‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

बुटवल उपमहानगरपालिकामा करका दर हेरफेर

लुम्बिनी ।  बुटवल उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०७९/८० का लागि करका दरमा हेरफेर गरेको छ । आव २०७९/८० का लागि स्वीकृत आर्थिक ऐन, २०७९ अनुसार सम्पत्ति, घरबहाल, इरिक्सा, हाटबजार करलगायतमा हेरफेर गरी साउन १ गतेदेखि लागू भएका छन् । 

उपमहानगरपालिकाले यसअघि लागू गरेको सम्पत्ति र घरबहाल कर १० प्रतिशतले घटाएको छ । सम्पत्ति कर सम्पत्तिको मूल्यअनुसार रु एक सयदेखि रु ४९ हजार ५०० सम्म कायम गरिएको छ । यस्तै रु पाँच लाखसम्म करयोग्य सम्पत्ति भएमा रु एक सय र रु पाँच करोडदेखि माथि भएमा प्रतिहजारको रु दुईका दरले सम्पत्ति कर तिनुपर्नेछ । 

यस्तै, इरिक्सा व्यवसायीले यसअघि रुट परमिट र नवीकरणबापत रु पाँच सयका दरले रु एक हजार तिर्दै आएकामा चालु आर्थिक वर्षमा रु तीन सयका दरले रु ६ सय बुझाउनुपर्ने बुटवल उपमहानगरपालिकाका राजस्व शाखाप्रमुख दामोदर ज्ञवालीले जानकारी दिनुभयो ।  

 यस्तै, महिला, अल्पसङ्ख्यक र अपाङ्गता भएका व्यक्तिले सञ्चालन गरेका व्यवसायका लागि लाग्ने व्यवसाय करमा १० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ । 

 त्यसैगरी सडक विस्तारका कारण व्यवसाय सञ्चालनमा कठिनाइ बेहोरेका चौराहादेखि गोलपार्कसम्मका राजमार्गमा मोहडा भएका व्यवसायीले ३५ प्रतिशत कर छुट पाउने व्यवस्था मिलाइएको उपमहानगरपालिकाले जानाएको छ ।  

 नागरिकता, अपाङ्गता, ज्येष्ठ नागरिक परिचयपत्रसहित १३ प्रकारका सिफारिस दस्तुर निःशुल्क गरिने व्यवस्था मिलाइएको ज्ञवालीले जानकारी दिनुभयो । 

बुटवल उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा रु ६० करोड राजस्व सङ्कलनको लक्ष्य लिएको छ । नागरिकमाथिको करको भार घटाएर दायरा बढाउने गरी करका दरमा हेरफेर गरिएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताउनुभयो । उहाँले राजस्व परामर्श समितिको सिफारिसअनुसार चालु आर्थिक वर्षको राजस्व सङ्कलनको प्रक्षेपण गरिएको बताउनुभयो । यसअघि रु ७१ करोड २५ लाख राजस्व सङ्कलनको लक्ष्य लिइएकामा रु ५३ करोड सङ्कलन भएको राजस्व शाखा प्रमुख ज्ञवालीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  ३ : ५३ बजे