राष्ट्रपति भवनमा घटस्थापना

बाँकेको कारागारमा पैसा उठाएर बोरिङ जडान

नेपालगञ्ज ।  जिल्ला कारागार बाँकेमा पानीको समस्या भएपछि त्यहाँ रहेका कैदी–बन्दीले पैसा उठाएर बोरिङ जडान गरेका छन् । क्षमताभन्दा बढी बन्दी भएकाले पिउने, लुगा धुने र नुहाउने समस्या भएपछि त्यहाँ रहेका कैदी–बन्दीले दुई हर्स पावरको बोरिङ रकम उठाएर सञ्चालनमा आएको कारागारका जेलर रामकुमार सोनखरले जानकारी दिनुभयो । 

“एक हर्स पावरको बोरिङ कारागार कार्यालयमा थियो, अर्को दुई हर्स पावरको कैदी–बन्दीले दिएको रकमबाट जडान गरी पानीको समस्या समाधान गरिएको छ”, उहाँले भन्नुभयो । दुई बोरिङ जडान भएपछि पानीको समस्या समाधान भएको उल्लेख गर्दै सोनकरले अहिले जुनबेला चाह्यो त्यतिबेला नुहाउन, लुगा धुने सुविधा भएको बताउनुभयो । 

कारागारभित्र संरचना बन्दै 

जिल्ला कारागार भित्रको काम पनि कैदी–बन्दीले नै गर्ने व्यवस्था मिलाइएको छ । कारागारमा रहेका कैदी–बन्दीलाई ब्लक इँटा बनाउने तालिम दिएर उनीहरुले उत्पादन गरेका ब्लक इँटाले शौचालय र पर्खाल निर्माण गरिएको छ । 

आयस्रोत बढाउन कारागारभित्र निर्माण गरिने संरचना, सडक पिसिसी र शौचालयको ट्याङ्की मर्मत तथा सफाइमा समेत कैदी–बन्दीलाई अवसर दिइएको छ । कैदी–बन्दीको सहमतिबमोजिम बाहिरका ज्यामी र मजदुरभन्दा अलि थोरै ज्याला दिएर काममा लगाउने गरिएको जेलर सोनकरले बताउनुभयो ।  “एकातिर कैदी–बन्दीले रोजगार पाएका छन्, अर्कोतर्फ कारागारलाई बाहिरबाट ज्यामी र मजदुर ल्याउने झन्झट हटेको छ”, उहाँले भन्नुभयो ।  उहाँले कारागारभित्रका संरचना निर्माण र रङ्गरोगनसमेत कैदीले गरेको स्पष्ट पार्नुभयो । 

यस्तै बाँके जिल्ला कारागारमा रहेका कैदी–बन्दीलाई सुत्न, बस्न समस्या भएको छ । क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी राखेका कारण सुत्न, बस्न समस्या भएको हो । कूल तीन सय ५० जना अट्ने कारागारमा पछिल्लो समय सात सय ५६ कैदी–बन्दी रहेको जेलर रामकुमार सोनखरले बताउनुभयो । उहाँले महिला थुनुवा आए बर्दिया कारागार पठाउने गरेको बताउँदै पुरुष र महिला कैदी आए सम्बन्धित जिल्ला कारागारमा पठाउने गरिएको जानकारी दिनुभयो । 

तत्कालीन सरकारले त्यतिबेलाको चापलाई दृष्टिगत गरी विसं २०२० मा बनाएको १७ कोठे भवनमा अहिले सात सय ५६ कैदीबन्दी बस्दै आएका छन् । कैदी–बन्दी थोरै भएकाले सोहीअनुसार निर्माण गरिएको भवनमा अहिले खचाखच गरी बसाल्न परेको जेलर सोनखरले बताउनुभयो । “ठाउँ नभएर एउटा कोठामा ६०–६५ जना कैदी–बन्दीलाई राख्न परेको छ”, उहाँले भन्नुभयो । 

जिल्ला कारागारमा सबैभन्दा धेरै तीन सय लागूऔषध मुद्दाका कैदी–बन्दी रहेका छन् । तीमध्ये जबर्जस्ती करणीका एक सय १०  र अन्य अपराधमा सजाय पाएका कैदी रहेको कारगारले जनाएको छ । 
 

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  २ : १६ बजे