खुर्काेटमा बेलिबृज जडान सुरु

‘बाढीपहिराका कारण सडक डुबानमा परेकाले चाँडो खुलाउन लाग्नुपर्छ’

काठमाडौँ  ।  सांसदहरुले वर्षाका कारण सडक बाढीपहिराका कारण अवरुद्ध भएकाले चाँडो खुलाउन सरकार गम्भीर हुनुपर्ने बताउनुभएको छ । 

राष्ट्रियसभाको आज बसेको बैठकमा बोल्दै उहाँहरुले वर्षाले नागरिकको जनजीवनमा असर पुगेको औँल्याउनुभएको हो । सांसद् सिंहबहादुर विश्वकर्माले केही दिनयताको झरीले राजमार्गका विभिन्न स्थानमा पहिरो र सडक भाँसिएकाले सवारीसाधन ओहोरदोहोर गर्न अप्ठेरो भएको र सडक दुर्घटना भइरहेकाले सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताउनुभयो । 

सांसद नन्दा चपाईंले कर्णाली प्रदेशमा कतै बाढीपहिरो र कतै डुबानको समस्या रहेको जनाउँदै तल्लो तटीय क्षेत्रमा डुबानको जोखिम रहेकाले बस्तुगत अध्ययन गरी समस्या समाधान गर्नुपर्ने बताउनुभयो । सांसद अनिता देवकोटाले भारतीय कम्पनीले निर्माण गरेको घोराही–तुलसीपुर सडक सम्पन्न नहुँदा नागरिकले सास्ती भोगेको बताउनुभयो । 

सांसद खिमलाल देवकोटाले पोखरा महानगरपालिकाका निवर्तमान प्रमुखले फेवातालको मापदण्ड ६५ मिटरबाट ३५ मिटर बनाएको जनाउँदै पोखरामा बिना स्वीकृति आठ/नौँ तलाका घर बनेकाले त्यो रोकिनुपर्नेमा जोड दिनुभयो । सांसद दिलकुमारी रावलले सरकारले स्टेट पार्टनरसीप प्रोगाम (आइपिएस) मा सहभागी नहुने सरकारको निर्णय भए पनि सेना प्रमुख सहभागी हुनुको कारण सोध्नुभयो ।  

सांसद् प्रकाश पन्थले शिक्षाको गुणस्तर खस्केको भन्दै राम्रो ग्रेड ल्याउनेलाई प्रमाणपत्र दिने र राम्रो ग्रेड ल्याउन नसक्ने विद्यार्थीका बारेमा पनि सोच्नुपर्नेमा जोड दिनुभयो । सांसद् महेशकुमार महराले राहदानी विभागमा सेवा लिन आएका नागरिकले सजिलो सेवा नपाएको र काम गराउन थप पैसा तिर्नुपरेको बताएकाले त्यो रकम कसले लिन्छ भनी बुझ्नुपर्ने बताउनुभयो । 
 

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहिबार  १२ : १९ बजे