काठमाडौँ विश्वविद्यालयमा स्नातकोत्तर तहमा सञ्चार अध्ययन

काठमाडौँ । काठमाडौँ विश्वविद्यालयले अन्य विश्वविद्यालयले भन्दा पृथक् पाठ्यक्रममा आधारित रहेर स्नातकोत्तर तहमा सञ्चार अध्ययन (मास्टर्स इन मिडिया स्टडिज) कार्यक्रम सुरु गरेको छ ।

विगत १६ वर्षदेखि सो विषयमा स्नातक कार्यक्रम सञ्चालन गर्दै आएको विश्वविद्यालयको मानविकी सङ्कायअन्तर्गत भाषा तथा आमसञ्चार विभागले यसै शैक्षिक सत्रदेखि सञ्चार उद्यमशीलता, व्यवस्थापन र विशिष्टताका आयामहरू अध्यापनका लागि स्नातकोत्तरको भर्ना आह्वान गरिएको विभागका प्रमुख डा सुधाम्शु दाहालले जानकारी दिनुभयो । 

एक शैक्षिक सत्रमा २० विद्यार्थीसम्म रहने यो तहमा एसियाको मौलिक परम्परा, संस्कृति, चलचित्र र प्रविधिलाई आधारशिला मानेर सञ्चारमाध्यमका विभिन्न आयामको अध्ययन हुनेछ । 

विश्वविद्यालयका सहप्राध्यापक डा निर्मलमणि अधिकारीले उक्त तहमा एक चौथाइ अनुसन्धानसहित प्राविधिक सीप र सैद्धान्तिक ज्ञानको सम्मिश्रण हुने र उत्पादित जनशक्ति अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने र रोजगारमूलक हुने बताउनुभयो । 

सो तहमा अध्ययनका लागि रु चार लाखसम्म शुल्क लाग्ने र कुल विद्यार्थीको २० प्रतिशतसम्म छात्रवृत्ति दिइने दाहालले बताउनुभयो ।रासस

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  ७ : ०८ बजे