‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

विदेशीको इशारामा ओली विरुद्ध निरन्तर ‘ग्राण्ड डिजाइन’

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध बनेको सत्ता गठबन्धन अझै लामो समयसम्म लैजान देशी तथा विदेशी तत्त्व लागि नै रहेका छन् ।  

खास गरी आगामी निर्वाचनमा एमालेलाई कमजोर पार्न सकियो भने आगामी पाँच वर्षसम्म आफू अनुकूलको कठपुतली सरकार चलाउन सकिन्छ भन्ने उनीहरूको विश्वास रही आएको छ ।

विभिन्न विदेशी ग्राण्ड डिजाइन अनुसार अहिले ओलीको व्यक्तिगत कलहहरु समेत सुनेर जासुसी भइरहेका समाचारहरू बाहिर आएका छन् । खास गरी नेपालमा बनेका कम्युनिष्ट सरकार नरुचाउनेहरूमा अमेरिका, युरोपियन युनियन र भारत नै हुन्  । नेपालमा घुमिफिरी अमेरिका, युरोपियन युनियन र भारतको समर्थन पाएको राजनीति पार्टी नै सरकारमा बसेको हुन्छ । नेपालको इतिहास हेर्ने हो भने कम्युनिष्ट पार्टीको सरकार कुनै पनि हालतमा टिक्न दिइएको पनि छैन चाहे त्यो मनमोहन अधिकारी, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल होस् वा केपी ओलीको पालो नै किन न होस् । सबै सरकारहरू लामो समयसम्म नटिक्नुमा यिनी विदेशी चलखेललाई लिने गरिन्छ । खासमा नेपालमा सबै भन्दा बढी टिकेको कम्युनिष्ट सरकार भनेको चाहिँ केपी ओली नेतृत्वकै सरकार हो ।

केपी ओली पहिलो पटक २०७२ सालको असोज २२ गतेदेखि २०७३ साउन १९ सम्म प्रधानमन्त्री हुनुभएको थियो । दोस्रो पटक २०७४ फागुन ३ गतेदेखि २०७८ असार २१ गतेसम्म प्रधानमन्त्री रहनुभयो । केपी ओली प्रधानमन्त्री हुँदा दुवै पटक एमाले र माओवादीको संयुक्त सरकार थियो । कम्युनिष्ट नेतृत्वको संयुक्त सरकार ढाल्न त्यतिखेर  विदेशीहरूले प्रचण्डको प्रयोग गरे र दुवै पटक कम्युनिष्ट सरकार ढाल्नमा प्रचण्ड प्रयोग पनि भए । ओलीको सरकार बनेदेखि अनेकौँ मागहरू तेर्स्याएर सरकार सञ्चालनमा अप्ठ्याराहरू पार्दै आएका प्रचण्डले अनेकौँ बाधा र व्यवधान खडा गर्दा पनि सरकार नढलेपछि पार्टी नै विभाजन गराइयो । 

धेरै आरोप, प्रत्यारोप र खुराफातीका बीच केपी ओली नेतृत्वको सरकार ढाले पनि बिस्तारै त्यो सब किन गरिएको थियो भन्ने खुल्दै गएको छ । आखिर कम्युनिष्ट नेतृत्वको सरकार ढालेर देश र जनताले के पाए ?  स्पष्ट छ त्यही एमसीसी, एसपिपी, चर्को मंहगी र भ्रष्टाचार । 

स्पष्ट छ यो बीचमा न महँगी कम भयो, न व्यापार घाटा कम भयो बरु नेपाली रुपैयाँको अवमूल्यन मात्रै भयो । नेपालको वैदेशिक मुद्राको संचिति घट्यो, चालु खाता घाटा ९ प्रतिशत पुग्यो । गठबन्धन सरकारले जताततैबाट देश र जनतालाई घाटा बाहेक केही दिन सकेको छ र ? 

केपी ओली नेतृत्वको सरकार ढालेर सग्लो नेकपा एमालेलाई फुटाएर काँग्रेससँग गठबन्धनमा रहेका नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, झलनाथ खनाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जस्ता पुराना कम्युनिष्ट नेताहरू नै लागेका थिए ।

एमाले विभाजन हुनुमा विदेशीको डिजाइनमा निरन्तर काम गरिरहेका माधव नेपाल जस्ता नेताहरू प्रयोग भएरै सम्भव भएको हो । माधव कुमार नेपाल इण्डो पश्चिमा शक्तिको भरिया भएकै कारण आज एमाले विभाजित हुन पुग्यो  । राष्ट्रियताको रक्षाको लागि खरो रूपमा उत्रिएको पार्टी धूलिसाथ गरेर परमादेशबाट बनेको कठपुतली सरकार बनाई आज सत्तामा हालीमुहाली गरिरहेको गठबन्धन इण्डो पश्चिमाकै आडमा बनेको हो ।

