‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

कमरेड पुष्पलाललाई सम्झँदा !

पुष्पलाल र बिपीको समाजवादको भिन्नता:
​​​​​​​साउन महिनाको पहिलो हप्ता नेपालको राजनीतिका दुई शीर्ष व्यक्तित्वहरू पुष्पलाल र बिपी कोइरालाको स्मृति दिवस परेकोले देशैभरि उहाँहरू र उहाँहरूको विचारको बारेमा चर्चाहरू हुने गर्दछन् । कतिपय मानिसहरू अब नेपाल कम्युनिष्ट पार्टी र नेपाली काँग्रेस दुवै प्रजातान्त्रिक प्रणालीबाट राज्य सञ्चालन गर्ने ठाउँमा पुगेकोले केही फरक भएन यी दुवै उस्तै उस्तै पार्टी हुन र यी पार्टीहरूको विचारमा केही भिन्नता रहेन भन्ने विचारहरू व्यक्त भएको पाइन्छ । राजनीतिक पार्टीमा कार्यनीति र रणनीति अर्थात् लक्ष्य र लक्ष्य प्राप्त गर्ने बाटोको बारेमा सामान्य ज्ञान नभएकाहरूको लागि र भ्रम बस यी दुवै एकै हुन भनी नियत बस भ्रम सृजना गर्नेहरूको लागि यो विषय एकै होला । 

तर नेपाली काँग्रेसको प्रजातान्त्रिक समाजवाद र नेकपाको वैज्ञानिक समाजवादमा मूल अन्तर भनेको स्वामित्व अर्थात् उत्पादन प्रणालीमा उत्पादन सम्बन्धको विषय हो जुन विषय समाज विकासको मेरुदण्ड पनि हो । नेपाली काँग्रेसको समाजवादले व्यक्तिवाद र स्वामित्वमा व्यक्तिको अधिकारलाई सुनिश्चित गर्दछ भने वैज्ञानिक समाजवादले उत्पादन प्रणालीमा उत्पादन सम्बन्धलाई सामाजिक वा समूहको हितलाई सुनिश्चित गर्दछ ।

नेपाली काँग्रेसको समाजवादले प्रजातान्त्रिक व्यवस्थामा अब सबैले स्वतन्त्र पूर्वक प्रतिस्पर्धा गर भन्दै ठुला पुँजीपति र श्रमजीवी अर्थात् बाघ र बिरालोका बीचमा प्रतिस्पर्धा गराउने नीति लिन्छ भने नेकपाको समाजवादले समाजमा पिछडिएको क्षेत्र समुदाय र जातजातिलाई राज्यको विशेष निगरानीमा राख्दै उनीहरूलाई राज्यले संरक्षण गर्दै प्रतिस्पर्धामा आउन सक्ने बनाउँदछ । 

यही नै पुष्पलाल र बिपी कोइरालाले अगुवाइ गरेको समाजवादको मुल भिन्नता हो । तर आजकल यी दुवै पार्टीहरूले सरकार सञ्चालन गर्दा बजेट बनाउँदा र विकासका योजनाहरूको तर्जुमा गर्दा समान खालका कार्यक्रम देखिने र कम्युनिष्ट पार्टीहरूले वर्ग पक्षधरतालाई बलियो गरी समाउन र कार्यान्वयनमा विशिष्ट पहिचान दिने गरी काम गर्न नसकेका कारणमा नागरिकमा यी दुवै पार्टीहरू एकै हुन भन्ने खालको अनुभूति हुने गरेका छ । 

यसमा कम्युनिष्ट पार्टीहरू आफ्नो विचारको पहिचान बनाउने गरी कार्य गर्न आवश्यक छ । जे भए पनि यी दुई महापुरुषहरूले नेपालमा रहेको राणा तथा निरङ्कुश व्यवस्थाको अन्त्य गरी नागरिकहरूलाई शासनमा हकदार बनाउनुपर्दछ भन्ने बारेमा गरेका अहम् योगदानलाई नेपाली समाजले सधैँ सधैँ सम्झनासहित हार्दिक श्रदासुमन अर्पण गरिरहने छ र म पनि आज यस अवसरमा उहाँहरू प्रति श्रदासुमन व्यक्त गर्दछु ।

