जनार्दन प्रकरण : सिसिटिभी फुटेज सम्बन्धी रिर्पोट संसदीय विशेष समितिलाई बुझाइयो

काठमाडौं – नेपाल प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले अर्थमन्त्रालयको सिसिटिभी फुटेज रिकभर सम्बन्धी रिर्पोट संसदीय विशेष  समितिलाई बुझाएको छ ।  

करको दर हेरफेर गर्न अनधिकृत व्यक्तिलाई अर्थमन्त्रालय प्रवेश गराएको भनी उठेको प्रश्नबारे छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले अर्थमन्त्रालयको सिसिटिभी फुटेज मगाएर अध्ययन गरेको थियो । 

अध्ययनका क्रममा जेठ १४ गते रातीको सिसिटिभी फुटेज नभेटिएको भनी अर्थ मन्त्रालयसँग सोध्यो । अर्थमन्त्रालयले सिस्टम अनुसार रहेको सिसिटिभी फुटेज पठाएको जवाफ दिएपछि छानबिन समितिले जेठ १४ गतेको डिलिट भएको भनी रिकभर गर्न सिस्टम नै नेपाल प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला पठाएको थियो । 

छानबिन समितिका सचिव सुरेन्द्र अर्यालका अनुसार प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले सोमबार समितिलाई रिर्पोट बुझाएको छ । तर, रिर्पाटमा के छ भनेर हेर्न मंगलबार बिहान साढे ८ बजेसम्म कुर्नुपर्ने उनले बताए । ‘प्रहरीको सिलबन्दी फरेन्सिक रिर्पोट आइपुगेको छ । मंगलबार बिहान बस्ने बैठकमा समिति सदस्यहरूले सिलबन्दी तोडेर अध्ययन गर्नुहुनेछ,’ सचिव अर्यालले भने । सिलबन्दी रिर्पोटमा लिखित मात्रै छ कि सिसिटिभी फुटेज नै छ भन्नेबारे केही भन्न नसकिने बताइएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ८ : ४७ बजे