‘नेशनल डे कन्सर्ट’ सम्पन्न

निर्वाचन : गठबन्धनको बाध्यताबाट मुलुकलाई मुक्त गर्ने अवसर

मङ्सिर ४ गतेका लागि प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा भएको छ । निर्वाचन लोकतन्त्रको मेरुदण्ड हो । कुनै प्रकारको विघ्न बाधा आइ नलागे निर्वाचन हुने छ र गठबन्धनको लाचार राजनीतिक बाध्यताबाट मुलुक मुक्त हुनेछ । निर्वाचनकै माध्यमबाट जनताले आफ्नो लागि नीति निर्माण गर्ने, शासनको नेतृत्व गर्ने, वैदेशिक सम्बन्धलाई राष्ट्रको अनुकूल बनाउने, सार्वभौमिकता तथा भौगोलिक अखण्डताको रक्षा गर्ने, अर्थतन्त्रलाई ठिक बाटोमा डोर्‍याउने, मुलुकको सर्वाङ्गीण विकासको दृष्टिकोणसहित ‘समृद्ध नेपाल र सुखी नेपाली’को आकाङ्क्षा पूरा गर्ने दिशामा समग्र नेतृत्व गर्ने राजनीतिक शक्ति निर्माण गर्ने हो । 

बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीमा दलको भूमिका महत्त्वपूर्ण हुन्छ । दलका दृष्टिकोण र विचार हुन्छ । दृष्टिकोण र विचारको भिन्नताकै कारण दलहरू फरक हुन्छन् । फरक फरक दलहरूबीच हुने प्रतिस्पर्धा नै निर्वाचन हो । निर्वाचन वैचारिक काम र विचारको पक्षपोषण हो । पार्टी पद्धतिमा व्यक्तिको भूमिका महत्त्वपूर्ण हुने भए पनि विचार तथा दलकै भूमिका सर्वोपरि हो । दलको स्वार्थ दीर्घकालीन हुने भएको हुनाले र कुनै पनि गल्तीको असर र प्रभाव देशभरि पर्ने भएको हुँदा दलले आफ्ना जनप्रतिनिधिहरूका लागि अनुशासन र आचारसंहिता निर्माण गरी लागू गर्दछ । यसरी दलहरूले जबाफदेहिता लिएका हुन्छन् । त्यसैले दल रोज्दा पनि उसले लिएको नीति, विचार र विगतमा रहेको उसको भूमिका हेर्नुपर्दछ । यस्तो समयमा झिना—मसिना विषयमा अल्झेर असल पार्टीलाई रोज्ने अवसर गुमाउनु हुँदैन ।

यस्तो बेलामा ‘जो आए पनि हाम्रो दुःख हामीसँगै हुने हो, कसैले चुल्हो बालिदिने होइन, हामी दुःख जिलो गरेर बाँच्नेलाई कुन चाहिन्छ र ?’ आदि विषय उछालिने गर्छ र केही सानातिना कामको निकै प्रचार गरेर दीर्घकालीन प्रकृतिका कामलाई ओझेल पार्ने प्रयत्न हुन्छ । त्यसैले निर्वाचनको तयारी वास्तवमा जनताले—मतदाताले गर्नुपर्ने हुन्छ । आफ्ना जनप्रतिनिधि शासक नबनुन्, सेवक बनुन् भन्ने विषयमा गहिरो सोचविचार गर्नुपर्ने हुन्छ । 

राजनीतिक दलले पनि आफ्ना घोषणापत्रमार्फत राष्ट्रिय हित तथा जनताका सुख सुविधाका लागि जे जति र जसरी गर्न सकिने हो, त्यो र त्यसरी गरिने वाचा गर्नुपर्दछ । विगतका केही शैलीगत कारणहरूले गर्दा दलहरूप्रति जनतामा वितृष्णा बढेको छ । स्वतन्त्रको हौवा बढेको छ । आज स्वतन्त्रहरूले स्वतन्त्रै रूपमा प्रतिस्पर्धा गर्न र दलहरूलाई ललकार्न पाएको पनि यो दलीय व्यवस्था भएकै कारणले हो र यसका लागि केही दलहरूको ऐतिहासिक भूमिका रहेको छ । 

