बङ्गलादेशमा इन्धनको उच्च मूल्यवृद्धि, विरोधमा देशव्यापी प्रदर्शन

ढाका – सरकारले मुलुकमा इन्धनको मूल्य ५० प्रतिशतभन्दा बढी वृद्धि गरेपछि बङ्गलादेशभरि विरोध प्रदर्शन भएको छ । इन्धनको मूल्यमा एक्कासी अत्यधिक वृद्धि भएको भन्दै विरोधमा बङ्गलादेश विद्यार्थी महासंघलगायतका केही विद्यार्थी संगठनले देशभर प्रदर्शन गरेका ढाका ट्रिब्यूनले जनाएको छ । यसैबीच प्रगतिशील विद्यार्थी गठवन्धनले पनि छुट्टै विरोध ¥याली आयोजना गरेको छ । 

“पेट्रोलियम पदार्थको मूल्यवृद्धिले आम मानिसहरूको दैनिकी कठिन बनेको छ । सार्वजनिक सम्पत्तिमा सरकारले गरेको दुरुपयोगले मानिसहरूलाई यस सङ्कटतर्फ पु¥याएको छ,” प्रदर्शनमा सहभागीमध्येका एक विद्यार्थीलाई उद्धृत गरी  ढाका ट्रिब्यूनले लेखेको छ । 

यसबाहेक, ढाकाका थुप्रै बसहरूले आइतबार यात्रुहरूबाट अत्यधिक भाडा लिइरहेका बताइएको छ ।

तथापि, बङ्गलादेश जत्री कल्याण समिति (बीजेकेएस) ले इन्धनको बढ्दो मूल्यका कारण बस भाडावृद्धिमा हालै भएको वृद्धिलाई अस्वीकार गर्दै ‘उचित लागत मूल्याङ्कन“ पछि नयाँ बस भाडा निर्धारण गर्नुपर्ने बताएको छ । 

यसैबीच, बङ्गलादेशी प्रकाशनले ढाका इलेक्ट्रिक सप्लाई कम्पनी लिमिटेड (डेस्को) अन्तर्गतका क्षेत्रका उपभोक्ताले आज तीन घण्टा विद्युत् भार कटौतीको सामना गरेका छन् । शुक्रबार रातिदेखि लागु हुनेगरी सरकारले डिजेलको मूल्य प्रति लिटर ३४ देखि ४६ टाकासम्म बढाएको हो । 

शुक्रबार मूल्यवृद्धिको समाचारसँगै ढाकाको मोहमदपुर, अगरगाँव, मालीबाघलगायतका क्षेत्रका थुप्रै स्टेसनले इन्धन वितरणलाई रोकेका र मध्यरातदेखि वृद्धि भएको मूल्यमा बिक्री पुनः सुरु हुने घोषणा गरेका ढाका ट्रिब्यूनले जनाएको थियो ।

रासस÷एएनआई

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ९ : १० बजे