राष्ट्रपति भवनमा घटस्थापना

 प्रतिनिधिसभाको आजको बैठकमा प्रधानन्यायाधीश विरुद्धको महाभियोग प्रस्तावमा छलफल हुँदै

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । 

संसद् सचिवालयका अनुसार  प्रतिनिधिसभाको बैठक आज ११ः०० बजे बैठक बस्न लागेको हो । 

आजको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल अघि बढाइने सम्भावित कार्यसूची रहेको छ ।

पाँच महिनाअघि गत फागुनमा सत्तारुढ दलका सांसदहरूले प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराउनुभएको थियो । प्रधानन्यायाधीश राणाविरुद्ध सत्तारुढ नेपाली काँग्रेस, नेकपा माओवादी र एकीकृत समाजवादीका ९८ जना सांसदले फागुन १ गते संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गराउनुभएको थियो। 

अविश्वासको प्रस्ताव दर्ता भए पनि त्यसमाथि कारबाही हुन नसक्दा यसको आलोचना भइरहेको थियो । प्रतिनिधिसभाको आजको बैठकमा महाभियोग प्रस्तावबारे छलफल हुने संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा जनाइएको छ । 

मिति २०७८ फागुन २९ गतेको बैठकमा मा श्री देवप्रसाद गुरुङले नेपालको संविधानको धारा १०१ को उपधारा (२)एवं प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १६१ को उपनियम (१) बमोजिम प्रस्तुत गर्नुभएको प्रधानन्यायाधीश श्री चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावमाथि छलफल हुने, आजको सम्भावित कार्यसूचीमा भनिएको छ । 

महाभियोग दर्ता भएसँगै फागुन २२ गतेको प्रतिनिधिसभा बैठकले महाभियोग सिफारिस समिति गठन गरेको थियो । समितिमा काङ्ग्रेसबाट मीनबहादुर विक, रामबहादुर विष्ट,  माओवादीबाट यशोदा सुवेदी र रेखा शर्मा हुनुहुन्छ । 

त्यस्तै नेकपा एकीकृत समाजवादीबाट कल्याणी खड्का रहँदा जसपाबाट प्रमोद साह, लोसपाबाट एकवाल मियाँ रहनुभएको छ भने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट समितिमा एमालेका विष्णु पौडेल, लालबाबु पण्डित, शिवमाया तुम्बाहाम्फे र कृष्णभक्त पोखरेल हुनुहुन्छ ।  

 

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ७ : २१ बजे