बैतडी । बझाङको बित्थडचिर गाउँपालिका–१ स्थीत श्री केदार माध्यमिक विद्यालयका छात्राहरू बेहोस हुन थालेपछि एक साताका लागि विद्यालय बन्द गरिएको छ ।
आइतबार २५ जना छात्राहरू बेहोस भएकोमा सोमबार ६ जना छात्राहरू बेहोस भएका हुन् । उनीहरूको २ घण्टापछि होस आएको विद्यालयका प्रधानाध्यापक बिष्णुसिंह बोहराले बताउनुभयाे ।
उहाँले भन्नुभयाे, ‘विद्यार्थीहरू एक पछि अर्को हुँदै बेहोस भए । पहिलो दिन एक जना बेहोस भएपछि लगातार अरु पनि बेहोस हुनथाले । उद्धारमा खटिएका शिक्षिकालाई समेत समस्या भयो ।’
पहिलो दिन बेहोस भएका सबैलाई घर पठाए पनि दोस्रो दिन स्वास्थ्यचौकीमा पुर्याएर उपचार गराइएको उहाँले बताउनुभयाे । बेहोस भएका छात्राहरू नबोल्ने तथा इसाराले घाँटी च्यापिएको बताउने, आँखा फर्काउने गर्दछन् ।
बेहोस भएका केही छात्राहरूको घरमा धामी बसाएपछि होसमा आएको शिक्षक मुरलीधर अवस्थीले बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘अघिल्ला वर्षहरूमा पनि यस्तो समस्या देखिएको थियो । अधिकांश छात्राहरू धामी चलाएपछि निको हुन्छन् । नजिकै मसानघाट रहेकाले स्थानीयवासीले मसान लागेको आंशका गरेकाछन् ।’
विद्यार्थीहरूमा बेहोस हुने समस्या देखिएपछि सोमबार देउलेक प्राथमिक स्वास्थ्य केन्द्रबाट डाक्टर बोलाइएको थियो । उनीहरूमा मास हिस्टेरीया भएको डाक्टर ईश्वर बलामीले बताउनुभयाे ।
उहाँले भन्नुभयाे, ‘सबैभन्दा पहिला समस्या देखिएका छात्रामा केही समस्या हुनसक्छ । त्यसको जाँच गर्नुपर्छ । यो समस्याका लागि आइसोलेशनमा बस्नुपर्छ । सबै छात्राहरू एकै ठाउँमा भएमा धेरैलाई समस्या हुनसक्ने भएकाले केही दिन छुट्टाछु्ट्टै राख्नुपर्छ ।’
चिन्ता तथा डरका कारण त्यस्तो समस्या आउने गरेको डाक्टर बलामीले बताउनुभयाे । एक जनामा समस्या भएपछि सरुवा रोग जस्तै अरुमा समेत यस्तो समस्या आउने डाक्टर बलामीको भनाइ छ । यस्ता छात्राहरूमा केही अन्य स्वास्थ्य समस्याहरू देखिएमा अस्पताल पुर्याउन उनको सुझाव छ ।
विद्यालयमै पुगेका डाक्टर बलामीले एक घण्टा शिक्षकहरूलाई सहजीकरण गरेका छन् । उक्त समस्या दार्चुला र बैतडीका समेत केही विद्यालयहरूमा देखिँदै आएको छ ।
प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार ११ : ४१ बजे
प्रतिक्रिया