‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

गोदावरीमा निःशुल्क रूपमा नागरिकलाई रेबिजको भ्याक्सिन लगाइने

ललितपुर । गोदावरी नगरपालिकाका केही स्वास्थ्य संस्थाले निःशुल्क रूपमा नागरिकलाई रेबिजको भ्याक्सिन (सुई) लगाउने  भएको छ । 

कुनै पनि व्यक्तिलाई कुकुरले टोकेमा सो रोगबाट जोगाउन नगरपालिकाले उक्त खोपको व्यवस्था गरेको हो । 

गोदावरी–५ स्थित लेले प्राथमिक स्वास्थ्य केन्द्र, वडा नं ११ को बज्रवाराही चापागाईँ अस्पताल र वडा नं १४ को बाडेगाउँ प्राथमिक स्वास्थ्य केन्द्रबाट उक्त खोप दिइने गोदावरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख लालबहादुर थापाले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “नगरवासीको स्वास्थ्य सेवामा पहुँच पुगोस् भनेर हामीले खोपको व्यवस्था गरेका हौँ ।” सो खोप गोदावरीका मात्र नभई अन्य पालिकाका नागरिकलाई समेत निःशुल्क लगाइने थापाले बताउनुभयो । 

स्वास्थ्य सेवा विभागको सहयोगमा जिल्ला स्वास्थ्य कार्यालय ललितपुरको पहलमा ललितपुरका ६ पालिकामध्ये गोदावरीमा सो खोपको  व्यवस्था गरिएको स्वास्थ्य कार्यालयका प्रमुख डा सतिश विष्टले बताउनुभयो । 

उहाँले भन्नुभयो, “गोदावरीमा रेबिजबाट कोही पनि सङ्क्रमित नहुन् भनी भ्याक्सिनको व्यवस्था गरेका हौँ ।” यसअघि ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अर्थात् पाटन अस्पतालमा मात्र उक्त खोपको व्यवस्था थियो । कुकुरले टोकेमा रेबिजको भ्याक्सिन सुरुको दिनमा दुई मात्रा, लगाएको तीन दिनमा दुई मात्रा र सातौँ दिनमा दुई मात्रा लगाउनुपर्ने हुन्छ । रासस

 

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  ९ : ५९ बजे