समाजवादको आधार निर्माणका लागि एमालेको विजय अनिवार्य : उपमहासचिव गुरुङ

पोखरा । नेकपा (एमाले)का उपमहासचिव पृथ्वी सुब्बा गुरुङले राष्ट्रिय मुद्दा र सवालहरूमा तथ्यपरक विश्लेषण आवश्यक भएको बताउनुभएको छ ।

उहाँले तथ्यपरक विश्लेषणको अभावमा जनमत भड्किने बताउनुहुँदै लोकतान्त्रिक व्यवस्थामा प्रधानमन्त्रीको आगमन र बहिर्गमन प्रतिनिधिसभाबाट मात्र हुन्छ तर वर्तमान प्रधानमन्त्रीको आगमनमा त्यस्तो सङ्गति मिलेको छैन भन्नुभयो । 

नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनको गण्डकी प्रदेश सम्मेलनको उद्घाटन गर्दै उपमहासचिव गुरुङले नेपालका बुद्धिजीवी र प्राध्यापकहरूले यस्ता विषयहरूमा अनुसन्धान गरेर वास्तविकता सार्वजनिक गर्नुपर्ने बताउनुभयो । 

उहाँले समाजवादको आधार निर्माणका लागि नेकपा(एमाले)को विजय अनिवार्य भएको पनि बताउनुभयो । 

नेपाल प्रगतिशील प्राध्यापक सङ्गठन गण्डकी प्रदेश समितिका निवर्तमान अध्यक्ष शेखरनाथ अधिकारीको अध्यक्षतामा भएको उक्त सम्मेलनमा नेकपा (एमाले) स्थायी समिति सदस्य खगराज अधिकारीले सङ्गठनको सञ्चालनमा विधि र पद्धतिको पालनालाई जोड दिन सुझाव दिनुभएको थियो । 

कार्यक्रममा नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनका केन्द्रीय अध्यक्ष प्रा.डा. वेदराज केसीले सङ्गठनले राष्ट्रिय स्तरमा उठेका विभिन्न सवालहरूमा देशव्यापी रूपमा विषयगत बहस सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । 

कार्यक्रममा नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनका महासचिव डा. पदमप्रसाद खतिवडा, इन्जिनियरिङ अध्ययन संस्थानका पूर्व डीन प्रा.डा.भरत पहारी लगायतले मन्तव्य राख्नुभएको थियो । 

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ९ : २५ बजे