पुष्पलालमा राजनीतिक प्रेरणाको श्रोत :
​​​​​​​पुष्पलाल वि.सं. १९८१ असार १४ गतेका दिन बुवा भक्तलाल र आमा तुल्सि कुमारीका माइला छोराका रूपमा रामेछापको भंगरीमा जन्मनुभएको थियो । उहाँको माध्यमिकसम्मको शिक्षा नेपालको पुरानो स्कुल दरबार हाइ स्कुलबाट भएको र त्रिचन्द्र क्याम्पसमा भर्ना हुनुभएका पुष्पलाल दाजु शहिद गङ्गालालको हत्याकाण्डपछि देश र नागरिकको स्वतन्त्रता र अधिकारका लागि समर्पित हुन पुग्नुभयो । दाजुलाई राणाहरूले फाँसी दिने निधो भइसकेपछि दाजुलाई भेट्न जानुभएका पुष्पलाललाई मलाई राणाहरूले मार्ने नै भए अब मैले नागरिकको स्वतन्त्रताको लागि उठाएको झण्डा अव तिमिले उठाउनु है भाइ भनेको सन्देश नै पुष्पलालको राजनीति प्रतिको गहिरो प्रेरणाको श्रोत बन्यो र जीवन भरी यस बचनको पालना गरिरहनुभयो । 

क) पुष्पलालका योगदानहरू :
सादा जीवन र उच्च विचारका साधक पुष्पलाल जीवन भर ज्यादै कठिनतम अवस्थामा पनि नेपाली नागरिकहरूलाई राणा शासनबाट कसरी मुक्त गर्ने र उनीहरूको जीवनलाई कसरी एउटा असल नागरिकको रूपमा विकास गर्ने र त्यसका लागि सिद्धान्त, नीति तथा कार्यक्रमहरू कसरी निर्माण गर्ने र उक्त सिद्धान्तलाई व्यवहारमा उतार्नका लागि कस्तो सङ्गठन बनाउने र नागरिकका अधिकार प्राप्तिका लागि कस्ता कस्ता सङ्घर्षका योजना बनाउने भन्ने बारेमा निरन्तर क्रियाशील रहनुभयो । 

उहाँले आफ्नो जीवनको अन्तिम घडीमा मृत्यु शय्यामा पुग्ने बेलासम्म पनि सधैँ देश र क्रान्तिका बारेमा चिन्तन मनन गर्दै आफ्नो जीवन नेपाली श्रमजीवी जनताको पक्षमा समर्पण गर्नुभयो । हामी बाचेकाहरू र कमरेड पुष्पलालले कल्पना गरेको राज्यसत्ताको बागडोर सञ्चालन गरिरहेकाहरूले उहाँका योगदानको बारेमा चर्चा गर्ने र उहाँबाट सिक्नुपर्ने विषयहरू हाम्रा राजनीतिक जीवनमा कार्यान्वयन गर्न सक्यो भने मात्र उहाँको स्मृति दिवसहरू मनाएको सान्दर्भिकता हुनेछ । 

नेपाली कम्युनिष्ट आन्दोलनमा कमरेड पुष्पलालका योगदानहरू यस प्रकार छन्:
१. नेपालमा कम्युनिष्ट विचारधाराको बिजारोपणः 

पुँजीवादी शासनको साम्राज्य चलिरहेको बेलामा त्यसलाई चुनौती दिँदै विकल्पमा महान् दार्शनिक गुरु कार्लमार्क्स र ऐगेल्सबाट प्रतिपादित भएको कम्युनिष्ट पार्टीको वैज्ञानिक समाजवादी सोच विश्वका कतिपय मुलुकहरूमा कार्यान्वयनमा आइरहेको बेलामा नेपालमा पनि उक्त विचारलाई फैलाउनुपर्दछ भन्ने सोचका साथमा कम्युनिष्ट पार्टीको घोषणापत्रको अनुवाद र वितरण गर्नु ।

