त्रिशूली । नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ का निर्वाचित महिला वडा सदस्य सुकुमई तामाङको खोलाले बगाएर मङ्गलवार साँझ मृत्यु भएको छ ।
बेलकोटगढीको वडा नं १० र १२ हुँदै बगेको बेलकोट खोलाले बगाउँदा ५४ वर्षीया तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो ।
खेतमा काम गरेर फर्कने क्रममा वडा नं १० स्थित द्वारिका टहरोमा खोला तर्ने क्रममा उहाँलाई बगाएको हो ।
तामाङको शव करिब एक किलोमिटर तल वडा नं १२ को रैकरे चौतीसमा भेटिएको खड्काले बताउनुभयो ।
उहाँ गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) बाट महिला सदस्यमा निर्वाचित हुनुभएको थियो ।रासस
प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार ८ : १५ बजे
प्रतिक्रिया