९ वर्षपछि जनैपुर्णिमा र गाईजात्रा एकै दिन

काठमाडौँ । भक्तपुर र ठिमी नगरपालिकाले आज जनैपुर्णिमा र भोलि गाईजात्रा मनाउनका लागि दुई दिने सार्वजनिक बिदा दिए पनि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भने यो वर्षको जनै पूर्णिमा र गाईजात्रा शुक्रवार एकै दिन रहेको जनाएको छ ।

मुख्यतः काठमाडौँ उपत्यकाका नेवार समुदायले जनै पूर्णिमा र गाईजात्रा क्रमशः आज र भोलि शुक्रवार दुई दिन लगातार हुने जनाएपछि पञ्चाङ्ग समितिले २७ साउन अर्थात् शुक्रवार नै दुवै परेको भन्दै प्रेस विज्ञप्ति नै जारी गरेर स्पष्ट पारेको हो ।

पञ्चाङ्ग समितिले सो बारेमा भ्रममा नपर्न आग्रह गर्दै धार्मिक र परम्परा अनुसार आफ्ना धार्मिक कृत्य शुक्रवार एकै दिन गर्न गराउन समेत आग्रह गरेको छ ।

आज नै पूर्णिमा तिथि सुरु हुने भए पनि भद्रा पर्ने भएकाले भोलिपल्ट शुक्रवार जनै पूर्णिमा मनाउन तथा रक्षा बन्धन गर्न उचित हुने पञ्चाङ्ग समितिको भनाई छ ।

यसअघि १९९४, २०२४, २०३०, २०३१, २०५५, २०६१ र २०७० सालमा पनि यस पालिको जस्तै अवस्था परेको र एकै दिन जनै पूर्णिमा र गाईजात्रा मनाइएको समितिले जनाएको छ । सो सँगै झन्डै ९ वर्ष पछि जनैपुर्णिमा र गाईजात्रा एकै दिन परेको हो । 

 

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहिबार  ९ : २३ बजे