२. ऐतिहासिक तथा भौतिकवादी ढङ्गले नेपाली समाजको सामाजिक अनुसन्धान:
नेपाली समाजको आमूल रूपान्तरण गर्नका लागि सर्वप्रथम नेपाली समाजको सामाजिक अनुसन्धानका लागि ऐतिहासिक तथा भौतिकवादी सिद्धान्तका आधारमा नेपाली समाजको अध्ययन र अनुसन्धान गर्दै विश्लेषण गरिएको थियो । यसै अनुसन्धानका आधारमा उहाँले नेपाली समाज अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा रहेको विश्लेषण गर्दै नेपाली समाजको रूपान्तरणको लागि नीति तथा कार्यक्रम बनाउन योगदान गर्नुभएको थियो । नेपाली समाजको बारेको यो विश्लेषणका आधारमा कम्युनिष्ट पार्टीले आफ्नो आन्दोलन सञ्चालन गरिरह्यो भने नेकपा एमालेको आठौँ महाधिवेशन नेपाली समाज मूलतः पुँजीवादी समाजमा रूपान्तरण भएको निष्कर्ष निकालेको थियो । 

३.नेपालमा कम्युनिष्ट पार्टीको विधिवत् रूपमा स्थापना:
नेपाली समाजको रूपान्तरणका लागि सही विचारले मात्र हुँदैन अब उक्त विचारलाई बोकेर हिँड्नका लागि बलियो र व्यवस्थित सङ्गठनको आवश्यकता हुन्छ भन्ने सोचका साथमा सन् १९४९ अप्रिल २२ तदनुसार २००६ वैशाख १० मा  ५ जना मिलेर नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुभयो  भने वैशाख १२ गतेका दिन नेकपाको पहिलो पर्चा प्रकाशित गर्दै कम्युनिष्ट पार्टीको सोच तथा विचारको बारेमा नेपाली जनतामा जानकारी गराउनुभयो । 

सन् १९४९ सेप्टेम्बर १५ मा नेपाल कम्युनिष्ट पार्टीको घोषणापत्र जारी भयो । त्यस घोषणापत्रमा तत्कालीन नेपाली समाजको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गर्दै नेपाल कम्युनिष्ट पाटीको कार्यभार र नेपाली क्रान्तिका शत्रु तथा प्रतिकृयावादी तत्त्वहरूको साठगाँठका बारेमा विवेचना गरिएको थियो जसले नेकपालाई दिशा निर्देश गरेको थियो । त्यसैगरी उहाँले सिद्धान्त, सङ्गठन र सङ्घर्ष तीन ‘स’ को राम्रो समन्वयबाट मात्र कम्युनिष्ट पार्टीले आफ्नो लक्ष्य प्राप्त गर्न सक्दछ भन्ने महत्त्वपूर्ण विचार समेत प्रतिपादन गर्नुभयो ।

४. कम्युनिष्ट पार्टीको नीति तथा कार्यक्रमको निर्माण:
नेपाली कम्युनिष्ट आन्दोलनलाई अगाडी बढाउनका लागि व्यवस्थित र वैज्ञानिक नीति तथा कार्यक्रमको बारेमा विभिन्न समयमा बहस छलफल भएको र यसैका आधारमा आन्दोलनमा उतार चढाव आएको थियो । यसै विषयमा आवश्यकता महसुस गरी कमरेड पुष्पलालले २०२५ सालको तेस्रो सम्मेलनबाट नेपाली क्रान्तिको नयाँ जनवादी कार्यक्रमलाई व्यवस्थित रूपमा प्रस्तुत गर्नुभएको थियो । यही कार्यक्रम नै नेपालको कम्युनिष्ट आन्दोलनको मूल आधारको रूपमा अहिले विभिन्न कम्युनिष्ट पार्टीको कार्यक्रम निर्धारणको आधारको रूपमा रहेको छ । यो उहाँले नेपाली कम्युनिष्ट आन्दोलनमा दिएको एउटा महत्त्वपूर्ण योगदान हो । 

