मन्त्री श्रेष्ठद्वारा प्रक्रिया मिचेर आफ्नै नन्दलाई सरकारी नियुक्ति

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री  शशी श्रेष्ठले प्रक्रिया मिचेर आफ्नै नन्दलाई सरकारी नियुक्ति दिलाउनुभएको छ ।

मन्त्रालय अन्तर्गतको साझा स्वास्थ्य सेवा सहकारीको सञ्चालक समिति सदस्यमा आफ्नै नातामा नन्द पर्ने उर्मिला पोखरेललाई मन्त्री स्तरीय निर्णय गरेर नियुक्ति दिलाउनुभएको हो । 

सरकारी सेवाबाट दुई वर्ष अघि मात्र सेवा अवकाश पाउनुभएकी उर्मिलालाई मन्त्री श्रेष्ठले सहोदर दाइ श्याम श्रेष्ठ सल्लाहकार रहेको विकल्प सहकारी संस्थाबाट ‘‘नक्कली’ अनुभव पत्र बनाउन लगाएर नियुक्त गरेपछि उहाँको आलोचना भएको छ । 

मन्त्री श्रेष्ठले यसअघि पनि नक्कली प्रमाणपत्र भएका भनिएका माधवप्रसाद तिमिल्सिनालाई सहकारी बोर्डको सदस्यमा नियुक्ति गर्नुभएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले छानबिन गरी मुद्दा चलाएको थियो ।

 

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  ११ : ०९ बजे