धरहराबाट उपत्यका नियाल्ने रहर

नेपालीय काव्य साहित्यमा छेस्का उपविधाको प्रयोग

नेपालीय साहित्य नित्य निरन्तर प्रवाहमय छ । साहित्यको विशेषता भनेकै प्रवाहमय हुनु हो । गत्यात्मक नभएको जड साहित्य स्वतः मर्छ । जड साहित्यले समाजमा रहेका सांस्कृतिक मूल्य—मान्यतालाई वहन गर्न सक्दैन । साहित्य मरेपछि समाज पनि पछि पर्छ र स्वत्व हराउँछ । त्यसैले साहित्यमा गत्यात्मकता आवश्यक हुन्छ । नेपालीय साहित्य नित्य निरन्तर प्रवाहमय छ भन्ने उदाहरण यसमा देखिने नयाँ नयाँ विधा—उपविधाको प्रवर्तन र प्रयोग हो । अहिले नेपालीय साहित्य विभिन्न उपविधाको विकास र विस्तारसँगै हाइकू, ताङ्का, बाछिटा, सुसेली, साइनो हुँदै छेस्कासम्म आइपुगेको छ । छेस्का पछिल्लो नवीनतम प्रयोग हो । यो नेपाली मौलिक उपविधा हो ।  

नेपालीय साहित्यमा काव्य विधा अन्तरगत विभिन्न उपविधाहरू जन्मने क्रममा पछिल्लो दुई वर्षदेखि छेस्का विधा चलनचल्तीमा आइरहेको छ । यो विधाको प्रवर्तन विनोद नेपालबाट भएको हो ।  

छेस्का शब्द नेपाली शब्दमा प्रयोग हुने झर्रा शब्द हो । यो ठेट नेपाली भाषामा प्रयोग हुन्छ । यसको अर्थ काठ—दाउराका साना चोइटा वा टुक्रा भन्ने बुझिन्छ । छेस्काले च्वास्स घोच्छ । छेस्कोको प्रभाव अलि गम्भीर हुन्छ । त्यसैले यही च्वास्स घोच्ने बिम्बलाई काव्य साहित्यको एउटा उपविधाको रूपमा नामकरण गरिएको छ । छेस्का साहित्यले हामीलाई ससाना विषयमा च्वास्स घोचेर गम्भीर बनाउँछ । सोच्न बाध्य पार्छ । यसको प्रभाव अलि कडा हुन्छ । दीर्घजीवी हुन्छ । त्यसैले पनि यसको प्रभाव छिट्टै नै सबैतिर फैलियो ।   

छेस्का साहित्य के हो ? छेस्काको संरचनागत बनोट बुनोट कस्तो हुन्छ ? यो सााहित्यको प्रवृत्ति र विशेषताहरू के के हुन् ? आदि प्रश्नको उत्तरबाट यसका विषयमा बुझ्न सकिन्छ । यस लेखमा यस उपविधाको आधारभूत मूल्यहरूको विषयमा प्रकाश पारिनेछ । 

छेस्का तीन पङ्क्तिमा १५ अक्षरमा लेखिन्छ । प्रत्येक पङ्क्ति पुञ्जहरू पाँच पाँच अक्षरका हुन्छन् । यसको संरचना सूक्ष्म, चुस्त र दुरुस्त हुन्छ । समाजका विकृति, विसङ्गति र बिब्ल्याँटाहरूलाई च्वास्स घोच्ने गरी अभिव्यक्त गरिने हुनाले यस उपविधाको नाम छेस्का राखिएको हो । मानवीय संवेदनालाई छुने गरी प्रभावकारी सन्देश छोड्न सफल हुने भएकोले यसलाई छेस्का भनिएको हो । प्रत्येक पङ्क्तिले व्यक्त गर्ने अर्थका साथमा समष्टिगत रूपमा पूर्ण अभिव्यक्ति दिनु यसको विशेषता हो । प्रत्येक पङ्क्तिहरू आफैमा स्वतन्त्र हुने भएको हुनाले यो अगाडि पछाडि जताबाट वाचन गरे पनि अर्थमा खासै फरक पर्दैन । 

