मनोहरा खोलामा बाढी: काँडाघारीमा रहेको प्रहरी प्रभाग र केही बस्ती डुबानमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा मङ्गलवार राति परेको झरीका कारण बागमती र सहायक नदीमा पानीको बहाव उल्लेख्य बढेको छ । 

भक्तपुरको मनोहरा खोला वरपरका सुकुमबासी बस्तीमा बाढी पसेको छ । मनोहरा खोलाको पानी बस्तीमा पस्दा भक्तपुरका केही क्षेत्र डुबानमा परेका छन् । विशेष गरी सुकमबासी बस्तीमा पानी पसेको हो । त्यहाँ रहेका केही टहरासमेत बाढीले बगाएको छ ।

काँडाघारीमा रहेको प्रहरी प्रभाग र केही बस्ती डुबानमा परेको प्रहरीले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानमा वर्षाको सम्भावना  छ । प्रदेश १, बागमती र गण्डकीका एक वा दुई स्थानमा भारी वर्षाको पनि हुनसक्ने आँकलन गरिएको छ । 

 

 

 

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  ७ : ३७ बजे