देश र जनताको अवस्था बदल्न एमाले ठुलो पार्टी हुनु आवश्यक : महासचिव पोखरेल

तुलसीपुर । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले देश र जनताको अवस्था बदल्न एमाले पहिलो शक्ति हुनुपर्ने बताउनुभएको छ ।

नेकपा एमाले तुलसीपुर नगर कमिटीले बुधवार आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले पहिलो पार्टी बनाउन कार्यकर्ता खट्नुपर्ने बताउनुभयो ।  

वर्तमान गठबन्धनका कारण देशको अवस्था जर्जर भएको, आर्थिक अवस्था कमजोर भएको हुँदा अब यसको विकल्प खोज्ने बेला आएको उहाँले बताउनुभयो । 

नेकपा एमाले बलियो राष्ट्रिय शक्ति निर्माणको अभियानमा रहेको चर्चा गर्दै उहाँले पार्टीलाई थप क्रियाशील बनाउन कार्यकर्तालाई निर्देशन दिनुभएको थियो । 

पार्टीका विरुद्ध घेराबन्दी भइरहेको बताउँदै महासचिव पोखरेलले त्यसलाई चिर्नका लागि सङ्गठनलाई सक्रिय बनाउन आग्रह गर्नुभयो ।

महासचिव पोखरेलले वर्तमान सरकार निर्वाचनको मिति घोषणा गर्न आनाकानी गरिरहेको बताउँदै निर्वाचनको मिति तत्काल घोषणा गर्न माग गर्नुभयो । उहाँले सङ्गठन निर्माणको कामलाई टोल स्तरमा लैजान निर्देशन दिँदै बैठक र प्रशिक्षणलाई पनि टोलसम्मै पुर्‍याउन आग्रह गर्नुभयो ।

स्थानीय तहको निर्वाचनमा पार्टी एक्लै चुनावी अभियानमा हुँदा पनि मतदाताले उल्लेख्य माया गरेको स्मरण गर्दै सङ्घीय र प्रदेशको निर्वाचन मार्फत एमाले पहिलो शक्ति हुने विश्वास व्यक्त गर्नुभयो ।

पार्टीभित्र अहिले पनि अवसरवादको खोजी गर्ने नेता, कार्यकर्ता भएको उल्लेख गर्दै महासचिव पोखरेलले निर्वाचनमा देखाई दिन्छु भन्ने भावनाले पनि स्थानीय निर्वाचनमा हराउन भूमिका खेलेको बताउनुभयो ।

कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य नरुलाल चौधरीले वर्तमान परिस्थिति र आगामी कार्यभार, केन्द्रीय सदस्य घनश्याम पाण्डेले समृद्धि र समाजवादको आधार निर्माणमा हाम्रो भूमिका र प्राध्यापक सुन्दर गौतमले स्थानीय जनप्रतिनिधि र कार्यकर्ताको सम्बन्ध र कार्यशैलीका विषयमा प्रशिक्षण दिनुभएको थियो । 

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहिबार  ९ : १४ बजे