इण्डो पश्चिमा शक्तिको भरिया बनेका माधवकुमार नेपालको मिसनमा ओलीले साथ नदिएपछि ओलीलाई ढालेर इण्डो पश्चिमा शक्तिले नै अहिलेको गठबन्धन सरकार बनाइदिएको छ । पश्चिमा शक्तिले नेपालका नेताहरूलाई आर्थिक प्रलोभन, सत्ताको लोभ र शक्ति आर्जन हुने भनेर  विश्वस्त पार्दै  आफ्नो  एजेन्ट बनाउने गरेका छन् ।

माधव नेपालको मालिक इण्डो पश्चिमा शक्ति भएकै कारण उक्त शक्तिसँग फसिसकेका माधवसँग अरू कुनै विकल्प नभएपछि र आज्ञा पालन गरेकै कारण एमालेलाई विभाजन गराइएको थियो । हिजो माधव नेपाललाई साथ दिंदै आएका नेताहरू अहिले उनको साथमा नहुँदा माधवले के का लागि पार्टी फुटाए त् ? भन्ने प्रश्न समेत उठेको छ । यस बाट पनि के प्रस्ट हुन्छ भने माधव नेपाल पूर्ण रूपमा विदेशबाट सञ्चालित छन् भन्ने कुरा पुष्टि भएकै छ ।

नेकपा हुँदा प्रचण्डले केपी ओली विरुद्ध ल्याएको १९ पन्ने आरोप पत्रबाट नै पार्टी विभाजनको डिजाइन सुरुवात भइसकेको थियो । त्यस बखत ओलीलाई सिध्याउँन प्रचण्ड र माधव विदेशीको मतियार बनिसकेका थिए ।

२०३९ सालमा माधव नेपालले तत्कालीन मालेका महासचिव मैनालीमाथि हुँदै नभएको आरोप लगाउँदै कहिल्यै उठ्न नसक्ने गरी थला पार्ने अपराधको नेतृत्व गरेका थिए भने अहिले केपीलाई पनि सोही किसिमले सिद्ध्याउने खेलमा लागे ।

गठबन्धनका अर्का नेता माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जनयुद्धको समयमा भारतकै शरणमा हुर्केका नेता हुन् । प्रचण्ड भारतसँग सुरुङ युद्ध लड्ने भन्दै जनतालाई मूर्ख बनाउन खप्पिस नेता हुन् । परिवारवादमा रुमलिरहने प्रचण्ड छोरी, ज्वाइँ, घरबेटीसँग बढी आत्मीयता भएका व्यक्ति हुन् । भर्खरै भारत भ्रमणबाट फर्केका प्रचण्ड भारतका सुरक्षा मामिलाकार तथा योजनाकार अजित डोभल जस्ता व्यक्तित्वहरूसँग उनको साठगाँठ राम्रै रहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार रहेका डोभल भारतीय जासुस एजेन्सी ‘रअ’ को रिपोर्टिङ र ब्रिफिङ लिने प्रमुख व्यक्ति हुन् । छिमेकी राष्ट्रहरूसँगको सम्बन्ध कस्तो हुने त्यसको विश्लेषण गरी नीति बनाउने जिम्मेवारी पनि डोभलकै हो । त्यस्तै प्रचण्डको युरोपियन युनियनसँग राम्रै हिमचिम छ । आफ्नो भाषणमा विदेशी हस्तक्षेप नस्विकार्ने भन्दै खोक्रो भाषण दिने प्रचण्ड शान्ति सम्झौताको नाममा युरोपियन युनियनसँग अनेकौँ बैठक बस्ने गरेका छन् । पश्चिमा तथा कांग्रेस आईको शरणमा बसेका  प्रचण्डले जनयुद्धको आडमा नेपाललाई  तहसनहस पारे, पारिरहेका छन्  ।

प्रचण्डले जनयुद्धको नाममा माओवादी सेनाको प्रयोग गरेर संस्कृत शिक्षा हटाउने, संस्कृत पढाउने शिक्षकलाई गोली ठोकेर झुन्ड्याउने र निर्ममतापूर्वक हत्या गर्ने, हिन्दुको मन्दिरमा हमला गर्ने र विदेशीको स्वार्थ पुरा गर्न नेपाललाई रणभूमि बनाए । प्रचण्ड अहिले नेपालमा क्रिश्चियन धर्मको होली वाइनका प्रवर्द्धक माधव नेपालसँग हात मिलाएर र स्वास्थ्य मन्त्री हुँदा पुरै पश्चिम घुमेर आर्थिक अपचलन गर्ने उपेन्द्र यादवसँग गठबन्धन गरेका छन्।