त्यसैले दलहरूलाई जनताका पक्षमा, मुलुकका पक्षमा राम्रो गर्नका लागि दबाब दिने कामसँगै दलीय व्यवस्थालाई बल पुर्‍याउनुपर्ने हुन्छ । दल र दलका नेताहरूले पनि यस्ता विषयमा खास ध्यान दिनुपर्ने आवश्यकता छ । मुलुकका सबै राजनीतिक शक्तिहरूको सहअस्तित्वलाई स्वीकार र सम्मान गर्ने, खास उद्देश्यका लागि लचक हुने विषय अस्वाभाविक हुँदैन । 

तर विचार, सिद्धान्त, दृष्टिकोण, आन्दोलनको परम्परा नै नमिल्ने शक्तिहरूबीच साँठगाँठ गरेर राजनीतिक गठबन्धन गरी हरेक कुरामा नकारात्मक सम्झौता गर्ने राजनीतिक शक्तिहरू वास्तवमा राजनीतिक स्थिरताका पक्षधर हुन सक्दैनन् । सिद्धान्तहीन गठ जोडले मुलुकको विकास अझ अलमलिन्छ भन्ने कुरा अहिले हामीले भोगिरहेको गठबन्धनका नेताहरूले व्यक्त गरेका विचारहरूबाट स्पष्ट छ । 

जनताले ‘यसो किन भएन सरकार ?’ भनेर प्रश्न गर्दा आउने उत्तर हो, ‘गठबन्धनको बाध्यता ।’ जनताको प्रश्न हुन्छ, ‘यस्तो किन भयो सरकार ?’ फेरि पनि आउने उत्तर उही हो, ‘गठबन्धनको बाध्यता ।’ यस्तो अवस्थाको विकल्प राजनीतिक दलहरूले पनि खोज्नुपर्दछ र यस्तो बाध्यताबाट हामी र हाम्रो देशलाई मुक्त गर्ने अवसरका रूपमा आएको निर्वाचनमा बुद्धि पुर्‍याउने जिम्मेवारी मतदाताको हो । 

निर्वाचनका सन्दर्भमा ध्यान दिनुपर्ने विषय अनेकौँ छन् । देशमा ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका, सामाजिक दृष्टिले पछाडि पारिएका, विपन्नहरूका लागि सामाजिक सुरक्षाका कार्यक्रमहरू ल्याउने र राजनीतिक तथा सामाजिक आन्दोलनहरूका उपलब्धिहरूलाई संस्थागत गर्ने, आर्थिक स्रोतसहित स्थानीय विकासको संरचनालाई सबल बनाउने, समग्र विकासका लागि यातायात र सञ्चारका क्षेत्रमा मुलुकलाई अघि बढाउने योजना ल्याउने राजनीतिक शक्ति कुन हो भनेर विचार पुर्‍याउने अवसर पनि निर्वाचन नै हो । 

देशको भूगोल सच्याउने, दुवैतिरका छिमेकीहरूका संवेदनशीलताको ख्याल गरी असंलग्नताको नीतिमा दृढतापूर्वक उभिएर समनिकताको सम्बन्ध हुर्काउने काम र ती कामहरूको नेतृत्व गर्ने राजनीतिक दलको उचित मूल्याङ्कन गर्ने अवसर पनि निर्वाचन नै हो । 

निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न पार्ने जिम्मेवारी राज्यको हो, सरकारको हो । यसको दुरुपयोग हुन सक्ने पनि सरकारबाट नै हो । यस्तो अवस्थामा सम्पूर्ण रूपमा सबै मतदाताहरू हरेक हिसाबले सावधान, सचेत र जिम्मेवार हुन आवश्यक छ । मङ्सिर ४ मा हुने निर्वाचनका लागि सबैले आ -आफ्नो ठाउँबाट जिम्मेवार भूमिका निर्वाह गरौँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप बलियो पार्न, हामी सबै देशबासीको हितमा सदुपयोग गर्न निर्वाचनमा मतको सदुपयोग गर्न अहिलेदेखि नै चिन्तन मनन गरौँ ।  

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  ८ : ३० बजे