जनकपुरका जनप्रतिनिधिले २ दिनमै खाए ८०३ किलो मासु

जनकपुरधाम । जनकपुर उपमहानगरपालिकाको दुई दिनको नगरसभा कार्यक्रममा जनप्रतिनीधिले ८०३ किलो मासु खाएको पाइएको छ ।  

महालेखा परक्षिकको प्रतिवेदन अनुसार नगरसभाका सहभागीहरूले १ हजारका दरले ६ सय ५३ किलो खसीको मासु खाएका हुन् । यसको खर्च ६ लाख ५३ हजार रुपैयाँ पर्छ भने कुखुराको मासु ३ सय ८० रुपैयाँको दरले १ सय ५० किलो खाएका छन्। जसको खर्च ५७ हजार पर्छ।  दुइ दिनको नगरसभामा मासुमात्र ७ लाख १० हजार रुपैयाँ गरिएको छ। 

रोचक कुरात नगरसभामा दुुई दिनको खाना बनाए बापतको ज्याला १ लाख २५ हजार रुपैयाँ खर्चिएको छ। त्यसैगरी जानकी टेलिभिजनमार्फत प्रत्यक्ष प्रशारण गराउन ९५ हजार रुपैयाँ खर्च गरेको छ। नगरसभामा सहभागीहरूलाई केशरिया गम्छा ओढाउन ३ सय ६० थान गम्छा खरिद गर्न १ लाख ४२ हजार खर्चिएको छ भने खाजा, कोल्ड ड्रिक्सहरूमा छुट्टै ७ लाख ९० हजार खर्चिए छ ।

नगरसभाका लागि खरिद गरिएको डटपेनमा समेत  बढी मूल्य तिरिएको पाइएको छ। २०७८ असार ११ मा नगरसभाका लागि न्यू माता दि स्टोर्स जनकपुरबाट खरिद गरिएको २ सय ८० थान पाइलट पेन १ सय १० रुपैयाँका दरले किनिएको छ भने ०७८ असार २६ मा मायालु ट्रेडर्स जनकपुरबाट ३ सय थान पाइलट पेन १ सय ५७ रुपैयाँका दरले खरिद गरेको देखिन्छ। उक्त पाइलट पेनको बजार मूल्य अधिकतम १ सय १० रुपैयाँ रहेकोमा मायालु ट्रेर्डसबाट खरिद गरेको ३ सय थानलाई प्रतिथान ४७ रुपैयाँ बढीमा खरिद गरी १४ हजार १ सय २१ रुपैयाँ भुक्तानी गरिएको छ।

दुई दिनको नगरसभाका लागि मात्र उपमहानगरपालिकाले ५० लाख बजेट छुटाएको पाइएको छ । जसमध्ये ४३ लाख ८ हजार २८ रुपैयाँ खर्चसमेत गरिएको पाइएको हो । 

गत वर्षको लेखापरीक्षणबाट जनकपुरधाम उपमहानगरपालिकाको जम्मा बेरुजु १ अर्ब ५ करोड १७ लाख ४९ हजार रुपैयाँ छ। जसमध्ये गत वर्षको ३३ करोड ७४ लाख ११ हजार रुपैयाँ बेरुजु देखिएको छ, जसको प्रतिक्रिया र प्रमाणसमेत पेस भएको छैन। उक्त बेरुजुमध्ये असुल गर्नुपर्ने २ करोड ३९ लाख ८४ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने १४ करोड ९५ लाख ५३ हजार, नियमित गर्नुपर्ने ११ करोड १५ लाख ६६ हजार र पेश्की ५ करोड २३ लाख ८ हजार छ। 
 

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  ३ : ४२ बजे