जनताको जीवन सहज बनाउने काममा सरकार पूर्ण रूपमा असफल : महासचिव पोखरेल 

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले वर्तमान गठबन्धनको सरकार थप एक वर्ष कायम रहे मुलुक श्रीलङ्काको बाटोमा जाने बताउनुभएको छ । 

राष्ट्रिय जन सांस्कृतिक महासङ्घले शनिवार काठमाडौँमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा पोखरेलले सरकार अहिलेको अवस्थामा अघि बढे अर्को एक वर्ष विदेशी मुद्राको सञ्चिती शून्य अवस्थामा पुग्ने र मूलक श्रीलङ्काको बाटोमा जाने बताउनुभयो ।

उहाँले मूल्यवृद्धि नियन्त्रण गर्न नसकेको र जनताको जीवन सहज बनाउने काममा सरकार पूर्ण रूपमा असफल भएको बताउनुभयो । 

महासचिव पोखरेलले गठबन्धन मिलेर र एमाले एक्लै स्थानीय तहको चुनाव लड्दा पनि एमालेलाई जनताले अधिक साथ दिएको स्पष्ट पार्नुभयो । उहाँले सत्ताको विरोध र भण्डाफोरलाई तीव्र बनाए आगामी निर्वाचनमा एमालेका पक्षमा अधिकतम जनाधार निर्माण हुने दाबी गर्नुभयो ।

महासचिव पोखरेलले समाजलाई बाटो देखाउने सामर्थ्यलाई परिचालन गरेर पार्टीका पक्षमा जनमत सिर्जना गर्न निर्देशन दिनुभयो । 

एमाले नेताहरू भानुभक्त ढकाल रघुजी पन्त, खगेन्द्र राई लगायतले समसामयिक राजनीतिक अवस्था र सांस्कृतिक समृद्धि सम्बन्धमा प्रशिक्षण दिनुभएको थियो ।

​​​​​​​

महासङ्घका कार्यवाहक अध्यक्ष भूमिका सुब्बाले सङ्गठनले वैचारिक र सांस्कृतिक चेतलाई थप स्पष्ट पार्न कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो​​​​​​

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ८ : २१ बजे