सिसिटिभीको फुटेज अनुसन्धानमा सहयोगी नभएको भन्दै जनार्दन शर्मालाई सफाइ

काठमाडौं । बजेटको अघिल्लो राति अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालय बोलाएर करका दर रातारात हेरफेर गराएको आरोप लागेका तत्कालीन अर्थमन्त्री शर्मालाई सफाइ दिनेगरी समितिले प्रतिवेदन तयार पारेको छ ।

जनार्दन शर्माबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिको प्रतिवेदन अनुसार सीसीटीभी फुटेज ‘रिकभर’ गर्दा प्राप्त फोटो अनुसन्धानमा सहयोगी नभएको बताउँदै प्रतिवेदन तयार पारेको हो । प्रहरीको डिजिटल फरेन्सिक ल्याबमा सीसीटीभीको हार्डडिक्स पठाउँदा जेठ १४ र १५ गतेको ५१ वटा सिंगल फ्रेमका क्लिपहरू प्राप्त भए पनि चलायमान नरहेकाले छानबिनको कार्यमा त्यति सहयोगपूर्ण नरहेको बताउँदै यसैका आधारमा जनार्दन शर्मालाई सफाइ दिएको हो ।

समितिका सभापति लक्ष्मणलाल कर्णले शुक्रबार प्रतिनिधिसभाको दोस्रो बैठकमा उक्त प्रतिवेदन पेश गर्नुभएको थियो । बजेटको अघिल्लो रात अर्थ मन्त्रालय प्रवेश गरेका भनिएका व्यक्तिलाई बयानका लागि समेत नबोलाई छानबिन सकिएको छ ।

संसदीय छानबिन विशेष समितिमा कर्ण, खगराज अधिकारी, देवप्रसाद गुरुङ, प्रदीपकुमार ज्ञवाली, मानबहादुर विश्वकर्मा, भानुभक्त ढकाल, बिमला विक, शक्तिबहादुर बस्नेत, सरलाकुमारी यादव, सीताराम महतो, सुरेन्द्र यादव सदस्य रहेका छन् ।

समितिले तयार पारेको उक्त प्रतिवेदनमा प्रमुख प्रतिपक्ष नेकपा एमालेका ४ सांसदले भने प्रतिवेदनमा राखिएको निष्कर्षको विरोध गरेका छन् ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  ४ : १८ बजे