‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

‘समृद्ध नेपाल, सुखी नेपाली’को जागृत सपना साकार पार्न स्थानीय तहको राजनीति 

समाजका अगुवाहरू रूपान्तरण, परिवर्तन र विकासका कुरा गर्दछन् । सर्वसाधारण मानिसहरू रूपान्तरण, परिवर्तन र विकास पर्खेर, आस गरेर बसेका हुन्छन् । उनीहरूले आस गरिरहँदा पनि हात गोडा खुम्च्याएर बसिरहेका हुँदैनन् । आफ्नै ढङ्गले क्रमिक रूपान्तरण, परिवर्तन र विकास पक्षमा आफूलाई क्रियाशील गराइराखेका हुन्छन् । उनीहरूका आसभित्र समग्र समाजको हित र प्रगति अन्तर्निहित हुन्छ । उनीहरू यातायातका लागि सहज बाटो, स्वास्थ्यका लागि सफा पानी, खानका लागि पर्याप्त अन्न, रोग लाग्दा सुलभ उपचार, सन्तानको शिक्षाका लागि विद्यालयहरू, उत्पादनका लागि मल, बीउ, सिँचाइको आस गरेका हुन्छन् । आफू र आफ्ना सन्तान सपरिवार सँगै बस्नका लागि आफ्नै ठाउँमा रोजगारीको आस गरेका हुन्छन् । उनीहरूका यी आसहरू सम्बोधन हुन सक्दा रूपान्तरण, परिवर्तन र विकासका बहस गर्नै पर्दैन । उनीहरूका यी आसभित्र मुलुकको कुल राष्ट्रिय बजेट जति नै रहेको व्यापार घाटाको विकल्प छ । विदेशी मुद्रा सञ्चितिको सुनिश्चितता छ । तिनै आसभित्र आत्मनिर्भरताका लागि भूमिका अभिवृद्धिको सम्भावना छ । 

यसैमा समृद्ध नेपाल, सुखी नेपालीको जागृत सपना छ । यो सबै काम स्थानीय स्तरमा, स्थानीय तहका सरकारको योजना र सक्रियतामा सम्भव छ । परिवर्तनको मुख्य अवधारणा सर्वसाधारणका आस हुन् भने तिनीहरूको कार्यान्वयनका कर्ता स्थानीय तह नै हुन् । तर, हामीहरू रूपान्तरण, परिवर्तन र विकासको विषयलाई अत्यन्तै जटिल बनाएर बुझ्न र बुझाउन उद्यत हुन्छौँ, जसले यी कामहरूलाई पछाडि पारिरहेका छन् । 

परिवर्तन भनेको फेरिनु हो, यो निरन्तर प्रक्रिया हो । हिजो जे थियो, आज त्यस्तो छैन र भोलि अर्कै भइसक्छ । अन्नको दानो भुईँमा पर्छ, माटो र हावा—पानीको संयोगले त्यो उम्रिन्छ । दानो रहेन, बिरुवामा फेरियो । माटो, पानी पाएन, सुक्यो । चाहिनेभन्दा बढी गढ्यो, सहन सक्नेभन्दा बढी पानी प¥यो, गल्यो, कुहियो । त्यो अन्नको दानो रहेन, त्यो हेर्दाहेर्दै अर्कै भयो । यस्तो हुनु परिवर्तन हो, फेरिएको त हो तर यसले सुखद परिणाम दिएन । एउटा अन्नको दानोले सुखद परिणाम दिन माटो, पानी, मल, हावा नभई हुँदैन र त्यही बढी हुन पनि हुँदैन । त्यही दानो माटो, पानी, हावा, मल, गोडमेल पायो, हुर्कियो, फुल्यो, फल्यो, सुखद परिणाम प्राप्त भयो । सुखद अवस्था प्राप्त हुन वस्तु उही भएर मात्र हुँदैन, मात्रा मिल्नुपर्छ । मिल्नु अनुकूल हो, नमिल्नु प्रतिकूल । सँगै हुँदैमा मिलेको हुँदो रहेनछ । ठिक्क हुनु मिलेको हुँदो रहेछ । यो विषय अन्यत्र पनि लागू हुन्छ । 

विकास भनेको मानवीय सुझबुझ र प्रयत्नबाट हुने परिवर्तन हो । विकास मानवीय हितहरूका लागि हुने हो, गरिने हो । योजनाबद्ध क्रियाकलापबाट प्राप्त हुने परिणाम विकास हो । मानिस विकासको कुरा गर्छ, योजना बनाउँछ, सफल हुन प्रयासशील रहन्छ । यो कुनै कागजी विषय होइन । 

