बाढीको स्थितिमा सुधार

युक्रेनी युद्धबन्दीमाथिको आक्रमण छानबिन गर्न राष्ट्रसङ्घलाई आमन्त्रण

मस्को  ।  रूसले युक्रेनी सेनाको डोनबास क्षेत्रको ओलेनिभक  नजिक अवस्थित सोधपुछ तथा हिरासत केन्द्रमा उच्चप्रविधियुक्त रकेट प्रणालीबाट गरिएकोे आक्रमणमा परी ५३ जना युक्रेनी युद्धबन्दीको मृत्युभएको घटनाको अनुसन्धान गर्न संयुक्त राष्ट्रसङ्घ र रेडक्रसका विशेषज्ञहरूलाई आमन्त्रण गरेको छ । 

येलेनोभकामा सोधपुछ तथा हिरासत केन्द्रमा भएको आक्रमणको वस्तुनिष्ठ अनुसन्धान गर्न रूसी महासङ्घले औपचारिक रूपमा संयुक्त राष्ट्रसङ्घ र रेडक्रसका अन्तर्राष्ट्रिय समितिका विशेषज्ञलाई आमन्त्रण गरेको रूसी रक्षा मन्त्रालयले जनाएको छ । 

युक्रेनी युद्धबन्दीलाई राखिएको ओलेनिभकाको हिरासतमा शुक्रबार बिहान युक्रेनी सेनाले अमेरिकाले आपूर्ति गरेको ‘हाई मोबिलिटी आर्टिलरी रकेट सिस्टम’का साथ गोलाबारी गरेको थियो । उक्त आक्रमणमा ४० युक्रेनी युद्धबन्दी मारिएका थिए भने ७५ जना घाइते भएका थिए । हिरासत केन्द्रका आठ कर्मचारीलाई पनि गम्भीर चोट लागेको थियो । रूसको क्षेत्रीय रक्षा निकायले अद्यावधिक गरेको पछिल्लो विवरणअनुसार उक्त आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या ५३ पुगेको छ भने एकसय ३० जनाभन्दा बढी घाइते भएका छन् । 

रूसी रक्षामन्त्रालयले युक्रेनी आक्रमणलाई पूर्वनियोजित उत्तेजक काम भन्दै आफ्नो फौजले आत्मसमर्पण गर्न खोजेकाले उनीहरूलाई तर्साउन आक्रमण गरिएको बताएको छ । रेडक्रसको अन्तर्राष्ट्रिय समिति ९आईसीआरसी० ले  घाइतेहरूको उद्धारमा सघाउने बताएको छ । संयुक्त राष्ट्रसङ्घले पनि उक्त आक्रमण अनुसन्धान गर्न भएको छ । राष्ट्रसङ्घका प्रवक्ता फरहान हकले त्यसको पुष्टि गरेका छन् । 

डोनेट्स्क र लुहान्स्क जनगणतन्त्रले आफ्नो रक्षा गर्न मद्दतको लागि रूससँग अनुरोध गरेपछि  फेब्रुवरी २४ मा मस्कोले युक्रेनमा विशेष सैन्य कारबाही शुरु गरेको हो । उसले किएभविरुद्ध थालेको सैन्य कारबाही युक्रेनी सैन्य पूर्वाधारमा मात्र लक्ष्यित रहेको र सर्वसाधारण युक्रेनी त्यसको जोखिममा नरहेका दाबी गर्दै आएको छ । 

यसैबीच, संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत लिन्डा थोमस–ग्रीनफिल्डले सुरक्षा परिषद्को शुक्रबारको बैठकमा विश्व मानचित्रबाट रूसले युक्रेनलाई मेट्ने प्रयास गरेको बताएकी थिइन् । उनले पूर्वी युक्रेनी क्षेत्र डोनेस्क र लुहान्स्क,  दक्षिणी खेरसोन र जापोरिज्जियालाई अवैध रूपमा आफ्नो कब्जामा लिएर रूसले त्यसको आधार निर्माण गरिरहेको पनि उल्लेख गरेकी थिइन् । 
 

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  ४ : ४५ बजे