नेपालमा पिपलपाते नेताका रूपमा ख्याति कमाएका माओवादी सुप्रिमो कमरेड प्रचण्डको भारत भ्रमणपछि नेपाली राजनीतिमा केही नयाँ राजनीतिक बाछिटाहरू छिरोरिएका छन् । यी बाछिटाहरू बढेर बग्ने हो वा खडेरीमा सुक्ने र बिलाउने हो यो समयको गर्भमा नै छ । सत्ताका लागि साह्रै खरिएकाहरू यही बाछिटाकै चिसोबाट पसिना सुकाउन लाग्लान् र सन्तोष गर्लान् । सबैतिरको बाछिटा सँगालिएर सानोतिनो भेल नै पनि बग्ला । यसरी बगेको हिलोमा माछा मार्ने दाउ ढुकेर बसेकाहरूका लागि ठुलो उपलब्धि पनि बन्न सक्दछ ।
विगतमा चीनसँगको निकटताका कारण तुलनात्मक रूपमा बलियो मानिएका प्रचण्ड पछिल्लो समय भारतका लागि असल र भरोसिला मित्र बन्न खोजेको देखिँदै छ । खास गरी केपी शर्मा ओली नेतृत्वको तत्कालीन नेकपाको सरकार ढलाएर देउवा नेतृत्वमा सरकार गठन गर्ने सन्दर्भमा प्रचण्डले दिएको अभिव्यक्तिमा प्रयोग भएको कम्फर्टेबल सरकारको विषय चर्चित नै रहेको छ ।
यहीँदेखि चीनको विपरीत ढल्किएका प्रचण्डले एमसीसी पारित हुनुभन्दा करिब एक साता अघिसम्म भित्रभित्र अरू नै भए पनि बाहिर चीनकै नजिक देखिने क्रियाकलाप गरेको विषय बिर्सिइसकिएको छैन । प्रधानमन्त्री देउवा र एउटा पार्टीको अध्यक्षका हैसियतमा कमरेड प्रचण्डले कूटनीतिक परम्परा र मर्यादा विपरीत एउटै पत्रमा हस्ताक्षर गरी एमसीसीमा मुख्यालयमा चढाएको कायलनामा छताछुल्ल हुँदा पनि उनको एमसीसी विरोधी अभिनय कायमै थियो । आफ्ना स्वामीभक्त क्रान्तिकारीहरूलाई काठमाडौँको माइतीघर मण्डलादेखि नयाँ बानेश्वर चोकसम्म उफारेर, सुरक्षाकर्मीहरूमाथि सक्दो तम देखाएर खासा राष्ट्रवादी देखिने कसरत गरेकै हुन् । त्यति बेला एमसीसीका पक्ष वा विपक्षमा रहेको जनमतलाई सङ्लिन नदिएर धमिलो पानीमा माछा मार्ने दाउमा खेलेकै हुन् । यहाँसम्म कि अमेरिका र चीन दुवैले विज्ञप्ति निकाल्नुपर्ने परिस्थिति सिर्जना गरेकै हुन् । सदन सङ्घर्षमै रहेको प्रमुख प्रतिपक्षको सहभागिताविना नै एमसीसीको तमसुकमा १२ बुँदे चिर्कटो नत्थी गरी एमसीसी पारित गरेपछि चीनसँगको विश्वसनीयता गुमाएकै हुन् । यसबाट उनको मनोविज्ञानबारे सहज अनुमान लगाउन सकिने कुरा के हो भने देशको हित—अहित जेसुकै होस्, स्वयं प्रचण्डलाई चीनबाट कुनै खतरा छैन र अमेरिकाबाट सुरक्षा सहज छैन । यस कारण उनी चीन, चिनियाँ कम्युनिष्ट पार्टी, चिनियाँ व्यवस्था र सहयोगभन्दा दक्षिण पश्चिमतिरको सम्बन्ध बलियो र विश्वसनीय बनाउन चाहन्छन् ।