मानिस सामाजिक प्राणी भएकोले मानवकृत विकास मानव हितमा हुन्छ । मानव हितमा हुन सबै (धेरै) मानिसको प्रयत्न आवश्यक हुन्छ । धेरै मानिस मिलेर गर्नुपर्ने कामका लागि त्यहाँ नीति—नियम, सङ्गठन, संरचना र जिम्मेवारी विभाजन गरिएको हुन्छ । उपभोक्ता संस्था होस्, आमा समूह, क्लब, खेलकुद टीम होस् वा सहकारी संस्था, विद्यालय, सामुदायिक—सामाजिक संस्था वा व्यापारी—व्यवसायीका संस्था होस् वा सरकार । मात्रा, दायरा फरक हुन्छ, तर नमुना उही हो, कोषाध्यक्ष हुन् वा अर्थमन्त्री काम उस्तै हो । विद्यालयका प्रधानाध्यापक हुन्, पालिकाका प्रमुख प्रशासकीय अधिकृत वा मुख्यसचिव, काम उस्तै हो । यसरी नीति—नियम र जिम्मेवारी सहितको संरचनाबाट मानव विकास, मानव समाज विकासको अपेक्षा गरिएको हुन्छ र यसै गरिँदै आएको छ । राजनीतिक व्यवस्था तथा प्रणालीमा आएका परिवर्तन पनि यिनै प्रयासहरूको परिणाम हो ।

लोकतान्त्रिक शासन प्रणाली हुनु भनेको लोकतान्त्रिक समाज हुनु हो । लोकतन्त्रमा जनतालाई विभिन्न माध्यमबाट विचार प्रस्तुत गर्ने, सङ्गठित हुने, सङ्गठित गर्ने अधिकार प्राप्त हुन्छ । यी अधिकारका सीमा हुन्छन् । सीमा कानुनले तोकेको हुन्छ । कानुनभन्दा बढी वा बाहिर हुन पाइँदैन । तर, जनताका लागि पर्याप्त भएन भने, राज्यलाई व्यवस्थापनमा कठिनाइ भयो वा हुनसक्ने भयो भने नीति—नियम, कानुन फेरिन्छ । यो कानुन फेर्ने काम वा जिम्मेवारी जनताले नै छानेका प्रतिनिधिहरूमा रहेको हुन्छ । त्यसैले जनताका विषयमा निर्णय गर्न सक्ने अधिकार राख्ने प्रतिनिधिहरूले राज्य, समाज र जनताको आवश्यकता बुझेको हुनुपर्दछ । जनताले पनि यसै अनुसारका प्रतिनिधि छान्नुपर्दछ । 

दलीय व्यवस्थामा केही अपवाद बाहेक जनप्रतिनिधि दल सम्बद्ध हुन्छन्, अर्थात् हाम्रा प्रतिनिधिहरू पार्टीका नेता—कार्यकर्ता नै हुन्छन् । यसरी उनीहरू जनताप्रति, कार्यकर्ताप्रति र पार्टीप्रति जिम्मेवार हुन्छन् । दलीय व्यवस्थामा जनप्रतिनिधिहरूलाई पार्टी बाहिर राखेर हेर्न, बुझ्न सकिँदैन र बुझ्न पनि हुँदैन । दलीय व्यवस्थामा प्रचलित कानुनको प्रतिकूल नहुने गरी पार्टीको दृष्टिकोणमा आधारित रहेर सरकार सञ्चालन गर्ने गरिन्छ । कतिपय अवस्थामा देशको सर्वोच्च विधायी संस्था संसद्का सदस्य (हामीले चुनाव जिताएर पठाइएका प्रतिनिधि) हरूलाई संसदीय ह्विप (विशेष निर्देशन) जारी गरिन्छ । दलीय व्यवस्थामा यी विषय संवैधानिक प्रावधान अन्तर्गत नै हुन्छन् । 

