चिन्तन, चरित्र र व्यवहारका साथ अविचलित रूपमा क्रान्तिको मूलबाटोमा लागिरहने र कस्तै कठिन परिस्थितमा पनि त्यसबाट दायाँ बायाँ नगर्ने क्रान्तिकारी नेताहरू बिरलै पाइन्छन् । कमरेड पुष्पलाल त्यस्तै उच्च कोटीका नेता हुनुहुन्थ्यो । यस अर्थमा कमरेड पुष्पलाल नेपाली राजनीतिक आकाशका एक चम्किरहने ‘लाल तारा’ हुनुहुन्थ्यो र हुनुहुन्छ ।
वास्तवमा हामीले यथार्थपरक रूपमा हेर्न र केलाउन सक्यौ भने नेपालको समकालीन राजनीतिमा पुष्पलालको दृष्टिकोण, बिचार, नीत निष्ठा र समर्पण नेपाली जनताको मुक्ति र समुन्नतिका निमित्त केन्द्रित रहेको प्रस्टै देखिन्छ । उहाँले ग्रहण गरेको मार्क्सवाद, लेनिनवाद र माओ विचारधारा आजका चालु नेताहरूको जस्तो सस्तो नेतागिरी छाँट्न, निक्कै जानेको छु भन्ने आडम्बर देखाउन र पाण्डित्याई प्रदर्शन गर्नका निमित्त पटक्कै थिएन, बरु नेपाली समाजको अग्रगामी आमूल सामाजिक परिवर्तनका निमित्त थियो भन्ने कुरा उहाँको अथक र अविश्रान्त सङ्घर्षले एकदमै प्रस्ट देखाउँदछ । सिद्धान्त सिद्धान्तको निमित्त होइन, यसलाई जनता र राष्ट्रको जीवनमा अग्रगामी परिवर्तन ल्याउने शक्तिशाली हतियारको रूपमा कमरेड पुष्पलालले ग्रहण गर्नुभएको थियो र तदनुकूल आफ्नो राजनीतिक यात्रालाई अबिछिन्न रूपमा अघि बढाउनुभएको थियो । उहाँको जीवनभरको कर्मले यही कुरा दर्साएको छ ।
वास्तवमा पुष्पलालले संयुक्त जन आन्दोलनको जुन नीति अख्तियार गर्नुभएको थियो त्यो आफूले अङ्गीकार गरेको मार्क्सवादी लेनिनवादी सिद्धान्तलाई व्यवहारमा उतार्ने, जनतालाई जगाउने र परिवर्तनको बाटोमा अग्रसर गराउने एउटा अमोघ अस्त्र थियो र हो । बस्तु त्यो ठोस र सही नीतिको आधार तत्कालीन बस्तुस्थितको आधारमा वर्गीय विश्लेषणको निचोड नै थियो । त्यसैले त उहाँ हमेशमा पार्टी प्रशिक्षण र कक्षाहरूमा भन्ने गर्नु हुन्थ्यो – ‘राजनीति जालझेल होइन, वास्तविक बस्तुस्थितको आधारमा वर्गीय विश्लेषणको निचोड हो’ ।
यसरी एकदमै प्रस्ट रूपमा उहाँले अघि सारेको संयुक्त जन आन्दोलनको नीति केवल एउटा कोरा नीति मात्र थिएन, त्यो परिवर्तनको प्रभावकारी औजार थियो । जसले समाजमा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तन ल्याउन सबै परिवर्तनकामी शक्तिहरूलाई एक ठाउँमा खडा गर्ने रसायनको काम गर्दथ्यो । बस्तु उहाँले अघि सारेको यो नीति मार्क्सवाद, लेनिनवाद र माओ विचारधारालाई व्यवहारमा उतार्ने कार्यनीतिकै महत्त्वपूर्ण कडी, अंश र आधार थियो । जुन बाटो नहिँडीकन समाजलाई अग्र गति दिनै सकिँदैनथ्यो । यो यथार्थ कुरा नेपालमा अहिलेसम्म सचेत रूपमा चलेका संयुक्त जन आन्दोलनहरूले प्रस्टसँग औँल्याएका छन् । यस प्रकार पुष्पलालको यो नीति एकैचोटी वर्गीय मोर्चा र राजनीतिक मोर्चालाई एकै दिशातिर अभिमुख गराउने र हिँडाउने सारभूत माध्यम पनि थियो । जुन कुराको पुष्टि नेपालको २०१७ अघि २००८ सालतिर जातीय जनतान्त्रिक मोर्चा (त्यस बेला ‘राष्ट्रिय’ शब्दलाई ‘जातीय’ भनेर अभिव्यक्त गन्थ्यिो) र २००१७ पछिका महत्त्वपूर्ण र मुख्य ऐतिहासिक आन्दोलनहरू –२०३६ सालको संयुक्त विद्यार्थी आन्दोलन, २०४६ सालको संयुक्त जन आन्दोलन र २०६२र६३ सालको व्यापक संयुक्त जन आन्दोलनहरूले एकपछि अर्को पुनर्पुष्टी गरिसकेका छन् र गरिरहेका छन् ।