५. नेपाली समाजको रूपान्तरणको कार्यनीति तथा कार्यदिशा:
​​​​​​​नेपालको निरङ्कुश शासन व्यवस्थालाई समाप्त गर्नका लागि सम्पूर्ण पञ्चायती व्यवस्था विरोधी शक्तिहरूलाई एकजुट बनाएर मात्र नेपालमा पञ्चायती तानासाही शासनको अन्त्य गर्न सकिन्छ र यसका लागि संयुक्त जनआन्दोलन नीति अवलम्बन गर्नु आवश्यक छ भन्ने दुरदृष्टि राख्ने पुष्पलालको नीतिकै आधारमा २०४६ र २०६२ सालको आन्दोलन सम्पन्न भई नेपालमा बहुदलीय र गणतान्त्रिक व्यवस्थाको स्थापना भएको हो । यो दूरदर्शी कार्यनीतिको व्यवहारमा कार्यान्वयन उहाँकै कुशल कार्यकर्ता कमरेड मदन भण्डारीले नेपालमा सफलताका साथमा कार्यान्वयन गर्नुभयो । यो क.पुष्पलालको अर्को महत्त्वपूर्ण योगदान हो । 

६. प्रगतिशील साहित्यको लेखन:
कमरेड पुष्पलालले नेपाली प्रगतिशील साहित्य लेखनको क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान गर्नुभएको छ  । कमरेड पुष्पलालले दार्शनिक, ऐतिहासिक तथा राजनीतिक क्षेत्रमा आफ्ना कलमहरू चलाउनुभएको पाइन्छ । 

राजनैतिक क्षेत्रका विषयहरूमा पार्टी अधिवेशनका दस्ताबेजहरू, विभिन्न घोषणापत्रहरू, हाम्रो मूलबाटो, नेकपा र यसको कार्य पद्धति, राजनैतिक समीक्षा प्रतिवेदनहरू, नेपाली कम्युनिष्ट आन्दोलनको संक्षिप्त इतिहास, नेपाली जनआन्दोलन एक समीक्षा, नेकपाको १८ वर्षको क्रान्तिकारी सङ्घर्षको सिंहावलोकन एवं शिक्षा, दस्ताबेजको अध्ययन कसरी गर्ने र तीन ‘स’ को सिद्धान्त आदि विषयका गहन लेख तथा पुस्तकहरू छन् भने दार्शनिक क्षेत्रका रचनाहरूमा कम्युनिष्ट पार्टीको घोषणापत्रको अनुवाद र नेपाली समाजको ऐतिहासिक तथा भौतिकवादी विवेचना, नेपाल कम्युनिष्ट पार्टीको घोषणापत्र, नेपालमा मातृसतात्मक समाज, नेपालमा राजतन्त्रको उद्भव, विकास र भविष्य, नेपालको नयाँ जनवादी क्रान्ति आदी विषयलाई नेपालको कम्युनिष्ट आन्दोलनमा दिएको अमूल्य योगदानको रूपमा लिन सकिन्छ ।  

