कास्की । पोखरा महानगरपालिका –१३ को कमलपोखरी सपासका बस्तीका एक सय घर डुबानमा परेका छन् ।
आइतबारदेखिको अविरल वर्षाले पोखरा महानगरपालिका –१३ का बस्तीहरूमा पानी भरिएर जलमग्न हुँदा एक सयभन्दा बढी घर डुबानमा परेको हो ।
काहुँखोलाबाट आएको पानीले उक्त क्षेत्र डुबान परेको हो । कमलपोखरीको सिमसार क्षेत्रमा केही वर्षयता निकै धेरै सङ्ख्या घरहरू निर्माण भएका छन् । सिमसारमा घर निर्माण हुँदा पानीको निकास रोकिएको छ ।
पोखरा महानगरपालिका- १३ का वडाध्यक्ष किरण बरालले जमेको पानी निकास काहुँखोला र दुई कुलाको मुहानतिर खोल्न लागेको बताउनुभयो ।
गए रातीदेखि परेको अविरल वर्षाले कास्कीमा खतराको तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पोखराको कास्कीमा भारी वर्षा भएको छ ।
पछिल्लो २४ घण्टामा कास्कीमा सबैभन्दा धेरै ३२२.८ मिलिमिटर वर्षा मापन भएको छ । यहाँ १२ घण्टामै ३१३ मिलिमिटर पानी परेको विभागले जनाएको छ । जबकि २४ घण्टामा १४० मिलिमिटर र १२ घण्टामा १२० मिलिमिटरभन्दा धेरै पानी पर्नुलाई खतरा मानिन्छ ।
प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार ११ : ५० बजे
प्रतिक्रिया