‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

सडक निर्माणको काम हप्ता दिनभित्र सुचारु गर्न निर्देशन 

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सडक स्तरोन्नतिको काममा चरम ढिलासुस्ती गर्ने तीन ठेकेदार कम्पनीलाई कारबाही गर्ने चेतावनी दिएको छ । 

सडक स्तरोन्ततीको ठेक्का लिएर काम अलपत्र पार्ने ठेकेदार कम्पनीलाई नगरपालिकाले हप्ता दिनभित्र काम सुचारु गर्न अन्यथा कानुनी कारबाही गर्ने चेतावनी दिएको हो ।

नगरपालिकाले हुर्लुङ–जालपा–ऐसेलु खर्क सडक खण्ड स्तरोन्नतिको काम अलपत्र पार्ने रौताहारसुसमरआदित्य जेभी, दिक्तेलस्थित अस्पताल चोक–लफ्याङ सडक खण्ड स्तरोन्नतिको काम अलपत्र पार्ने ढुकुचुरबगाले थापारविएनटि जेभी र दिक्तेलको हाटडाँडा–लफ्याङ–अल्छेढुंगा–दोर्पा दुम्ली–आयुर्वेद भवन सडक स्तरोन्नतिको काम अलपत्र पार्ने लगलगे कन्ट्रकसन चाबहिललाई कारबाही गर्ने चेतावनी दिएको हो । 

मेयर तीर्थराज भट्टराईले तीन निर्माण कम्पनीलाई छुट्टाछुट्टै पत्राचार गर्दै अवरुद्ध काम हप्ता दिनभित्र सुचारु गरी यथाशीघ्र काम सम्पन्न गर्न अन्यथा सार्वजनिक खरिद अनुगमन कार्यालय लगायतका निकाय समक्ष कानुन बमोजिमको कारबाहीका लागि सिफारिस गर्ने चेतावनी दिनुभएको छ । 

तीन वटै सडक सघन सहरी तथा भवन निर्माण आयोजना, ओखलढुङ्गाबाट बोलपत्र आव्हान भई ठेक्का लागेको हो । तर सडक स्तरोन्नतिको काम अलपत्र हुँदा यातायात सेवा अवरुद्ध भएको, हिलाम्मे हुँदा हिँडडुल गर्न समेत समस्या भएको र अलपत्र बाटोमा दुर्घटनाको जोखिम बढेको छ । वर्षा सुरु भए सँगै तीन वटै सडक ठप्प प्रायः छ ।

ठेक्का लागेको सडक स्तरोन्नतिको काममा ढिलासुस्ती हुँदा स्थानीयबासीबाट व्यापक जनगुनासो आएकाले ठेकेदार विरुद्ध ‘एक्सन’मा उत्रिनु परेको नगरपालिकाले जनाएको छ । 

नगरपालिकाले पूर्वाधार विकास कार्यालय, गाईघाट, उदयपुरलाई पत्रको बोधार्थ पठाएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  ८ : २४ बजे