त्यसैले, यी बस्तुगत यथार्थहरूले कमरेड पुष्पलालको ‘नेता होइन, नीति प्रधान’ हुन्छ भन्ने निचोडलाई पनि सत्य साबित गरेको छ । उहाँ व्यक्तिवादको विरुद्ध हुनुहुन्थ्यो र हमेसा पुष्पलाल भन्ने गर्नुहुन्थ्यो कि नेताहरू त मञ्चमा आउँछन्, जान्छन् तर सही नीति हमेसा कायम रहन्छ । उहाँले यस्तो निचोड निकालेर नीतिको कुरा गर्दा वर्गीय नीतिको कुरा गरेको हुन्थ्यो कुनै निरपेक्ष नीतिको कुरा होइन । उदाहरण दिँदै उहाँ भन्ने गर्नुहुन्थ्यो – वेद ब्यास छैनन् तर वेद छ । बुद्ध छैनन् तर बुद्धको बिचार छ, रुखो छैनन् तर उनको ‘सामाजिक सम्झौताको सिद्धान्त’ छ । त्यसरी नै मार्क्सवादका प्रणेता– मार्क्स र एंगेल्स छैनन् तर अजेय मार्क्सवाद आज हामीसँग छ । नेताहरूको योगदान र भूमिकाको अवश्य महत्त्व छ र हुन्छ । उनीहरु हमेसा कायम रहन सक्तैनन् तर उनीहरूको बिचार कायम रहन्छ । त्यस कारण, कुनै नेताको पछि होइन सही बिचारको पछि लाग, सही बिचारले नै सही नेता जन्माउँदछ भन्ने उहाँको हमेसा जोड हुन्थ्यो ।
हुन पनि कमरेड पुष्पलालको एक मात्र ध्याउन्न देश र जनताको हितमा सही नीति प्रतिपादन गर्नु र त्यसलाई व्यवहारमा खरो उतार्नु रहेको थियो । यसैका लागि नेपाली जन आन्दोलनका सबल र दुर्बल पक्ष केलाउन र सहीलाई अझ सम्बद्ध तुल्याउन तथा गलतलाई घटाउन र हटाउन उहाँले ‘नेपाली जन आन्दोलन 'स' एक समीक्षा’ अत्यन्तै महत्त्वपूर्ण र पठनीय कृति लेख्नुभयो । जुन नेपाली जनआन्दोलनको विकास र यसको भविष्यलाई बुझ्न चाहने जो कसैका लागि पनि महत्त्वपूर्ण सन्दर्भ सामाग्री रहेको छ ।
यसै सन्दर्भमा उहाँले नेपालको राष्ट्रियता र जनवादको पनि एउटा नवीन र जनमुखी परिभाषा दिँदै भन्नुभएको छ – ‘लाखौँलाख झोपडीहरूको एकता नेपालको आजको सन्दर्भमा राष्ट्रियता हो भने ती झोपडीहरूको हक हित जनवाद’ हो । ती झोपडीहरूमा को बस्छन् एकदमै प्रस्ट छ – शोषित पीडित श्रमजीवी जनता । बस्तु यो नेपाललाई सचेत र उन्नत किसिमले राजनीतिक एकीकरण गर्ने र सुदृढ बनाउने कुरा हो र थियो भन्ने प्रस्टसँग बुझ्न सकिन्छ । यो कुराले नेपाली जनता नै वास्तविक परिवर्तनका संवाहक हुन् र उनीहरूको सचेत, सङ्गठित र सक्रिय भूमिकाबिना आमूल सामाजिक परिवर्तनको कुनै अर्थ छैन र हुँदैन र राष्ट्रयता र जनवादको समस्या पनि हल हुँदैन भन्ने अर्थपूर्ण शिक्षा पनि दिन्छ । यसरी कमरेड पुष्पलालले जन चेतना निर्माणलाई ठुलो महत्त्व दिनुभयो र जनताका दैनिक जीवनका सवाललाई लिएर तलैदेखि उठेको आन्दोलनमा जोड दिनुभयो । त्यसले कुराले भन्दा कामले जनतालाई बढी चाँडो र सही किसिमले सचेत र सक्रिय तुल्याउँदछ भन्ने कुरामा उहाँ बढी विश्वस्त हुनुहुन्थ्यो । यस अर्थमा उहाँ जनतालाई जगाउन, उठाउन र अघि बढाउन दत्तचित्त हुनुहुन्थ्यो भन्ने प्रस्ट हुन्छ ।
