राष्ट्रपति भवनमा घटस्थापना

खोटाङ भूकम्प अपडेट: एक घर ढल्यो, ४७ घर चर्किए

खोटाङ । खोटाङको साकेला गाउँपालिका–५ मात्तिमविर्ता केन्द्र भएर गएको ६ म्याग्नेच्युडको भूकम्पले ४७ वटा घर चर्किनुका साथै एक घर भत्किएको छ । 

मानवीय क्षति नभए पनि भूकम्पको केन्द्रबिन्दु मात्तिमविर्तामा मात्र ४५ घर चर्किएको वडाध्यक्ष जीवन न्यौपानेले बताउनुभयो। 

मात्तिमविर्ताका दलबहादुर राई, प्रधान राई र ज्ञानबहादुर खड्काको घरमा बस्नै नमिल्ने गरी चर्किएको छ । ५ वडा रहेको साकेला गाउँपालिकाका अन्य वडामा पनि भूकम्पको क्षतिको विवरण सङ्कलन भइरहेको गाउँपालिका अध्यक्ष रबीप्रकाश राईले बताउनुभयो । 

प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईका अनुसार मात्तिमविर्तामा २७ वटा घर चर्किएको छ । सोही भूकम्पका कारण हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम चुमाखुका तेजबहादुर नेपालीको घर भत्किएको छ । 

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका गङ्गा राईको घर बस्नै नमिल्ने गरी चर्किएको वडाध्यक्ष कमल गिरीले बताउनुभयो ।

हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका ध्रुव पौडेलको पुरानो घर चर्किएको छ । २०७२ सालको भूकम्पले चर्किएको सो घर आइतबारको भूकम्पले थप चर्किएको हो । 

क्षति मूल्याङ्कनका लागि पत्राचार
​​​​​​​हलेसी तुवाचुङ नगरपालिकाले भूकम्पको क्षति मूल्याङ्कनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई पत्राचार गरेको छ । 

भूकम्प गए लगत्तै नगरपालिकाले इन्टग्रेटेड डिजास्टर भल्नेरेबिलीटी एसेसमेन्टका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, गृह मन्त्रालयलाई पत्राचार गरेको हो । 

भूकम्पबाट भौतिक एवं मानवीय क्षतिको तत्काल एसेसमेन्ट गर्न प्राधिकरणबाट प्राविधिक टोली पठाएर सहयोग गर्न अनुरोध गरिएको नगरप्रमुख विमला राईले बताउनुभयो।

 

 

 

 

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ७ : १५ बजे