अमेरिकी सभामुखको भ्रमणपछि सुरु सैन्य अभ्यास पूरा भएको चीनको भनाइ

काठमाडौँ । अमेरिकी सभामुख न्यान्सी पलोसीको ताइवान भ्रमणको प्रतिक्रिया स्वरूप सुरु गरिएको करिब एक साता लामो सैन्य अभ्यास पूरा भएको चीनले जनाएको छ।

बिबिसीमा जनाइएअनुसार चीनको सेनाले स्वशासित ताइवान वरपरको क्षेत्रमा गस्ती जारी रहने जनाउँदै यसअघिको हवाई र सामुद्रिक कारबाही सफल भएको बताएको छ।

ताइवानलाई आफ्नो छुट्टिएको प्रान्त रहेको र कुनै समय बल प्रयोग गरेर मूल भूमिमै समायोजित गर्न सकिने ठान्दै आएको चीन उक्त टापुमा भएको पलोसीको छोटो भ्रमणले आक्रोशित भएको थियो।

अमेरिकी सभामुख पलोसी सन् १९९० को दशक यता ताइवान भ्रमण गर्ने सबैभन्दा उच्च अमेरिकी अधिकारी हुन्।

चीनको चेतावनी बेवास्ता गर्दै उनी गत साता ताइवान भ्रमणमा निस्किएपछि दुई देशबीच तनाव बढेको थियो। उग्र प्रतिक्रिया जनाएको चीनले चार दिनसम्म गोलाबारीको अभ्यास, पनडुब्बी प्रतिरोधी आक्रमण गर्नुका साथै समुद्री आक्रमणको अभ्यास गरेको थियो।

चीनको पिपल्स लिबरेशन आर्मीले एक वक्तव्य जारी गर्दै चीन र ताइवानबीचको समुद्री क्षेत्रमा ‘नियमित युद्ध तयारी गस्तीहरू’ गरिने जनाएको छ।

 

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहिबार  ८ : ०३ बजे