पहिरोले डुम्रे– बेँसीसहर सडक खण्ड अवरुद्ध

लमजुङ । लगातारको वर्षाका कारण पहिरो जाँदा डुम्रे–बेँसीसहर सडक खण्डअन्तर्गत उदीपुर सडक खण्ड अवरुद्ध भएको छ । 

आइतबार  राति देखिको निरन्तर वर्षाका कारण पहिरो जाँदा गए रातिदेखि  नै उक्त सडक खण्ड अवरुद्ध भएको हो ।

बेँसीसहर नगरपालिका– १ उदीपुरको देउराली डाँडामा गएको पहिरोका कारण सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । अहिले पनि वर्षा भइरहेकाले उदीपुरमा ढुङ्गासहित लेदो आएर सडक अवरुद्ध भएको छ । 

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख कृष्णबहादुर कार्कीका अनुसार उदीपुर सडकको वैकल्पिक रूपमा रहेको नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदीपुर बजार जोडिने भागमा माथिबाट लेदो आएर सडक अवरुद्ध बनेको हो ।

सडक खण्ड अवरुद्ध हुँदा बेँसीसरहबाट गएका सवारीसाधन बेँसी सहरतर्फ र डुम्रेबाट आएका डुम्रेतर्फ नै रोकिएका छन्।  पानी परिरहेकाले सडकको पहिरो पन्छाउन कठिनाइ भएको डुम्रे–बेँसीसहर–चामे योजना सडक कार्यालय लमजुङले जनाएको छ । यस सडकको दूरी ४२ किलोमिटर छ ।

गत वर्ष र असार पहिलो साताको पहिरोले डुम्रे–बेँसीसरहको देउराली डाँडाको सडक नै बगाएपछि उक्त स्थानबाट वैकल्पिक सडकको रूपमा सञ्चालन हुँदै आए पनि यस खण्डसमेत पटक–पटक पहिरोले अवरुद्ध हुँदै आएको छ ।

 

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ८ : १५ बजे