छेस्का रचनाका विषयगत सन्दर्भहरू विभिन्न हुन सक्छन् । प्रकृति, जीवन, विकृति, विसङ्गति सबैको विषयमा छेस्का लेखिन्छ । यसमा विषयगत सीमितता छैन । छेस्का साहित्यको प्राण भनेकै अनुप्रास हो । पहिलो र तेस्रो पङ्क्ति अनुप्रासयुक्त हुनुपर्छ । तीनवटै पङ्क्तिहरू आनुप्रासमय भएमा अझ राम्रो हुन्छ । पहिलो पङ्क्तिमा विषयको उठान हुन्छ, दोस्रोले उत्कर्षमा पु¥याउँछ र तेस्रोमा झङ्कार उत्पन्न हुँदै समापन हुन्छ । छेस्कामा विभिन्न बिम्ब, प्रतीक अलङ्कारको प्रयोगले साहित्यिक सौन्दर्य बढाउँछ । 

अक्षरहरूको गणना गर्दा लेख्य परम्पराका सग्ला अक्षरहरूलाई मानक आधार मानिन्छ । हलन्त अक्षरहरूको गणना गरिँदैन । छेस्का शब्दको वाच्यार्थ अनि व्यङ्ग्यार्थलाई प्रतिबिम्बित गर्ने गरी व्यङ्ग्य र कटाक्ष गर्नु सफल मानिन्छ । यसमा उखानटुक्का, सूक्तिमय पद पदावली, अनुकरणात्मक शब्द, पारिभाषिक शब्द हुबहु अनुकरण नगरी सिर्जनात्मक रुपमा प्रयोग गर्दा राम्रो हुन्छ । क्षेत्रीय अर्थात् आञ्चलिक जनबोलीलाई प्रयोग गर्न सकिन्छ तर दुर्बाेध्य भई सम्प्रेषणमा कठिनाइ हुनु राम्रो मानिदैन । सरलता, सरसता, बोधगम्यता यसको विशेषता हो । तर पनि संरचनागत रूपविन्यास कलापक्षमा शुद्ध अनि मानक नेपाली भाषा प्रयोग भएमा राम्रो हुन्छ ।

छेस्का साहित्यले पाठकहरूमा छिट्टै प्रभाव छोडेको छ । यो नेपाली जनमनमा बसिसकेको छ । यो आगन्तुक नभई मौलिक उपविधा हो । यो अभिव्यक्तिको सरल माध्यम भएकोले धेरै स्रष्टाहरू यतातिर लाग्नु स्वभाविक हो । विनोद नेपालबाट प्रवर्तन भएको यो उपविधामा कलम चलाउनेहरूमा साहित्यकारहरू कर्णाद महर्षि, एल. पी. पराजुली, टङ्क पन्त, ओम आचार्य, ज्ञानबहादुर क्षेत्री, जनार्दन नेपाल, मुरारिराज मिश्र, हृदय लेकाली लगायतका कविहरू हुनुहुन्छ ।   

नेपालीय साहित्य विकासशील साहित्य हो । यो नित्य निरन्तर प्रवाहमय छ । यसले साहित्यमा पनि गत्यात्मकता अपनाएको छ । विश्वका अन्य भाषाहरूलेझँै नूतन विधाहरूलाई सिर्जनात्मक रूपमा प्रयोग गर्न सक्नु प्रवाहशीलता हो । त्यति मात्र हैन आफ्ना माटामा सिर्जेका नवनव विधाहरूलाई आत्मसात गर्ने विषयमा नेपालीय साहित्य कम छैन । पछिल्लो चरणमा देखिएको छेस्का साहित्यले यसलाई पुष्टि गर्छ । यसको मानकीकरण यहीकै साहित्यकारहरुले आफै गर्नु भएको छ । यो विधा नित्य निरन्तर बगिरहोस् हार्दिक शुभकामना ।  

  
  

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार  ४ : १४ बजे