बाढीको स्थितिमा सुधार

संयुक्त राष्ट्रसङ्घीय महासचिव गुटर्रेस एसियाली देशको भ्रमणमा जाँदै

संयुक्त राष्टसंघ ।  संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटर्रेस एसियाली देशहरुको भ्रमणमा जान लाग्नुभएको उहाँका प्रवक्ताले बताउनुभएको छ । उहाँको प्रवक्ता स्टेफान डुजारिकले सो भ्रमणका बारेमा जानकारी दिनुभएको हो । प्रवक्ता डुजारिकले महासचिव गुटर्रेस जापान, मंगोलिया र दक्षिण कोरियाको भ्रमणमा जान लाग्नुभएको बताउनुभएको हो ।

महासचिव गुटर्रेस बिहीबार जापानका लागि प्रस्थान गर्नुहुने छ । जापानमा उहाँले हिरोसिमामा आयोजना हुने शान्ति स्मारक समारोहमा सहभागी हुनुहुने छ ।

महासचिवका प्रवक्ता डुजारिकले जापानको हिरोसिमामा हरेक वर्ष अगष्ट ६ तारिखमा आयोजना हुने सो शान्ति सम्मेलनमा उहाँ सहभागी हुनुहुने कार्यक्रम तय भएको जानकारी दिनुभयो ।

महासचिव गुटर्रेस जापानमा रहँदा त्यहाँका प्रधानमन्त्री फुमियो किसिदाका साथै अन्य विशिष्ठ सरकारी अधिकारीहरुसँग पनि भेटवार्ता गर्नुहुने बताइएको छ ।

उहाँले त्यस अवसरमा दोस्रो विश्वयुद्धका क्रममा सन् १९४५ मा भएको हिरोसिमा र नागासाकी हमलाका पीडितहरुसँग पनि भेटघाट गर्नुहुने कार्यक्रम रहेको बताइएको छ ।

जापानपछि उहाँ मंगोलिया र त्यसपछि दक्षिण कोरियाको भ्रमणमा जानुहुने उहाँका प्रवक्ता डुजारिकले जानकारी दिनुभएको छ । 

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  १२ : १९ बजे