भारतका नवनिर्वाचित उपराष्ट्रपतिद्धारा सपथग्रहण

नयाँ दिल्ली । भारतका नवनिर्वाचित उपराष्ट्रपति जगदिश धनखरले भारतको १४औँ उपराष्ट्रपतिका रुपमा सपथ खानु भएको छ ।

राष्ट्रपति द्रौपती मुर्मुले राष्ट्रपति भवन नयाँ दिल्लीमा उपराष्ट्रपति धनखरलाई बिहीबार सपथ खुवाउनु भएको हो ।गत अगस्ट ६ मा भएको निर्वाचनबाट उहाँ उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । उहाँ निर्वाचित भएको घोषणा भने अगस्ट ७ मा प्रमुख निर्वाचन आयुक्त राजिभ कुमार र निर्वाचन आयुक्त अनुपचन्द्र पाण्डेले गर्नु भएको थियो । 

उपराष्ट्रपतिमा निर्वाचित धनखरसँग विपक्षी गठवन्धनको समर्थन पाएका उम्मेदवार मार्गरेट अल्भाले प्रतिश्पर्धा गर्नु भएको थियो। भारतको संघीय संसदमा भएको निर्वाचनमा धनखरले ५२८ मत पाउँदा अल्भालाई १८२ मत परेको थियो । यसरी हेर्दा उपराष्ट्रपतिम निर्वाचित धनखरले ७४.३६ प्रतिशत बराबरको मत प्राप्त गर्नु भएको देखिएको छ । सन् १९९७ पछिका ६ उपराष्ट्रपति मध्ये उहाँले नै सबैभन्दा धेरै मत ल्याउनु भएको हो ।

उपराष्ट्रपति चयनका लागि ७८० जनाले मतदान गर्न पाउने थिए । ती मध्ये ७२५ जनाले मात्रै मतदान गरेका थिए । खसेको मत मध्ये पनि १५ मत रद्ध भएको थियो । उपराष्ट्रपतिमा निर्वाचित हुन कम्तीमा ३५६ मतको आवश्यकता पर्नेमा धनखरले अत्यधिक धेरै ५२८ मत पाउन सफल हुनुभएको हो । 
उहाँको जन्म सन् १९५१ को मे १८ मा भारतको राजस्थान राज्यको झुन्झुनुमा सामान्य किसान परिवारमा भएको हो ।उहाँले विद्यालय तहको शिक्षा छत्तिसगढ स्थित सैनिक विद्यालयबाट पुरा गर्नु भएको थियो । उहाँले उच्च शिक्षामा भने भौतिक शास्त्र र कानुन शास्त्र अध्ययन गर्नु भएको थियो ।   
 

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहिबार  ३ : २६ बजे