‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

असान्दर्भिक कुरा गरेपछि कठघरामा उभिनुपर्छ

कहिले काहीँ औताएर बोल्दा र व्यवहार गर्दा कुनै कुनै विद्वान् नाजवाफ हुन्छन् र मरीचझैँ आफ्ना कारणले आफैँ चाउरिन्छन् । एउटा प्रबुद्ध कहलिएको देशको बुद्धिजीवीले लहडी कुरा समाजलाई भड्काएर  माफी पाउन सक्तैन । यस्तो छुट दिन पनि हुँदैन । तिनलाई वर्तमानकै कठघरामा नभए पनि इतिहासको कठघरामा उभ्याउनुपर्छ । 

प्रा.डा. युवराज सङ्ग्रौला पूर्व प्रधानमन्त्री ओलीले संसद् विघटन गर्नु चाहिँ प्रतिगमन नै हो भन्दै बहस र पैरवी  गर्नुहुन्थ्यो । अहिले उहाँले  शेरबहादुर देउवाको नेतृत्वको सरकार चाहिँ अग्रगामी देखेर मौन भएर बस्नु भएको हो ?  २०७४ साल पुस १८ गते सिक्किमले गणतन्त्र जोगायो तर देश जोगाउन सकेन भन्ने तपाईँले नेपालको संविधान च्यात्न भरपुर सहयोग गर्नुभयो भयो, देशलाई नै अस्थिरताको आहालमा हालेर धराप र धर्मर पारेको त देखियो नि । यसमा तपाईँ लाई भन्नु केही छ  ? 

ओलीले संसद् विघटन गरेर मध्यावधि निर्वाचनको घोषणा गरेको विषयलाई नानी जन्माउन नसकेकी गर्भवती आमालाई मारेकोसम्म भनेको होइन सङ्ग्रौलाजी ? अनि तपाईँले गठबन्धन सरकारका हालसम्मका तमाम जनघाती, राष्ट्रघाती र जनविरोधी गतिविधिलाई अग्रगामी काम र कदम देखेर मौन बस्नु भएको हो ? 

महाकाली नदीमा मारिएका जयसिंह धामी प्रकरण, नेपाली आकाशमा भारतीय सैनिक हेलिकप्टर चक्कर लगाएको प्रकरण, २४ लाख कोरोना खोप आफै सरकारले हरायो भनेको विषय, महाकाली नदी पारी भारतले बनाएको पक्की तटबन्धसम्बन्धी मुद्दा, भारतस्थित नेपाली दूतावासमा देउवाले नेपालको बुच्चे नक्सा सजाएको प्रकरण, विवादास्पद नागरिकता विधेयक पारित गर्ने सोच प्रकरण, पूर्व अर्थमन्त्री अर्थमन्त्रीले बजेट निर्माणमा गरेको चरम राष्ट्र घात, कृत्रिम मूल्य वृद्धि, अझ डेढ लाख कोरोना खोप सरकारले सङ्घ र स्थानीय सरकारसित समन्वय गरेर लगाउने प्रबन्ध नगर्दा खोप खेर गएकोजस्ता तमाम देश घाती काम अग्रगामी हुन् महाशय ! प्रतिपक्षी दलको दबाबमा सरकारले पूर्व प्रधानमन्त्री सुशील कोइरालाका पालामा गुपचुपमा गरिएको एसपीपी (स्टेट पार्टरनशिप प्रोग्राम) सम्झौता सरकारले अस्वीकृत गर्न बाध्य भएको त थाहा पाउनु भयो होला नि तर उक्त पत्र सरकारले पठाइरहेको छैन । 

देश र जनताका विरुद्धका गठबन्धन सरकार चाहिँ अग्रगामकारी हो वकिल साहेब ?  हिजोका दिनमा  ओलीको देश जन हितको बोली भुईँमा खस्न नपाउँदै नाना भाँती फतुर फलाकेर कोकोहोलो गरेको  हामीलाई थाहा छ  तर अहिले  देशको अस्तित्व नै धरापमा पर्न खोज्दा  किन बोल्नु हुन्न सङ्ग्रौलाजी ? यसमा केही कनेक्सन त छैन ? बेलाको रिस त सौन्दर्य हो नि । हिजो ओलीका देश र जनताका हितमा काम गर्दा दाह्रा किट्ने अनि अहिले चाहिँ दह्री सुम्याउनु राम्रो हो र  ? देश र जनताका पक्षमा बोल्दा म मारिन पनि सक्छु भनेर आफैँ उद्घोष गर्न तपाईँलाई सुहाउँछ ? यति साह्रो डर छ भने नबोल्दा पनि हुन्छ । तर सापेक्षता र तुलना गर्दै नगरी सबै नेतालाई खराब भन्न मिल्छ ? तपाईँ  सबै कम्युनिस्टलाई  अधिनायकवादी भन्दै हुनुहुन्थ्यो । मदन भण्डारीले जबजमा कम्युनिस्ट आन्दोलनका कतिपय परम्परागत व्यवहारका रूढ तथा अतिवादी पक्ष र प्रसङ्गलाई पुनसृजन गर्नुभएको छ । 

