राष्ट्रपति भवनमा घटस्थापना

कोसीको बाढीले विस्थापित दुई हजार चार सय परिवारको उद्धार

उदयपुर । उदयपुरको बेलका नगरपालिका– ८ डुम्रीबोटे लाहुरे खोँचबाट सप्तकोशीले धार परिवर्तन गरेर पश्चिम तटीय क्षेत्रका गाउँमा पसेपछि प्रभावित भएका २ हजार ४ सय घर परिवारको उद्धार गरिएको छ ।

बाढीमा फसेका बेलका नगरपालिका– ३ र बराह क्षेत्र नगरपालिकाका ६ र ९ का २ हजार ४ सय घरधुरीलाई सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना स्थानीयवासीको सहयोगमा ५ वटा बोटबाट उद्धार गरिएको सशस्त्र प्रहरी बल ५ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक कृष्णराज अधिकारीले जानकारी दिनुभयो । 

बिहानदेखि साँझसम्म उद्धार जारी रहेकोले छुटेका बाँकी रहकाहरुको खोजी भइरहेको सशस्त्र प्रहरी उपरीक्षक अधिकारीको भनाई रहेको छ । मानवीय क्षति भने नभएको सशस्त्र प्रहरी उपरीक्षक अधिकारीको भनाई रहेको छ । 

कोसी पस्न सक्ने भएकाले अघिल्लो दिन नगरपालिकाले सबै वडामा माइकिङ गरी सुरक्षित स्थानमा जान आग्रह गरेकाले पनि मानवीय क्षति नभएको नगर प्रमुख अशोक कार्कीले बताए । बाढीबाट करिब २५ हजार मानिस प्रभावित भएको उहाँको भनाइ छ । 

सप्तकोसी नदी ३४ वर्षपछि पुरानै धारमा फर्किँदा सुनसरी, उदयपुर र सप्तरीका बस्तीहरू प्रभावित भएका हुन् । सप्तकोसीले कटान गरेपछि सुनसरीको बराह क्षेत्र नगरपालिका, उदयपुरको बेलका, सप्तरीको सप्तकोसी र कञ्चनरूप नगरपालिकाका केही बस्ती प्रभावित भएका हुन् ।

सप्तकोसीले धार परिवर्तन गरी आएको स्थान भनेको नदीको पुरानै स्थान हो । २०४५ सालको भूकम्पपछि सप्तकोसीले बिस्तारै धार परिवर्तन गरेर पूर्वतर्फ लागेको थियो । कोसी पूर्व फर्केपछि त्यहाँ २०५१ सालपछिबाट बस्ती बस्न थाल्यो । अहिले कोसीले धार बदलेर पुरानै ठाउँमा आउँदा पछि बसेका बस्ती प्रभावित भएका हुन्  ।

  कोसीले उदयपुरको बेलका नगरपालिका २, ३, ८ र ९ सुनसरीको बराह क्षेत्र नगरपालिका ६ र ९ सप्तरीको सप्तकोसी नगरपालिकाको ६ र ७ कञ्चनरुप नगरपालिकाको १, २, ४, ५ र १० प्रभावित भएका छन् । 

बाढीमा फसेकाहरूको उद्धार कार्य जारी रहेको  प्रमुख जिल्ला अधिकारी बिरेन्द्रकुमार यादवले भन्नुभयो, “साँझ सम्म प्रभावित सम्पूर्णलाई उद्धार गरिन्छ । उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीय खटिएका छन् । बेलका नगरपालिका–८ डुम्रिबोटेबाट झन्डै २ सय मिटर जमिन कटान गरी कोसी गाउँ पसेको हो । बुधवार बिहान ४ बजे पसेको कोशीले बेलका नगरपालिका २, ३, ८ र ९ तथा सुनसरीको वराहक्षेत्र नगरपालिका ६ र ९ का ४ हजार ५ सय परिवार विस्थापित भएका छन् ।” उद्धार गरिएका घर परिवारलाई उच्च स्थानमा रहेका विद्यालय, सामुदायिक भवन, मन्दिर तथा चर्चमा राखिने प्रजिअ यादवले बताउनुभयो ।

