभित्र क्षेत्रभित्रका बिम्बहरूले बृहत राष्ट्रिय एकता ल्याउन सक्दैनन् । बिम्बहरू हिमाल, पहाड, मधेशको विविधताबाट खोज्नु पर्छ । त्यहाँ समथर भूमिमा बस्ने मधेशी, थारु, पहाडमा बस्ने जनजाति, खसआर्य सबैको अनुहार समष्टिमा झल्कनुपर्छ । 

यस कवितामा स्वतन्त्रता र विभेद विरुद्धका आवाजहरूमा आवश्यक पर्ने हाम्रा थुप्रै बिम्बहरू छन् । यिनीहरूले काव्य कलामा निखार ल्याउनुको साथै सार्वजनीन, सार्वभौम र सार्वयुगीन बनाउन मद्दत गर्छन् । कवि लक्ष्मण ज्ञवालीका कविताहरुमा यस्ता विशेषताहरू छन् । 

यस कविता संग्रहमा किसान, किसानी र हलीका सन्दर्भहरूमै रमाएँ । त्यही कवितालाई फदुलेर हेरेँ । अन्य कविताहरूको विषयमा फेरि चर्चा हुने नै छ । कवि लक्ष्मण ज्ञवाली र उहाँको परिवारबाट राज्यले यथेष्ठ योगदान पाएको छ । काव्यमय साहित्यमय भावना भएका उहाँ र उहाँका परिवारका सदस्यहरूलाई उहाँकै ‘चिनारी के दिऊँ आफै सृष्टिको वरदान हुँ, सधै संघर्षमा बाँच्ने राष्ट्रभक्त किसान हुँ’ पङ्क्तिको स्मरण गर्दै एकमुष्ट सम्मान व्यक्त गर्दछु । 

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  ९ : ३३ बजे