साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

भूगर्भ शास्त्र सम्बन्धी ज्ञान बाँड्दै नेपाल भौगर्भिक विद्यार्थी समाज  

​​​​​​​काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत भूगर्भ शास्त्रमा स्नातकोत्तर तह अध्ययन गरिरहेका विद्यार्थीहरूको एउटा साझा संस्था रहेको छ, नेपाल भौगर्भिक विद्यार्थी समाज । 

भूगर्भ शास्त्र सम्बन्धी विभिन्न गतिविधि सञ्चालन गर्दै आइरहेको यस समाज यति बेला एउटा अभियानमा जुटिरहेको छ । जुन हो विद्यालयमा गई विद्यार्थीमाझ भूगर्भ शास्त्र सम्बन्धी विभिन्न शीर्षकमा ज्ञान बाँड्ने र सचेतना फैलाउने अभियान ।

सन् १९९० सालमा स्थापना भएपछि विशेष गरी नेपालको भूगर्भको क्षेत्रमा विद्यार्थीको तर्फबाट सेमिनार, गोष्ठी, प्रदर्शनी लगायतका अनेकौँ अभियान सञ्चालन गरेको नेपाल भौगर्भिक विद्यार्थी समाज यस वर्ष भूगर्भ शास्त्र सम्बन्धी ज्ञान तथा सचेतना कार्यक्रमलाई अभियानमार्फत विद्यार्थीमाझ पुगेको छ । 

यस वर्षमा हालसम्म दुई वटा विद्यालयमा यस संस्थाले सचेतना कार्यक्रम सञ्चालन गरिसकेको छ । जसमा स्नातकोत्तर तहमा अध्ययन गरिरहेका विद्यार्थीबाट विद्यालय स्तरमा रहेका कक्षा ९, १० तथा ११ र १२ मा सचेतना कार्यक्रम सञ्चालन भएको छ । 

यस अन्तर्गत कीर्तिपुरस्थित श्री वैष्णवी माध्यमिक विद्यालयमा भूगर्भ शास्त्र, प्राकृतिक प्रकोप र विपद् व्यवस्थापन सम्बन्धी जानकारी भूगर्भ शास्त्र केन्द्रीय विभागमा स्नातकोत्तर तह तेस्रो सत्रमा अध्ययनरत महेन्द्रराज आचार्यले गर्नुभएको थियो भने कीर्तिपुरस्थित श्री मङ्गल माध्यमिक विद्यालयका कक्षा १० का विद्यार्थीहरूमाझ भूगर्भ, पृथ्वी र विज्ञानका विषयमा भूगर्भ शास्त्र केन्द्रीय विभाग, स्नातकोत्तर तह दोस्रो सत्रमा अध्ययनरत विद्यार्थी अशोक ढकालको प्रस्तुति रहेको थियो । 

सहभागी विद्याहरूले पृथ्वीको उत्पत्ति, पृथ्वीको आन्तरिक संरचना, नेपालको भौगर्भिक अवस्थाका बारेमा निकै चाखलाग्दो हिसाबले प्रश्नोत्तर गरेका थिए ।

नेपाल भौगर्भिक विद्यार्थी समाजको आयोजना र सम्बन्धित विद्यालयको समन्वयमा सञ्चालन भइरहेको यस अभियानलाई काठमाडौँ बाहिर पनि लैजाने भौगर्भिक समाजको उद्देश्य रहेको छ ।

 

नेपाल आफै भौगर्भिक रूपमा निकै संवेदनशील रहेको र विद्यालयदेखि नै यस बारेमा जानकारी भए त्यसबाट मुलुकमा भावी पुस्तालाई सहज हुने हेतुले यस्ता कार्यक्रम विभिन्न विद्यालयमा सञ्चालन गरिएको नेपाल भौगर्भिक विद्यार्थी समाजका उपाध्यक्ष दीपकराज जोशीले बताउनुभयो । 

देशमा खानिजन्य स्रोतको उचित प्रयोग हुन नसकेको र यसको प्रत्यक्ष असर देशको विकासमा देखिएकोले विद्यालयमा कार्यक्रम गर्दा विद्यार्थीहरूले समुदायमा जानकारी गराउने र यसले सरोकारवालालाई थप सजग बनाउन सक्ने देखिएकोले यो अभियान सञ्चालनमा ल्याएको संस्थाका सचिव रोनित पौडेलले जानकारी गराउनुभयो । 

नेपाल भौगर्भिक विद्यार्थी समाजले गरेको यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई थप व्यावहारिक बनाउने मङ्गल माध्यमिक विद्यालयका शिक्षक दिलिप महर्जनको भनाइ थियो । 

नेपाल भौगर्भिक विद्यार्थी समाजका  अध्यक्ष सुरेन्द्र तिमिल्सिनाले  साधरणतया विद्यालय तहमा भूगर्भ शास्त्रको पढाइ कम हुने, पाठ्यक्रममा यसलाई उचित महत्त्व नदिइएको तर मानिसका दैनिक आवश्यकता भूगर्भ शास्त्रसँग जोडिएको हुनाले यो विषय उठान गर्नुपरेको बताउनुभयो । 

विद्यालयसँगै स्थानीय तहसँग जोडेर समेत यस कार्यक्रमलाई थप उठान गर्ने योजनामा रहेको कुरा नेपाल भौगर्भिक विद्यार्थी समाज त्यसलाई पूर्ण गर्न लागेको बताइएको छ । 

भूगर्भ शास्त्र केन्द्रीय विभाग, त्रिचन्द्र बहुमुखी क्याम्पसको सहयोगमा सञ्चालित यो अभियान आगामी माघसम्म चल्नेछ । 

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  १० : ३६ बजे