बेलका नगर प्रमुख अशोक कार्कीले प्रभावित क्षेत्रमा कोसीको बहाव झन् बढेको बताउनुभयो । नगर प्रमुख कार्कीले भन्नुभयो, “अहिले नगरको ८ र ९ वडाको केही भाग साथै ३ नम्बर वडाको अधिकांश भाग डुबानमा परेको छ । डुबानको क्रम बढ्दै गएकोले प्रभावित क्षेत्रका सर्वसाधारणलाई सुरक्षित स्थानमा ल्याउने काम भइरहेको छ ।” 

अविरल बर्सातसँगै आएको बाढीले सप्तकोसी नदीमा पानीको बहाव बढेपछि उदयपुरको बेलका नगरपालिका–८ लाहुरे खोच डुम्री बोटमा कटान गरी कोसी गाउँ पसेको हो । 

प्रभावित क्षेत्रका स्थानीय घरमा भएको खाद्यान्न, लत्ताकपडा र बस्तुभाउ लिएर सुरक्षित स्थानतर्फ गइरहेको वडा नम्बर ३ का सदस्य फागुन कार्कीले बताउनुभयो । 

अहिलेकै अवस्थामा कोसीको बहाव बढ्दै गए सप्तरीको सप्तकोसी नगरपालिकाका ६ र ७ नम्बर वडामा समेत असर गर्ने सम्भावना रहेको नगर प्रमुख कृष्ण ढकालले बताउनुभयो । त्यसका लागि सतर्कता अपनाउन थालिएको उहाँले बताउनुभयो ।

त्यसैगरी, सप्तरीकै कञ्चनपुर नगरपालिकाका १, २, ४, ५ र १० नम्बर वडा पनि प्रभावित हुने अनुमान गरिएको छ । 

बेलका नगरपालिका– ३ का अध्यक्ष टङ्कप्रसाद आचार्यका अनुसार बाढीले बेलकामा मात्रै करिब २० हजार मानिस प्रभावित भएका छन् ।  बेलका–३ मा मात्र ९ सय घर प्रभावित हुने अध्यक्ष आचार्यले जानकारी दिनुभयो। 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अस्थायी बाँध बनाए पनि बाढीले कटान गरी कोसी गाउँ पसेको हो । बाढी प्रभावितहरू अहिले आफन्तका घरमा आश्रय लिइरहेका छन् । 

डुबानबाट प्रभावित स्थानीयबासीहरुलाई उद्धारका लागि जिल्ला प्रहरी कार्यालय उदयपुर, इलाका प्रहरी कार्यालय रामपुरठोक्सिला र प्रदेश प्रहरी गण विराटनगर समेतबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी परिचालन गरिएको छ  । 

त्यसैगरी सशस्त्र प्रहरी ५ नम्बर गण रातमाटे, सशस्त्र प्रहरी बाहिनी अड्डाका विपद् जोखिम प्रतिकार्य टोली, नेपाली सेना लगायतले आ आफ्नो बोट लिएर उद्धारमा खटिएका छन् ।

डुबान प्रभावित क्षेत्रको १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की, भौतिक योजना तथा पूर्वाधार विकास मन्त्री हिमाल कार्की, १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरी, सशस्त्र प्रहरी बल बराह बाहिनी पकलीका सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरी, २ नम्बर बाहिनी इटहरीका सहायक रथी सन्तोषराज पाण्डे, जिल्ला प्रशासन कार्यालय उदयपुर, सुनसरी र मोरङका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखहरू बराह क्षेत्र, बेलका, कन्चनरुप र सप्तकोसी नगरपालिका नगर प्रमुखहरू समेतले  स्थलगत अवलोकन गरेको छ । 

अवलोकनपछि प्रदेश १ का मन्त्री द्वय, सुनसरी, मोरङ र उदयपुर जिल्लाको प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायको प्रमुख नगर प्रमुखहरूको बेलका नगरपालिकामा प्रदेश विपद् व्यवस्थापन समितिको बैठक बेलका नगरपालिकामा बसेको थियो । 

बैठकले तत्काल बाढीमा फसेकाहरूलाई उद्धार र राहत उपलब्ध गराउने राहत उपलब्ध गराउँदा एकद्धार प्रणालीबाट उपलब्ध गराउने निर्णय गरेको छ । 

 

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहिबार  ८ : ४८ बजे