खुर्काेटमा बेलिबृज जडान सुरु

पहिरोले  डुम्रे–बेँसीसहर सडक अवरुद्ध

लमजुङ । अविरल वर्षासँगै आएको बाढी पहिरोले गए रातिदेखि डुम्रे बेँसीसहर सडक खण्ड पुनः अवरुद्ध भएको छ । 

यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुरको देउराली डाँडा पहिरोले सडक अवरुद्ध बनाएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कार्कीका अनुसार वैकल्पिक सडकको रूपमा रहेको श्रीजङ्ग गण नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने यस सडकमाथिबाट रिठ्ठेबगरमा ढुङ्गासहितको लेदो आएर सडक अवरुद्ध बनेको छ । सडक अवरुद्धका कारण कुनै पनि सवारी साधन चल्न नसकेको उहाँले बताउनुभयो । 

रातिदेखि निरन्तर वर्षा भइरहेको र बिहानसम्म पनि वर्षा जारी भएकाले हल्का लेदोसहितको पहिरो खसिरहेको छ । गत भदौ महिनामा आएको बाढीले सो सडकको देउराली डाँडामा सडक बगाएको थियो । 

सो पश्चात् वैकल्पिक सडकका रूपमा सोहीमाथि जङ्गल हुँदै वैकल्पिक सडक सुचारु गर्दै आए पनि गत असारको पहिलो हप्ता आएको बाढी पहिरोले सो सडकसमेत बगाएपछि उक्त स्थानबाट वैकल्पिक रूपमा सडक सञ्चालन हुँदै आएको छ । वैकल्पिक सडक समेत सोही पहिरोले पटक–पटक अवरुद्ध बनाउँदै आउँदा यात्रु मारमा पर्दै आएका छन् । 

बेँसीसहरबाट काठमाडौँ, पोखरा, चितवन, गोरखा, तनहुँ जाने र सो स्थानबाट बेँसीसहर आउने यात्रुलाई समस्या हुँदै आएको छ । 

त्यस्तै, उक्त सडक हुँदै मनाङवासी समेत आवतजावत गर्ने गर्छन् । उनीहरूलाई समेत समस्या उत्पन्न भइरहेको छ ।  रासस

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहिबार  ८ : १९ बजे