खुर्काेटमा बेलिबृज जडान सुरु

नेपाली समाज रूपान्तरणका लागि एमालेको सङ्घर्ष अझै जारी : अध्यक्ष ओली 

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली समाज रूपान्तरणका लागि एमालेको सङ्घर्ष अझै जारी रहेको बताउनुभएको छ । 

अध्यक्ष ओलीले शुक्रवार बिर्तामोडमा जिल्ला स्तरीय वृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पात्र फेरिए पनि प्रवृत्ति नफेरिएका कारण सङ्घर्षलाई थप सशक्त बनाउनुपर्ने  बताउनुभयो ।

राणा शासन विरुद्धको आन्दोलनदेखि नेपाली कम्युनिष्टहरूले अग्र मोर्चामा आफूलाई उभ्याउँदै आएको चर्चा गर्दै अध्यक्ष ओलीले आफूलाई सबैभन्दा ठुलो प्रजातान्त्रिक शक्ति बताउने काँग्रेसले जनताको पक्षमा लड्दै आएका कम्युनिष्टहरूका विरुद्ध पटक पटक दमनको नीति लिएको बताउनुभयो ।

नेपाली कम्युनिष्ट आन्दोलनको मूल धार र मूल प्रवाह नेकपा ९एमाले० भएको र कम्युनिष्टहरूकै विरुद्ध पश्चगामीहरूको गोटी बन्नेहरू कम्युनिष्ट हुनै नसक्ने उहाँले बताउनुभयो ।

राणा शासन विरुद्धको सङ्घर्षदेखि नै समाजवादी आन्दोलनको पक्षमा कम्युनिष्टहरू रहेको र त्यसको मूलधार नेकपा एमाले हो भन्दै अध्यक्ष ओलीले पञ्चायती व्यवस्था विरुद्ध पनि कम्युनिष्ट नेताहरूले नै नागरिकलाई गोलबद्ध गरेको  बताउनुभयो । नेपाली काँग्रेसले एमालेलाई सधैँ आफ्नो शत्रु देखे पनि एमालेले कहिल्यै पनि वर्ग शत्रु किटान नगरेको बताउनुभयो ।

अध्यक्ष ओलीले एमाले नेपाली समाजको दिगो विकास, परिवर्तन र नागरिक अधिकारका लागि निरन्तर लड्दै आएको शक्ति हो भन्नुभयो । 

देशका विरुद्ध, लोकतन्त्रका विरुद्ध र एमालेका विरुद्ध विभिन्न समूहहरू लागिपरेको बताउँदै उहाँले राष्ट्रिय स्वाधीनता, विकास र समृद्धिका लागि एमाले नेतृत्वको सरकारले गरेका कामले धेरैलाई टाउको दुखाएको चर्चा गर्नुभयो ।

बहुदलीय व्यवस्था स्थापनापछि नेपाली काँग्रेसले सबैभन्दा लामो समय सरकारको नेतृत्व गरेको उल्लेख गर्दै अध्यक्ष ओलीले भन्नुभयो–“काँग्रेसको नेतृत्वमा देशमा के–के काम भए, अहिलेको सरकार र प्रधानमन्त्रीले उत्तर दिन सक्नुपर्छ ।”

अध्यक्ष ओली स्थानीय तहको निर्वाचनपछि पहिलो पटक बुधवार झापा आउनुभएको हो । झापा बसाइँका क्रममा अध्यक्ष ओलीले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने स्थानीय तह दमक, कमल, गौरादह तथा गौरीगञ्जका अगुवा कार्यकर्तासँग अलग अलग भेट गर्नुभएको छ । 

यस्तै विभिन्न जन वर्गीय सङ्गठन, उद्योगी व्यवसायी, धिमाल अगुवा लगायतसँग भेट गर्नुभएको छ । 

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  ७ : १० बजे