यस्तो अवस्थामा सरकारको प्रभावकारिताको लागि पार्टीको प्रभावकारिता आवश्यक हुन्छ । लोकतन्त्रको प्रभावकारिताको लागि पार्टीको प्रभावकारिता आवश्यक हुन्छ । समाजको लोकतान्त्रीकरणको लागि पार्टीको लोकतान्त्रीकरण आवश्यक हुन्छ । यी सबै कुरा सत्तापक्षको सन्दर्भमा मात्र होइन, प्रतिपक्षीहरूको सन्दर्भमा पनि लागू हुन्छ । सबै तहको नीति निर्माण गर्ने ठाउँमा सत्तापक्ष र प्रतिपक्ष हुन्छन् । प्रतिपक्षमा हुनु भनेको सरकारका हरेक प्रस्तुतिको विरोध मात्र होइन र सत्तामा हुनुको अर्थ प्रतिपक्षको कुरै नसुन्नु पनि होइन । सरकारका प्रस्तुतिमा प्रतिपक्षको सहमतिका उदाहरण नेपाली राजनीतिमा देखिने गरेका सुखद प्रसङ्ग छन् । प्रतिपक्षको असहमतिलाई अन्यथा लिनु पनि हुँदैन, यस्तो हुनु अस्वाभाविक होइन । 

समाजमा रहेका विविधता, अनेकौँ प्रकारका अन्तर्विरोधहरू, दार्शनिक सैद्धान्तिक मान्यताका कारण दलहरूका बीचमा र दलभित्रै पनि नेता नेताका बीचमा रहन सक्ने वा रहेका मतभिन्नता पनि अस्वाभाविक होइनन्, तर अस्वाभाविक के हो भने उपस्थित विषयवस्तुमाथि पार्टीभित्र स्वस्थ बहस नचलाइनु हो । पार्टी भनेको केन्द्र मात्रै होइन, यसका अन्य तहहरू पनि पार्टी नै हुन् । केन्द्रमा रहेका नेता मात्र जान्ने बुझ्ने हुन्छन् भन्ने हुँदैन । सङ्ख्याका कारणले पार्टीको एउटै तहमा सबै योग्य मानिसहरू अटाउँदैनन् । सबै विषयमा सबैले नबुझेका होलान्, तर धेरै विषयमा, केही विषयमा कुनै तहको नेतृत्व गर्ने वा नगर्ने पार्टी कार्यकर्ता पनि जान्ने बुझ्ने वा जाने बुझेका हुन्छन् । यति मात्र होइन, राजनीतिक पार्टीमा सङ्गठित नरहेका समाजका अन्य व्यक्तिहरू पनि विभिन्न विषयका योग्य हुन्छन् । हरेकको योग्यता समाजको लागि महत्त्वपूर्ण हुन्छ । योग्यता—अयोग्यतालाई राजनीतिक संलग्नता वा असंलग्नताले निर्धारण गर्दैन । नेतृत्वकर्ताले समाजमा र पार्टीमा रहेका सबै प्रकारका योग्य—विज्ञहरूका योग्यता—विज्ञता समेट्नु पर्दछ । 

अहिले नेपाली राजनीतिमा पार्टीहरू व्यवस्थित देखिँदैनन् । ठुला भवनमा कार्यालय छन्, कर्मचारी र भौतिक स्रोत—साधन छन्, तर विचार संरचना (सिद्धान्त, विचार) सँग मानवीय संरचना(सङ्गठन) जोडिएको देखिँदैन । हल्ला र मिडियाका नियोजित प्रक्षेपणबाट समाज प्रभावित देखिँदै छ । हुर्कँदै गरेको नयाँ पुस्तामा नेपालमा ठुलो राजनीतिक आन्दोलन, क्रान्ति गरेर प्राप्त भएको अमूल्य राजनीतिक उपलब्धि लोकतन्त्रप्रति, राजनीतिप्रति उदासीन मात्र छैन, राजनीति भनेको हल्ला हो, आफूले जित्न र शक्ति आर्जन गर्न जे गरे पनि हुन्छ, आफैले केही पाइँदैन भने किन केही गर्ने आदि स्वार्थपरक दृष्टिकोणहरू विकास भइरहेको छ । आन्दोलन र क्रान्ति गरेको पुस्ताले राजनीतिलाई संस्थागत र वैचारिक दिशा नदिने हो भने नेपाली समाजको सकारात्मक विकास र संस्कृति निर्माणमा गम्भीर नकारात्मक असर हुने देखिँदै छ । यो विषय राजनीतिक पुस्ताका हिसाबले मात्र नभई देशकै राजनीतिक विकासका दृष्टिले समेत हानिकारक हुन सक्दछ । राजनीतिक दलहरूले बेलैमा यो कुरा बुझ्न आवश्यक छ ।