तर पुष्पलाल केवल एउटा सिद्धान्तवादी निष्ठावान् व्यक्तित्व मात्र हुनुहुन्थेन । उहाँ त सिद्धान्तलाई व्यवहारमा खरो उतार्ने र त्यस आधारमा सङ्गठनलाई क्रियाशील र सबल बनाउने कार्यमा निरन्तर दत्तचित्त भएर लाग्ने व्यक्तित्व हुनुहुन्थ्यो । त्यसैले उहाँले ‘तीन ‘स’ को सिद्धान्त’ अर्थात् ‘सङ्घर्ष, सङ्गठन र सिद्धान्त’लाई एक अर्काका परिपूरकका रूपमा निरन्तर क्रियाशील तुल्याइरहनुभयो । उहाँ हमेसा पार्टी क्लासहरूमा भन्ने गर्नु हुन्थ्यो कि सिद्धान्त बिनाको सङ्गठन र सङ्घर्ष अन्धो हुन्छ र सङ्गठन बिनाको सिद्धान्त र सङ्घर्ष पनि लङ्गडो हुन्छ । त्यसैगरी सिद्धान्त र सङ्गठन बिना त सङ्घर्षले सही दिशा र गति नै पाउनै सक्तैन । त्यसैले यी तीन ‘स’को आ–आफ्नै ठुलो महत्त्व छ र ती एक अर्काका परिपूरक हुन् । एक बिना अर्कोको अस्तित्वको कुनै अर्थ हुँदैन, रहँदैन भन्ने उहाँको एकदमै प्रस्ट धारणा थियो ।
यस सन्दर्भमा सिद्धान्तको कुरा गरिरहँदा कमरेड पुष्पलालले मार्क्सवाद–लेनिनवाद र माओ विचारधारालाई एउटा जडसुत्रबादी रटना जपनाको रूपमा नलिएर त्यो सैद्धान्तिक विचारधारालाई एउटा गतिशील र मार्गदर्शन गर्ने प्रकाश स्तम्भको रूपमा बुझाउनु भयो र व्यवहारलाई अर्थात् परिवर्तनलाई बाटो देखाउने औजारको रूपमा बुझ्न बुझाउन अथक पर्यन्त गर्नु भयो र जोड दिनु भयो ।बिचारधारात्मक सङ्घर्षको कुरा गर्दा उहाँ हरहमेसा ‘बादे बादे, बिबादे च जायते तत्त्व बोध’ भन्ने संस्कृत वाक्यलाई दोहोर्याउने गर्नु हुन्थ्यो र कुनै पनि विषयमा तर्क–प्रतितर्कले नै सही निष्कर्षमा पुग्न मद्दत पुग्ने द्वन्द्वात्मक नियम प्रयुक्त गर्नुहुन्थ्यो । प्रकृति र समाजका अधि शासित नियमको बारम्बार उहाँले उल्लेख गर्ने गर्नुहुन्थ्यो । जुन माक्र्सबादको आधारभूत कुरा हो ।
पुष्पलालको एउटा अर्को सबैभन्दा महत्त्वपूर्ण पक्ष उहाँको निरन्तर अध्ययनशीलता हो । समकालीन नेपाली राजनीतिमा तुलनात्मक रूपमा उहाँको जत्तिको नेपाली समाजको गहिरो अध्ययन अरू कमैले मात्र गरेका थिए होलान् । उहाँको अध्ययनको मूल विषय नै नेपाली जनताको गाँस, बास, कपासको समस्या थियो । जनताले आफ्नो आजीवीवको समस्या कसरी हल गरिरहेका छन् र उनीहरु विकासको कुन चरणबाट गुज्रिरहेका छन् भन्ने कुरामै उहाँको सम्पूर्ण राजनीतिक अध्ययन केन्द्रित थियो र हुन्थ्यो । त्यसैले उहाँले नेपालका एक विशिष्ट इतिहासकार महेशचन्द्र रेग्मीका Land Tenure and Taxation in Nepal. Thatched Huts & Stucco Palaces: Peasants and Landlords in 19th Century Nepal The State and Economic Surplus, Kings and Political Leaders of the Gorkhali Empire जस्ता र अन्य यस्तै महत्त्वका नेपाली समाजको तत्कालीन स्थिति जान्न र समाजमा परिवर्तन खोज्न महत्त्वपूर्ण र सहायक हुने उपयोगी किताबहरू पढ्न र सामूहिक छलफल गरेर निष्कर्ष निकाल्न जोड दिनुहुन्थ्यो ।
