बाँकेमा चोरी पैठारीको छ करोडको सामान बरामद

नेपालगञ्ज ।  प्रहरीले बाँकेमा एक वर्षको अवधिमा झण्डै रु छ करोड बराबरका चोरी पैठारीको सामान बरामद गरेको छ ।

 खुल्ला सीमा क्षेत्रको फाइदा उठाएर विभिन्न नाकाबाट भन्सार छली गरेर ल्याइएको सो रकम बराबरको सामान प्रहरीले बरामद गरेको हो । आर्थिक वर्ष २०७८/७९ मा जिल्ला प्रहरी कार्यालयले रु पाँच करोड ९० लाख ५४ हजार बराबरका सामान बरामद गरेको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकरी दिनुभयो ।

अघिल्लो आर्थिक वर्षमा रु दुई करोड ५० लाखको अवैध मालसामान बरामद गरिएको थियो । चोरी पैठारी गर्ने ५३ जना पक्राउसमेत परेको प्रहरीले जनाएको छ । “खुल्ला सीमा क्षेत्र धेरै भएकाले चोरी पैठारीको समस्या बढी देखिएको छ, त्यसैले पनि प्रहरीले त्यस्ता ठाउँमा निगरानी बढाएको छ”, प्रहरी उपरीक्षक अधिकारीले भन्नुभयो । चालु विभिन्न मुद्दामा पक्राउ पर्ने प्रतिवादीको सङ्ख्या पनि अघिल्लो वर्षभन्दा झण्डै दोब्बर छ । 

गएको आर्थिक वर्षमा एक हजार ३२५ जना पक्राउ पर्दा त्यसअघि ७५७ जना पक्राउ परेका थिए । गएको आर्थिक वर्षमा प्रहरीले चार किलो बढी सुन पक्राउ गरेको थियो । मुद्दा दर्ता सङ्ख्या पनि अघिल्लो आर्थिक वर्षभन्दा बढेको छ । आव २०७८/७९ मा एक हजार १५७ मुद्दा दर्ता हुँदा त्यसअघि ८१३ मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । 

प्रहरी उपरीक्षक अधिकारीका अनुसार लागुऔषधतर्फ मुद्दा दर्ता र पक्राउ पर्ने सङ्ख्या केही घटेको छ । आर्थिक वर्ष २०७७/७८ मा १२६ मुद्दा दर्ता भएकामा गत वर्ष ११२ मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  १२ : ३६ बजे