उहाँका अनुसार अधिनायकत्व राज्यको चरित्र हो । एमाले पार्टी लहड र रहरका आधारमा लौरो, लाठो र बल प्रयोगका भरमा चल्ने पार्टी होइन । हँसिया हथौडा झण्डा बोकेकै भरमा सबै कम्युनिस्ट पार्टी हुँदैनन् । एमाले पार्टी त जनताको मन जितेर राजनीति र राजकीय नेतृत्व हासिल गर्न चाहन्छ । कम्तीमा तपाईँ  जस्ता विज्ञले जबज र मदन भण्डारी नपढी  एमाले विरुद्ध झ्वाँकै झ्वाँकमा झट्टी हान्नुभएन क्या । तपाईँ  विशेषतः घुमाइफिराई एमाले र अझ ओली विरुद्ध जहिले पनि किन अस्वास्थ्य रूपमा आक्रामक बन्नुहुन्छ ? एमाले कम्युनिस्ट हो तर यो कट्टिधारी होइन एमाले क्रान्तिका नाम र निहुँमा जनधनको अपार क्षति सर्वनास गर्ने पार्टी त हुँदै होइन ।  

जननेता मदन भण्डारीसित नेपालका कुनै कम्युनिष्ट नेतासित किमार्थ तुलना नै हुन सक्दैन । मदन भण्डारी कथित कम्युनिष्टका नाममा खुद्रे पसल खोल्ने र त्यसका आधारमा बाम  अतिवाद र अन्धवादमा मात्र रमाउने नेता  होइन । पशुपतिको मूल भट्ट हटाउन नसक्ने अनि प्रधानसेनापति हटाउन नसकेर आफैँ भाग्ने प्रचण्डले गणतन्त्र ल्याएको भन्न सुहाउँछ ? प्रचण्ड त बाह्य  शक्तिका भरिया हुन् । उनले त यस देशको नाम र झण्डा समेत फ्याल्न न्वारानदेखिको बल लगाएका थिए,। उनले जात, जाति, नाक र नश्लका नाममा देशमा गृहयुद्ध मच्चाउन खोजेका थिए । भण्डारीकै दूरदर्शिताका कारण  विश्वमै कम्युनिष्ट आन्दोलन नै महासङ्कटमा परेको नेपालमा कम्युनिष्ट झण्डा लहराएका होइनन् र । यति काम अरू कुनै कम्युनिष्टको तागत र आँट देखिएन । कृपया ओकिल साहेब सत्य बोल्नुहोस् तथ्य  खोल्नुहोस्, नत्र कठघरामा उभिन तयार हुनुहोस् ।  

संसदीय मान्यताका कुनै पनि देशमा जनादेशलाई ठाडो रूपमा लत्त्याइँदैन, परमादेशबाट प्रधानमन्त्री बनाएको संसदीय इतिहासमा कहीँ  छैन । कम्तीमा संसद्को बहुमतबाट प्रधानमन्त्री चुनिनु पर्ने हो । दुनियाँमा नहुने र नभएको जात्रा गर्न गराउन सङ्ग्रौलाले सहयोगी भूमिका निर्वाह गर्नुभयो । पार्टीले कार्यवाही गरेका कुनै सांसदलाई सभामुखले कार्यवाही प्रक्रिया यथाशीघ्र अगाडि बढ्ने बढाउने तर एमालेका कार्यवाही परेका सभासद त्यही नियम नलाग्ने, कुनै सभासद्लाई पार्टीको ह्विप वा निर्देशन लाग्ने, कुनैलाई नलाग्ने यस्तो जात्रा गर्न गराउन सङ्ग्रौला लागेको स्पष्ट भयो ।  आफ्नो पार्टी र जनप्रतिनिधिलाई होल्डिङ गरेकै हुनाले तीन वर्ष बढी शासन चलाउन ओली समर्थ भएको देखी देखी ओलीलाई होल्डिङ गर्न नसकेको भन्न कसरी सकेको श्रीमान्, इति कुरा पनि हेर्न सङ्ग्रौलाले अलि पावरदार चस्मा लगाउनुपर्ने हो त ? तपाईँले प्रतिनिधिसभा पुनः स्थापना नभए संविधान मर्छ भन्नुभएको थियो तर अहिले गठबन्धन सरकारका कारण देश मर्न लागेको देख्नुभएन ? त्यति बेला  संविधान बचाउन बोल्छु भन्ने तपाईँ देश बचाउन कहिले बोल्नुहुन्छ  ?   