नेपालमा धर्म मास्ने, नेपाली परम्परा संस्कृति निमिट्यान्न पार्ने, बाह्य प्रभाव बढाउने, आत्मनिर्भर होइन परनिर्भर बनाउने, पलायन हुन बाध्य पार्ने, राष्ट्रिय एकता खलल पार्ने कामको सुरुवात प्रचण्डबाट नै भएको हो । भारतको कांग्रेस आइले पश्चिमासँग मिलेर माओवादीलाई प्रयोग गरेर नेपालबाट सनातन धर्म फाल्न लगाएको थियो । नेपालमा धर्म मास्ने कामको सुरुवात गरेको माओवादीलाई करेक्सन गर्न र धर्मको जगेर्ना गर्ने काम नेकपा  एमालेका  अध्यक्ष केपी शर्मा ओलीले गरिरहनु भएको छ । ओलीको कदमहरूमा उनीहरू चिन्तित छन् र बाहिरबाट ओली विरुद्ध दबाब सिर्जना गर्न भारतीय र नेपाली बुद्धिजीवीहरू प्रयोग भइरहेका छन् । नेपालको धर्म संस्कृति सनातन परम्पराको रक्षा  गर्दा ओलीलाई सिद्ध्याउने, देशलाई परनिर्भर बनाउने, जातीय अस्थिरता मच्चाउने र देशभित्र विकृति भित्र्याउने कामको नेतृत्व प्रचण्डले गरिरहेकै छन् ।

अध्यक्ष ओलीले पशुपतिनाथमा गरेको पूजा, सुनको ज्वलहरी चढाउने कार्य र राम मन्दिर बनाउने घोषणा पश्चात् भारतका इयुसम्वद्ध समूहहरू एक भएर ओलीविरुद्ध आक्रामक भएका हुन् ।

मधेसमा क्रिश्चियानिटी बढावा दिने, विभिन्न एनजिओ लगेर सशक्तीकरणको नाममा धर्मान्तरण गर्ने, मधेसमा युवाहरू उचालेर आन्दोलन गराउने, अस्थिरता मच्चाउने पश्चिममा अभियानहरुमा पूर्व राजदूत विजयकान्त कर्ण, प्रदेश २ का मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा, आफूलाई विश्लेषक भन्ने तुलानारायण साह र सिके लालहरू पनि सक्रिय छन् ।

नेपाली हिन्दुहरूको संस्कृति, आस्था र परम्परालाई सिद्ध्याउने, सनातन धर्म मासेर द्वन्द्व मच्चाएर स्वार्थपूर्ति गर्ने काममा पश्चिमा एजेन्टहरू सक्रिय छन् भने त्यसका विरुद्ध ओली एक्लै भिडिरहनु भएको छ । 

असाध्यै अलोकप्रिय भए पनि वर्तमान गठबन्धन सरकारलाई टेको लगाएर थेगिएको छ । मृत्यु शैयामा पुग्न लागेको गठबन्धनलाई  दिल्लीमा प्रचण्ड र आरजुलाई बोलाएर आलोपालो  प्रधानमन्त्री बन्ने सहमति गराएर आगामी मङ्सिर ४ मा हुन लागेको निर्वाचनसम्म लैजाने वातावरण बनाइएको छ । चर्चामा आएका करका दर हेरफेर र सिसिटिभी फुटेज डिलिट काण्डले  पुरै गनाइसकेको वर्तमान गठबन्धन जाल साँची पूर्ण रचिएको छानबिनरूपी सुनपानी छर्किएर आफूलाई चोख्याउँदै आगामी निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न न्वारनदेखिको बल गठबन्धनले प्रयोग गरिरहेको छ । पुरै सत्ताको दुरुपयोग गर्न अलिकति पनि नहिचकिचाउने देउवा मण्डलीको निर्लज्ज गठबन्धनलाई तत्काल काउन्टर दिन आगामी निर्वाचनमा जनता चुक्नु हुन्न ।   

नेकपा एमाले र त्यसका अध्यक्ष केपी ओलीले देखाउनुभएको राष्ट्रियताको अडान र सुखी नेपाली समृद्ध नेपालको सपनालाई जनजनमा पुर्‍याएर मात्र वर्तमान गठबन्धनलाई पाहालाई पछारेजस्तै पछार्न सम्भव छ । 

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  ६ : ३३ बजे