ख) कमरेड पुष्पलालबाट सिक्न पर्ने विषयहरुः

१. कुनै पनि विषयमा सोच बनाउँदा उक्त विषयका बारेमा राम्रोसँग विवेचना र विश्लेषणका आधारमा मात्र निर्णयमा पुग्नुपर्दछ ।
​​​​​​​२. कम्युनिष्ट पार्टी र पार्टीका नेताहरूले आफ्नो कार्यसम्पादन गर्दा वर्गीय पक्षधरताको सधैँ ख्याल गर्नु पर्दछ र समाजमा पछाडि परेको क्षेत्र तथा जनसमुदायलाई केन्द्र विन्दुमा राखेर मात्र कार्ययोजनाहरु बनाउनु पर्दछ । विकास तथा उत्पादनको उपभोगमा सधैँ तल्लो वर्गको जनता र समाजलाई प्राथमिकताका साथ अगाडी ल्याउनुपर्दछ । 
३. जस्तोसुकै परिस्थितिमा पनि आफ्नो र राष्ट्रको स्वाभिमानलाई बचाई राख्ने र कुनै पनि कार्यमा मितव्ययी बन्नु आवश्यक छ ।
४. आफूसँग भएको साधन श्रोतहरूलाई व्यवस्थित रूपमा उपयोग गर्दै आत्मनिर्भर बन्न पहल गर्नु पर्दछ ।  अरूको मुख ताक्ने र आफ्नो साधन श्रोतको सदुपयोग गर्न नचाहने हानिकारक सोच हुन । 
५.कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताहरू सधैँ आदर्श र उदाहरणीय पात्रको रूपमा प्रस्तुत हुन सकियो भने मात्र समाजले कम्युनिष्ट पार्टीलाई सधैँ आशा भरोसाका साथ विश्वास गर्दछ र पार्टीका सोच तथा अभियानमा जनता उत्साहका साथमा लागि पर्नेछन् । अझ शान्तिपूर्ण र संसदीय बाटोबाट समाजको रूपान्तरणमा हिँडेको पार्टीका लागि त यो अति आधारभूत विषय हो । अहिले यस विषयमा ज्यादै आलोचना भएको छ र यसलाई कम महत्त्व दिने कार्यहरू कम्युनिष्ट पार्टीका लागि ज्यादै हानिकारक हुनेछ । 
६. कुनै पनि लक्ष्य निर्धारण गरे पछि उक्त लक्ष्य प्राप्तिका लागि जस्तो सुकै समस्याहरू आए पनि दृढताका साथ लाग्नु नै सफलताको आधार हो ।
७. जातीय, साम्प्रदायिक तथा क्षेत्रीयतावादी भावनाबाट राष्ट्रको विकास सम्भव हुँदैन यस विषयको वकालतले समाजमा अनावश्यक विवाद मात्रै सृजना गर्नेछ ।
८. आफूले लिएका विचार अनुसारको व्यवहार गरियो भने मात्र समाज र जनताको असल नेता बन्न सकिन्छ अन्यथा नेता तथा कार्यकर्ताहरू काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भने झैँ हुनेछन् अन्यथा जनताले उक्त नेतालाई  वास्तविक नेताका रूपमा मान्ने छैनन् ।
९. मानिस जति ठुलो ओहदा र स्थानमा पुगे पनि आफ्नो धरातललाई सधैँ सम्झनु पर्दछ र आफ्नो आधारहरू र सहयोद्धाहरूसँग सधैँ सुसम्बन्ध कायम गर्नु पर्दछ ।

निश्कर्ष:
​​​​​​​पुष्पलाल र बिपी नेपालको राजनैतिक इतिहासका उज्ज्वल नक्षत्र हुनुहुन्छ । उहाँहरूको नेपालको राजनीतिमा आआफ्नै महत्त्व छ र उहाँहरूलाई नेपालको इतिहासले सधैँ सम्झने छ । यस सन्दर्भमा हामीले लिने शिक्षा भनेको हामीले इतिहासबाट शिक्षा लिनुपर्दछ, आफ्नो कार्यकालको निश्चित समयमा आत्मसमिक्षा गर्नुपर्दछ, आलोचनाबाट पनि सतर्क हुने र सकारात्मक विषय खोज्नुपर्दछ, आफूलाई भन्दा तलका र सहयोद्धाहरूमा जीवन्त सुसम्बन्ध कायम गर्नुपर्दछ र यसो गर्न सकियो भने मात्र राष्ट्र, जनता र कार्यकर्ताको असल मान्छे बन्न सकिन्छ अन्यथा शक्तिमा रहँदा त मानिसहरू अघिपछि हिँड्ने र ज्यु हजुर गर्लान् तर शक्तिबाट बाहिर पुगेपछि भने उसलाई सोध्ने र सम्झना गर्ने व्यक्ति बिरलै पाइनेछ । कमरेड पुष्पलालको स्मृतिमा हामी सबैमा यही सन्देश प्रवाह गरोस् कमरेड पुष्पलाल प्रति हार्दिक श्रदासुमन । 

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार  ९ : १८ बजे