अहिले चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओको नेपाल भ्रमण लगत्तै आरजू देउवा भारतमा रहेकै बेला प्रचण्डको भारत भ्रमणका सबै पक्ष खुलेको छैन । जे जति खुल्नमा आएको छ, त्यो नै बाछिटाको रूपमा छ । प्रचण्डले सञ्चार माध्यममा भनेका कुराले देशभक्त नेपालीहरूलाई झस्काउने खालको छ । भनिएअनुसार उनले भारतको सत्ताधारी दल भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा सो पार्टीसँगको सम्बन्ध विस्तारका लागि भारत भ्रमण भएको हो । त्यहीँ आरजूसँगको भेटघाटको आशय के हो ? चिनियाँ कम्युनिष्ट पार्टीसँग राम्रो सम्बन्ध रहेको भनिँदै आएका प्रचण्डलाई एकाएक भारतीय जनता पार्टीले किन निम्त्यायो ? अनि उनले किन त्यहाँ वर्तमान गठबन्धनको दीर्घ जीवनको कुरा गर्नुपर्यो ? के वर्तमान गठबन्धनको जबाफदेहिता त्यतै हो ? भविष्यको गठबन्धनको वचनबद्धता पनि त्यतै हो ? यसरी मात्र हेर्दा पनि यो गठबन्धन, प्रचण्ड र देउवाहरूको राजनीतिको जरो भेट्न गाह्रो पर्दैन ।
तर, प्रचण्ड भारत भ्रमणबाट फर्के लगत्तै गठबन्धन दलमा सक्रियता बढेको छ । यस सक्रियतामा बामदेव गौतमको समेत सहभागिता रहेको छ । समाजवादी गठबन्धन निर्माण गर्ने विषय उछालिएको छ, जसमा नेपाली काँग्रेसको नेतृत्वको नेतृत्व रहने छ । त्यस्तै वाम गठबन्धनको चर्चा पनि चलाइएको छ । यसरी चर्चामा रहेको वाम गठबन्धन एमाले बाहेकको हुने चाँजोपाँजो मिलाइँदै छ । केही भएन भने नेपाली काँग्रेस र माओवादीबीचमा मात्र भए पनि गठबन्धन हुने गरी कुरा अघि बढिरहेको देखिन्छ ।
चुनावमा केही ठाउँ विशेषमा तालमेल गर्ने कुरा हुनै नहुने विषय होइन । सिद्धान्त, विचार मिल्नेहरूका बीचमा एकता या गठबन्धन हुनु झनै राम्रो विषय हुन सक्दछ । सिद्धान्त, विचार नमिल्नेहरूका बीचमा गरिने गठबन्धनबाट जनताले कस्तो विकासको आस गर्ने हो ? गठबन्धन देशको आवश्यकताले गर्ने हो कि पराइको आदेशमा गर्ने हो ?
सन्तुलित परराष्ट्र सम्बन्ध, स्वाधीन र स्वाभिमानी राजनीति भत्काउन र अरूलाई रिझाउनका लागि गरिने गठबन्धनले मुलुकको हित गर्नै सक्दैन । जनादेश आफ्नै बलबुतामा आफ्नै सिद्धान्त, विचारको घोषणापत्रका आधारमा लिनु पर्ने हो । अहिले केही नामधारी वामपन्थी नेताहरूको सघन सक्रियता, जसमा बामदेव, माधव र प्रचण्ड तीनथरि वाम धारका नेता हुन् । उनीहरू बीचमा भएका संवाद वाम तालमेल वा गठबन्धन गरेर मुलुकलाई वाम सरकार दिनेतिर नभई नेपाली काँग्रेससँग सिटको तालमेलका विषयमा केन्द्रित हुँदै गरेको देखिँदै छ । वाम गठबन्धन, समाजवादी गठबन्धन आदि जे भनिए पनि भारतीय सत्ताधारीसँगको खासखुस र अदालतीय सेटिङका लागि गरिने गठबन्धनभन्दा राष्ट्रिय स्वाभिमान र स्वाधीनताका लागि गरिने प्रतिबद्धताको ठुलो अर्थ हुन्छ ।
सुन्दा उस्तै सुनिने भए पनि प्रस्तावित गठबन्धनको अर्थ भिन्न छ भन्ने कुरा छर्लङ्ग छ । जनादेश र परमादेश उस्तै सुनिन्छ । वाम गठबन्धन, समाजवादी गठबन्धन पनि उस्तै सुनिन्छ, तर जे जसरी प्रयत्नहरू अघि बढेका छन्, तिनको अर्थ भिन्न छ ।
प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार १२ : १८ बजे
प्रतिक्रिया