खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्निच्युडको भूकम्प : केही घरमा क्षति, विवरण सङ्कलन जारी 

खोटाङ ।  खोटाङको साकेला गाउँपालिका–५ मात्तिमविर्ता केन्द्र भएर गएको ६ म्याग्निच्युडको भूकम्पको क्षतिको विवरण सङ्कलन भइरहेको छ ।

हालसम्म जनधनको क्षति भएको जानकारी नआएको प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईले जानकारी दिनुभयो। मात्तिमविर्तामा एक घर चर्किएको र एक घरको टायल खसेको जानकारी आएको वडाध्यक्ष जीवन न्यौपानेले बताउनुभयो ।

हलेसी तुवाचुङ नगरपालिकाकी मेयर विमला राईले वडा कार्यालयमार्फत क्षतिको विवरण उपलब्ध गराउन सूचना जारी गर्नुभएको छ । यस्तै, हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा केही घरको पर्खालको ढुङ्गा खसेको वडाध्यक्ष कमल गिरीले बताउनुभयो । 

भूकम्पका कारण स्थानीय अत्तालिँदै घर बाहिर निस्केका थिए । पटक–पटक पराकम्पन आएपछि नागरिकमा त्रसित भएका छन् ।  

आज बिहान ८ बजेर १३ मिनेटमा खोटाङको मात्तिमबिर्तालाई केन्द्रबिन्दु बनाएर ६  म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  ११ : ३४ बजे