स्याङ्जामा एक वर्षमा ४६१ सम्बन्ध विच्छेदका मुद्दा दर्ता

वालिङ । स्याङ्जामा एक वर्षको अवधिमा चार सय ६१ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । 

स्याङ्जा जिल्ला अदालतमा आर्थिक वर्ष २०७८/७९ मा दर्ता भएका ती मुद्दामध्ये तीन सय ७१ फर्छ्यौट भएका छन् । 

जिल्ला अदालतको स्रेष्तेदार विश्वप्रसाद रेग्मीका अनुसार ९० मुद्दा फर्छ्योट हुन बाँकी छन् । अदालतमा अन्य मुद्दाभन्दा तुलनात्मक रूपमा सम्बन्ध विच्छेदका मुद्दा धेरै रहेका छन् । 

अघिल्लो आव २०७७/७८ मा तीन सय चार मुद्दा दर्ता भएकामा दुई सय ४० फर्छ्योट भएका थिए । सो आवका ६४ मुद्दा गत आव २०७८/७९ मा जिम्मेवारी सरेर आएको रेग्मीले जानकारी दिनुभयो । तुलनात्मक रूपमा पछिल्ला वर्षमा सम्बन्ध विच्छेदका मुद्दा दर्ता हुने क्रम बढ्दै गएको छ ।

“अन्यको तुलनामा जिल्ला अदालतमा सम्बन्ध विच्छेदका मुद्दा बढी दर्ता हुने गरेका छन्”, रेग्मीले भन्नुभयो, “यसको मुख्य कारण वैदेशिक रोजगारी र अन्य पारिवारिक समस्या हुन् ।” 

अदालतमा एक सय ३१ अंशबन्डाका मुद्दा दर्ता भएको कार्यालयका नायब सुब्बा एवं फिराद दर्ता शाखाका शोभाकान्त पौडेलले जानकारी दिनुभयो । 

पौडेलका अनुसार पछिल्लो समयमा सामाजिक सञ्जालको दुरुपयोग, सञ्चारमाध्यम, आर्थिक अभाव, घरायसी समस्या, लागु औषधले निम्त्याएको समस्या, घरेलु हिंसालगायतका कारणले सम्बन्ध विच्छेदका घटना बढ्दै गएका छन् ।

“वैदेशिक रोजगारी, सामाजिक सञ्जालको दुरुपयोग तथा घरायसी समस्याका कारण सम्बन्ध विच्छेदका घटना बढ्दै गएका छन्”, उहाँले भन्नुभयो, “सम्बन्ध विच्छेदले पारिवारिक बेमेलसँगै बालबालिका अभिभावकविहीन बन्ने, संरक्षण नहुँदा बेसाहारा बन्ने समस्या देखिएका छन् ।” जिल्ला अदालतले आव २०७८/७९ मा ६३।११ प्रतिशत मुद्दा फर्छ्योट गरेको छ ।रासस

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  ८ : ५७ बजे