यहाँ विकास र राजनीतिको विषयमा राजनीतिक दलहरूको भूमिका महत्त्वपूर्ण रहेकोतर्फ सङ्केत गर्ने प्रयास गरिएको हो । जहाँ राज्यको तर्फबाट हुँदै गरेका कामहरू धेरै सीमितता र जटिलतासँगै अघि बढ्ने गर्दछन् । त्यहीँ थुप्रै सामाजिक विषयका उपलब्धि त पार्टी परिचालनको माध्यमबाट सहजतापूर्वक हासिल गर्न सकिन्छ । 

धर्म-संस्कृतिका विषयमा स्थानीय स्तरमा पार्टी पङ्क्ति परिचालन गर्न सकिन्छ । स्थानीय विशेषताहरूबारे समान जानकारी निर्माण गर्न सकिन्छ । बोक्सा—बोक्सीको आरोपमा अमानवीय अपमानबाट मुक्त गर्न स्थानीय पार्टी परिचालनबाट सम्भव छ । दाइजो, तिलक प्रथाबाट आक्रान्त समाजलाई सबै पार्टीको संयुक्त परिचालन मुक्त गर्न सकिन्छ । जातीय छुवाछुतको विभेदबाट नेपाली समाजलाई कलङ्कमुक्त गर्न स्थानीय पार्टी परिचालन प्रभावकारी माध्यम हुन सक्दछ । महिला हिंसा अन्त्य गर्न स्थानीय पार्टी गतिविधि तीव्र पार्न सकिन्छ । महिला—पुरुष श्रमिकका बीचमा रहेको समान काम, असमान पारिश्रमिकको समस्या समाधान गर्न स्थानीय पार्टी परिचालन प्रभावकारी हुनेछ । शिक्षा, स्वास्थ्य, सरसफाइबारे जनचेतना बढाउन र सङ्क्रामक रोगहरूबाट जोगाउने सचेतना अभियानमा स्थानीय स्तरमा पार्टी परिचालन गर्न सकिन्छ । 

मौसमी—बेमौसमी खेतीपाती, पशुपालन, साना उद्यमको माध्यमबाट स्वरोजगारी सिर्जनामा स्थानीय पार्टीहरूको भूमिका महत्त्वपूर्ण हुन सक्दछ । गाउँ—गाउँमा, टोल—टोलमा स्थानीय पार्टी परिचालनको माध्यमबाट सचेतना विस्तार गरी समृद्धिमा टेवा पुर्‍याउन सकिन्छ । स्वैच्छिक सामाजिक स्वयंसेवी काममा पार्टी—पार्टीका बीचमा प्रतिस्पर्धा भई समाजको सकारात्मक विकासमा आशातीत उपलब्धि प्राप्त गर्न सकिन्छ । सकारात्मक सामाजिक विकासको लागि स्थानीय पार्टी परिचालनबारे योजना बनाएर लाग्न आवश्यक देखिन्छ ।  

पार्टीभित्रका ठुला विषयका बहसमा पनि स्थानीय नेता—कार्यकर्ताको योजनाबद्ध सहभागिताबाट सकारात्मक राजनीतिक संस्कृति विकास गर्न सहयोग पुग्छ । जनमुखी, प्रतिस्पर्धी, सक्षम नेतृत्व विकासका लागि पनि स्थानीय पार्टी परिचालन महत्त्वपूर्ण हुन सक्दछ । सकारात्मक सामाजिक विकासका लागि पार्टीका स्थानीय तहको परिचालनले वास्तविक अर्थमा जनसशक्तीकरण हुन सक्दछ । पार्टीका विषयमा अनर्गल विषय उछाल्ने, हल्लाका आन्दोलनमा सहभागी हुने, नकारात्मक क्रियाकलापमा सहभागी हुने लगायतका सामाजिक विसङ्गतिबाट समाजलाई मुक्त राख्न र सकारात्मक सृजनशील मनोविज्ञान विकास गर्न स्थानीय पार्टी परिचालन अनिवार्य देखिन्छ ।     

राजनीति र विकास दुवै स्थानीय स्तरमा स्थानीय तहलाई महत्त्व दिएर अघि बढ्न सक्दा समाजको सकारात्मक विकासको परिणाम छिट्टै देख्न र भोग्न सकिन्छ । यसतर्फ ध्यान दिनपर्छ कि ? 

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  १० : १३ बजे