नेपाली धरातलीय यथार्थका आधारमा मार्क्सवाद लेनिनवाद र माओ विचारधारालाई प्रयुक्त के कसरी सकिन्छ यही नै उहाँको अध्ययनको मूल विषय हुन्थ्यो र विद्यमान यथास्थितिलाई फेरेर समाजलाई अग्रगति प्रदान गर्ने दिशाबोध गर्नु उहाँको अध्ययनको प्रयोजन थियो । त्यसैले अलिकति समय पायो कि उहाँ कहिले कलकत्ताको ‘नेशनल लाइब्रेरी’ मा गम्भीर अध्ययनमा लागेको पाइनु हुन्थ्यो कि दिल्लीको ‘सप्रू हाउस’ या बनारसकै स्थानीय पुस्तकालय जहाँ विश्व र नेपालका लागि पनि पठनीय पुस्तक र पाठ्य सामाग्री पाइने गर्दथे समय पायो उहाँ ती ठाउँहरूमा गएर अध्ययनरत रहने गर्नुहुन्थ्यो। उहाँले नेपालमा पनि कार्यकर्ताहरूलाई मदन स्मारक पुस्तकालय पाटन ढोका र राष्ट्रिय पुस्तकालय तथा विश्वविद्यालयका पुस्तकालयहरू र ब्रिटिस, भारतीय र अमेरिकी पुस्तकालयहरूमा गएर अध्ययन गर्न सुझाव दिनुहुन्थ्यो । जसले नेपालको इतिहास, संस्कृति र भूगोल पढेको र बुझेको हुँदैन, नेपाली जनताको आजीविका कसरी चलेको छ त्यसको गहिरो अध्ययन गरेको हुँदैन उसले नेपालको आमूल अर्थ–राजनीतिक परिवर्तनमा कसरी योगदान दिन सक्तछ र? भन्ने गम्भीर प्रश्न उठाउँदै सबै कार्यकर्ताहरूलाई अध्ययन गर्न प्रेरित गर्नु हुन्थ्यो । खास गरी उहाँले नेपालमा किसान वर्गको समस्या हल नगरी नेपालको राष्ट्रिय मुख्य मुद्दा नै हल हुँदैन भन्ने कुरामा ध्यान केन्द्रित गर्दै नेपाली समाजका समस्या हल गर्न सङ्घर्ष, सङ्गठन र सिद्धान्तका कुराहरूको गहिरो अध्ययन,चिन्तन र मनन गर्न विशेष जोड दिनुहुन्थ्यो
यस प्रकार समग्रमा यसरी कमरेड पुष्पलालको क्रान्तिकारी जीवन सबैका लागि एउटा प्रेरणास्पद र विश्वासिलो जीवन त छँदै थियो नै त्यो भन्दा बढी आमूल सामाजिक परिवर्तनको दिशामा अत्यन्तै हुटहुटिएर केन्द्रित भएको र त्यस प्रयोजनका लागि आजीवन सक्रिय रहेको अनुकरणीय प्रेरणापुञ्ज बनेको जीवन थियो । त्यसैले नै उहाँका अनुयायीले भन्दा पनि आज उहाँको छिचरो र अनर्गल किसिमले विरोध गर्ने तथाकथित कम्युनिष्ट नामधारीहरूले नै उनको मूर्ति र फोटो पूजाआजा गरेर आफूलाई पुष्पलालको असली उत्तराधिकारी भएको भ्रम छर्ने गरिरहेका छन् । त्यो हिजो २००८ सालदेखि २०३५ सम्म पनि स्वार्थवश गरिएको विरोध र प्रताडना थियो भने आजको पूजा पनि स्वार्थवश गरिएको यथार्थ खुलस्त भइसकेको र भइरहेको छ । कमरेड पुष्पलालको अविश्रान्त क्रान्तिकारी जीवनको सारतत्वलाई समाप्त पारेर आवरणको पूजाआजा गर्ने औसरवादी र बिसर्जनबादीहरुको बिगबिगीलाई नचिरेसम्म नेपालको कम्युनिष्ट आन्दोलनले भ्रमबाट मुक्ति पाउन सक्ने छैन । अनि नेपाल र नेपाली जनताका समस्या पनि हल हुने छैनन् बरु अझ जटिल भएर जानेछन् । यो कुरा आजको बिग्रँदो स्थितिले पनि प्रस्ट देखाइरहेको छ । यी नै स्मरणीय कुराका साथ कमरेड पुष्पलालको ४४औँ स्मृतिमा उहाँप्रति उच्च सम्मान ।
प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार ८ : २३ बजे
प्रतिक्रिया