संविधानको भाग ७ धारा ७४ को शासकीय स्वरूप अन्तर्गत संसदीय शासन प्रणाली हुनेछ भन्ने पदावली किन राखियो ? संविधानको धारा ८५ को १ मा अगावै विघटन भएबाहेक ५ वर्ष प्रतिनिधि सभाको अवधि हुनेछ भन्ने कुरा भन्न मात्र भनिएको हो दुनियाँको संसदीय मान्यतामा प्रतिनिधिसभा विघटन गर्न सक्ने अधिकार प्रधानमन्त्रीमा निहित हुन्छ । संविधानसभा सदस्यहरूको पारिश्रमिक र सुविधा ऐन २०७३ ले पनि प्रतिनिधि सभा विघटन हुन्छ भन्ने स्पष्ट परिकल्पना गरिएको देखिन्छ । यतिविधि तथ्य हुँदा पनि सफेद झुट बोल्न सरम लाग्दो रहेनछ । 

एक बेला युरोपले समृद्ध नेपाल देख्नै चाहँदैन भन्ने तपाईँ अहिले के भन्नुहुन्छ ? संसारको कुन देशमा न्यायालयले प्रधानमन्त्री तोक्छ र बनाउँछ ?  संसद्ले प्रधानमन्त्री र सरकार बनाउँछ कि न्यायालयको ठाडो आदेशले वकिल साहेब ? आफू मारिए पनि देश सुरक्षित भएकामा खुसी छु एक जना देशभक्तले भनेका थिए रे । यस्तो पो हुन्छ त देशभक्ति ? कतिपय कुरामा मेरो पनि तपाई त सहमति नै छ तर प्रायः मिडियाका अन्तर्वार्तामा तपाईँका बेसुरा अन्तरवार्ता सुन्दा अचम्म लाग्छ । 

पूर्व प्रधानमन्त्री गिरिजा कोइरालाका पालामा छिमेकी राष्ट्रहरूले उपहार स्वरूप दिएका दर्जनौँ उत्पादन तथा रोजगारमूलक उद्योगहरू माटोका भाउमा बेचेर देशको चौतर्फी दुर्दशा गरेको तपाईँ उल्लेख गर्नुहुन्छ । यस देशमा हालसम्म बनेका सरकारका तुलनामा ओली सरकारले सारा  काम र गतिविधि हेर्दा तपाईँ आफैँ पनि भित्रभित्र छक्क पर्नुभएको होला तर एउटा पनि गुन बखान नगर्ने कसम खाएपछि सत्य बोल्न सकिन्न । छातीमा हात राखेर मूल्याङ्कन गरौँ । 

सबै नेता र पार्टीलाई खसीबाख्र्री एउटै धोक्री गर्न मिल्दैन र यत्ति कुरामा तपाई जत्तिको विद्वान्ले विवेक र विचार पुर्‍याउनुपर्छ । ओली सरकारले अढाई वर्षको अवधिमा भूकम्प पीडित,बारा पर्साका सुनामी पीडित तथा प्रधानमन्त्री आवास योजना अन्तर्गत  जम्मा ७ लाख घर निर्माण गरेर हस्तान्तरण गरेको आजसम्म नेपालमा कतै सुन्नुभएको थियो सङ्ग्रौलाजी ? भारतले गरेको नाकाबन्दीलाई नाकाबन्दी भन्न नसक्ने पार्टी र नेतृत्व तथा नाकाबन्दी विरुद्ध चट्टानी अडान राख्ने पार्टी र नेतृत्वलाई समान देख्ने दृष्टि, दृष्टि होइन  दृष्टि दोष हो र दृष्टि भ्रम हो । यस्ता भ्रम लिएर बाँच्न एउटा विज्ञ र विद्वान्लाई किमार्थ सुहाउँदैन । 

(लेखक डा.पोखरेल एमाले प्रदेश १ का संस्कृति विभाग प्रमुख हुनुहुन्छ ।) 

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  ८ : ३४ बजे